कोरियन ठेकेदारलाई स्थानीयले कुटे

विदुर । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका कोरियन ठेकेदारलाई स्थानीयले कुटपिट गरेका छन् ।

काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएको आयोजनाले जनाएको छ ।

स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरी प्राविधिकमाथि कुटपिट गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ । तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूतावास र गृहमन्त्रालयमा यसबारे जानकारी गराएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ, तर चिनियाँ कम्पनी सिनो हाइड्रोले सब–ठेकदारका रूपमा काम गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड र विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ ।

साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

७ मंसिर २०७८, मंगलवार २०:३४



तपाईको प्रतिक्रिया