रसुवा । चिनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीको नेपाल सरकारका उच्च स्तरीय अधिकारीले अनुगमन गरेका छन् ।
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि प्रभावित नाकाको नेपाल सरकारका उच्च स्तरीय अधिकारीहरूले शुक्रबार स्थलगत अवलोकन गरेका हुन् । वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।
टोलीले नाकाको स्थलगत अवलोकन गर्नुका साथै नाकामा देखिएका समस्याबारे स्थानीय सरोकारवाला र जिल्लाका सम्बन्धित अधिकारीसँग छलफल भएको छ । स्थलगत रूपमा अवलोकनका लागि आएका टोलीलाई प्रमुख जिल्ला अधिकारी जैसीले नाकामा रहेको याडलाई बिस्तार गर्न आग्रह गरेका थिए । अहिले ६/७ वटा गाडी मात्र सीमित भइरहेको छ । छेउमै भूकम्पको बेलामा पहिरो गई माथिबाट बगेर आएर थुप्रिएको माटोलाई सफा गरेर थप विस्तार गर्न सकियो भने कम्तीमा पनि २० वटा भन्दा बढी गाडी अट्न सक्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
नाकाको स्थलगत अवलोकनपछि वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले नाकामा देखिएका समस्यामा ध्यान दिने र नाकाको व्यवस्थापनमा लागि पर्ने बताएका छन् । चीनबाट सामान बोकेर नेपाल आउने कन्टेनरको संख्या थोरै छ । यसलाई बढाउन नेपालतर्फको याड बिस्तार गर्ने, नाकालाई सहज रूपमा सञ्चालन गर्नका लागि अनुरोध तथा पहल गर्ने, लगायतको बिषयमा सहजिकरण र्ने बताए ।
त्यसैगरी, नाकामा निर्माणाधीन पूर्वाधारहरूको निर्माण छिट्टै सम्पन्न गराउन लागिपर्ने उनको भनाई रहेको छ । मैलुङ स्याफ्रुबेशी सडक निर्माणको कामलाई तीव्रता दिन सडक विभागका महानिर्देशकलाई ध्यानाकर्षण गराउने, नाकामा निर्माणाधीन पूर्वाधारहरू आइसिपि भवन लगायतका संरचनालाई सम्पन्न गराउन अनुरोध गर्ने उनले सुनाए ।
कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । कोरोना संक्रमण सुरु भए यता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो ।
चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनिया ९ वटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।
कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल चीन व्यापार अझै सहज हुन सकेको छैन । अहिले कोटा प्रणाली सञ्चालित व्यापार पर्याप्त नभएको गुनासो व्यापारीले गरिरहेका छन् । कोटा प्रणाली अनुसार दैनिक ९ चिनिया कन्टेनरमा सामाग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको व्यापारीहरूले बताएका छन् । सिजन अनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आई नपुगेको व्यवसायीले बताएका छन् ।
२ मंसिर २०७८, बिहीबार २०:२०