पर्यटकहरू आउनेक्रम सुरु

विदुर । पर्यटकीय सिजन सुरु भएसँगै रसुवाका बिभिन्न स्थानहरूमा पर्यटक भित्रने क्रम सुरु भएको छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा दैनिक २५० को हाराहारीमा पर्यटक गइरहेका छन् । आएका पर्यटकमध्ये धेरैजसो नेपाली छन् । पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित छन् । पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । विश्वव्यापी फैलिएको कोरोनाका कारण लामो समय पर्यटन तथा होटल व्यवसाय सञ्चालन हुन सकेको थिएन । मुख्य सिजनमा केही पर्यटक आउने गरेका भए पनि पछिल्लो समय पर्यटकको आगमन घटेको थियो ।

आएका पर्यटकमध्ये सबैभन्दा धेरै गोसाइँकुण्डमा र केही पर्यटक लाङटाङ लगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । क्यान्जिनका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार दैनिक ८० जनासम्म पर्यटक लाङटाङ गइरहेका छन् । जिल्लामा आउने पर्यटकहरू लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । सामूहिक रुपमा घुम्न मन पराउने युवाहरू न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् ।

स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । काठमाडौंबाट नजिक भएको, सबैतिर फोन सम्पर्क हुने, आपतकालीन अवस्थामा हेलिकप्टर सर्भिस पनि भएको, इन्टरनेटको पनि पहुँच भएको र एकदम सुरक्षित पदमार्ग भएका कारण पर्यटकको आगमन बढ्न थालेको संघका अध्यक्ष निशान गजुरेलले बताए ।

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।

२ मंसिर २०७८, बिहीबार २०:४०



तपाईको प्रतिक्रिया