स्थानीय सरकारलाई हेफरको सहयोग

विदुर । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि हेफर ईन्टरनेशनल नेपालबाट प्राप्त भएको आर्थिक सहयोग विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दिएको छ ।

हेफर ईन्टरनेशनल नेपालले साँझेदार संस्था फोकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारी विदुरबाट नगरपालिकालाई ७ लाख ५० हजार रुपैयाँ कोभिड राहत कोषमा उपलब्ध गराएको थियो । रकम नगरपालिकामा उपलब्ध भएकै दिन नगर प्रमुख सञ्जु पण्डितले उक्त रकम त्रिशुली अस्पताललाई हस्तान्तरण गरे ।

सहकारीवाट प्राप्त रकम तत्कालै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्ला अस्पताल त्रिशुलीका अस्पताल व्यपस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा प्रमुख पण्डितले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारको लागि अस्पतालले अत्यन्त राम्रो भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले नगरपालिकाको आन्तरिक स्रोतबाट समेत अस्पताललाई सहयोग गर्दै आइरहेको बताउँदै संघसंस्थाबाट प्राप्त भएको सहयोग सिधै अस्पताललाई हस्तान्तरण गरेको बताए । उनले अस्पतालको विकास र गुणस्तरीय स्वास्थ्य सेवा प्रबाहको लागि सहयोगहरु जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यसैवीच, हेफरकै सहयोगमा प्राप्त भएको ५ लाख रुपैयाँ अपेक्षा र दिपशिखा सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट बेलकोटगढी नगरपालिकालाई पनि हस्तान्तरण गरिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकालाई पनि ४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गाँउपालिका अध्यक्ष रामकृष्ण थापालाई थानापती महिला साना किसान सहकारी सस्थाको तर्फबाट रकम हस्तान्तरण गरिएको हो । हेफर ईन्टरनेशनल नेपालको आफ्ना साँझेदार संस्था मार्फत कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरुमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी सहयोग स्वरुप रकम उपलब्ध गराएको हो ।

५ असार २०७८, शनिबार १८:०१



तपाईको प्रतिक्रिया