स्ट्रबेरीमा किसानहरूको आकर्षण

ककनी । नुवाकोटका किसानहरू स्ट्रबेरी खेती तर्फ आकर्षित हुन थालेका छन् । नुवाकोटको ककनी गाँउपालिकाको खानी खोलीदेखि काउलेथाना क्षेत्र विशेषगरी ‘स्ट्रबेरी जोन’ का रुपमा प्रख्यात छ । यस क्षेत्रको स्ट्रबेरीको स्वाद अन्यत्र भन्दा स्वाद मीठो र रसिलो हुने कृषि बिज्ञहरूले बताएका छन् । चिसो मौसम र बलौटे माटो भएको स्थानमा स्ट्रबेरी अखेती फष्टाउने अनुसन्धानले देखाएको छ । बिगतदेखिनै ककनी गाँउपालिकाका किसानहरू स्टङबेरी खेती गर्दै आएका छन् ।

स्ट्रबेरी खेतीकै कारण नुवाकोट ककनीका केहि किसानहरूको जनजीवनमा परिवर्तन भएको छ । अहिले मुला रोप्न छाडेर किसानहरू स्ट्रबेरी खेतीमा जोड दिन थालेका छन् । स्ट्रबेरी बेचेरै यहाँका किसान तथा उद्यमीहरूले गाडी चढ्ने, घर बनाउने, जग्गा जोड्ने हैसियत बनाएका छन् । गाउलेहरूको आम्दानीको मुख्य स्रोत नै स्ट्रबेरी खेती बनेको छ । स्ट्रबेरी फल मात्रै होइन यसबाट बन्ने जुस र यसको वाइन पनि निकै चर्चित छ । प्रतिलिटर तीन सय रुपैयाँमा वाइन र जुस बिक्री हुँदै आएको छ ।

नुवाकोट, ककनीका युवा कृषि उद्यमी छेसाङ तामाङले नमुन्चेत फर्म दर्ता गरि ककनी गाँउपालिका वडा नम्बर २ मा व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका छन् । केही सालदेखि स्ट्रबेरी व्यवसायमा सफलता हासिल गर्दै उनले ठुलो परिमाणमा स्ट्रबेरी निर्यात गर्दै आएका छन् । यसै व्यवसायमा लागेर उनले राम्रो आय आर्जन गर्न सफल भएको बताए ।

अरु खेतीको तुलनामा आम्दानी दखोब्बर हुने र बिक्रि बितरणको लागी बजारको समस्या नभएकाले धेरै किसानहरू स्ट्रबेरी खेतीमा आकर्षित भएका हुन् । पछिल्लो समय ककनीका किसानहरू सामुहिक रुपमा ब्यबसायिक क्षेत्रमा समेत होमिएका छन् । स्ट्रबेरीबाट जाम, जुस, पेस्ट, वाइन लगायत अन्य परिकारहरू ककनीमै बनाउने योजना सहित ठुलो लगानी गर्ने तयारी समेत गरेको उनले बताए ।

अहिले यस सिजमा बिरुवा रोप्ने बेला भएको हुँदा नर्सरीमा उत्पादन भएको बिरुवा बेच्ने तयारीमा रहेको उनी बताउँछन् । यो एक पटक रोपे पछि ६ महिनासम्म निरन्तर स्ट्रबेरी फल्नेछ । स्ट्रबेरी कात्तिकदेखि फल्न सुरु हुने र बैशाखको दोस्रो सातासम्म उत्पादन लिन सकिन्छ ।

ककनीमा उत्पादन भएको स्ट्रबेरी काठमाडौं, पोखरा, चीतवन, भैरहवा, बिरगंजका साथै भारतका थुप्रै शहरमा पनि खपत हुने गरेको छ । सामुहिक रुपमा ब्यबसायलाई बिस्तार गर्दै बिभिन्न शहर तथा भारतसम्म निर्यात गर्ने उनीहरूको योजना रहेको छ ।

नुवाकोटमा स्ट्रबेरी खेतीको इतिहास लामै छ । सुरुमा जापानीहरूले नुवाकोटमा स्ट्रबेरी खेती गर्न किसानहरू उत्साहित गरेका थिए । उनीहरूले नै बिउ, बिजन दिएर २०४६ सालतिर यहाँ स्ट्रबेरी खेती गर्न थालियो । हावापानी, माटो सुहाउँदो भएपछि ककनी आसपासमा नै स्ट्रबेरी खेतीको लागी योग्य रहेछ भन्ने हिसाबले जाइटी नेपालले वितरण गरेको ६ वोट विरुवाबाट अहिले लाखौको संख्यामा यस क्षेत्रमा स्ट्रबेरी बेर्ना उत्पादन हुनुका साथै स्ट्रबेरी खेती राम्रो हुदै आइरहेको छ ।

२ मंसिर २०७८, बिहीबार २०:४४



तपाईको प्रतिक्रिया