विदुर । चीन सरकारको आर्थिक र प्राविधिक सयोगमा निर्माणाधीन रसुवा–टिमुरे सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको छ ।
३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते शिलान्यास गरिएको परियोजनाको भौतिक प्रगति १८ प्रतिशत मात्रै रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोभिडका कारण भौतिक संरचना निर्माणले गति लिन सकेको थिएन । तर गत वैशाखदेखि भने भौतिक निर्माणको काम पुनः अघि बढेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भौतिक निर्माणमा कुनै अवरोध नभएको भए आगामी वैशाखमा आयोजना सम्पन्न हुनुपर्ने थियो ।
परियोजना निर्माणमा खटिएका चिनियाँ कामदारहरु कोभिडका कारण आफ्नो देश फर्कीएका थिए । तर पछिल्लो समय केही चिनियाँ कामदार काममा फर्किएपनि कोभिडकै कारण पर्याप्त कामदार फिल्डमा खटिन नसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
कोभिड र कोरोनासँगै नदी छेउमा निर्माणधिन आयोजनालाई बाढीले समेत क्षति पु¥याएको गजुरेलको भनाइ छ । पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ । खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पु-याएको समितिले जनाएको छ ।
चिनियाँ लगानीमै निर्माण भइरहेको व्यापार पूर्वाधार आयोजनामा चीन सरकारले डेढ अर्ब लगानी गरेको छ । नेपाल चीन सीमा क्षेत्रबाट एक किलोमिटर नेपालतर्फ रहेको आयोजनामा अहिले करिब २५ जना चिनियाँ श्रमिकहरु काम गरिरहेका छन् । थप श्रमिक आउन प्रक्रिया सुरु हुनै लाग्दा चीनमा बढेको कोभिड संक्रमणले प्रभावित बनाएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
७ मंसिर २०७८, मंगलवार २०:२८