रसुवागढी नाकाको भौतिक अवस्था अति नाजुक

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन

रसुवा । २०७२ वैशाख १२ को भूकम्पअघिसम्म उत्तरी चीन जोड्ने रसुवागढी नाकाको खासै चर्चा थिएन । भूकम्पले जब तातोपानी नाका बन्द भयो, चीन–नेपालको सबैभन्दा पुरानो नाका रसुवागढी एकाएक चर्चामा आयो । त्यसमाथि भारतले गरेको नाकाबन्दीका कारण यो नाका थप चर्चित बन्यो । चीन सरकारले अनुदानमा दिएको तेल रसुवागढी हुँदै नेपाल भित्रिएपछि थप चर्चामा आएको थियो ।

त्यति बेला देशभरका नाका ठप्प हुँदा रसुवागढी मात्र सञ्चालनमा थियो । पछिल्लो समय चीनको रेल केरुङ, रसुवागढी हुँदै काठमाडौं पुग्ने विषयले पनि नाकाको चर्चा चुलिएको छ । संकटका बेला नेपाललाई राहत दिएको रसुवागढी नाकाले जति धेरै चर्चा पाए पनि सीमाको भौतिक अवस्था भने ज्यादै नाजुक छ । नाका पुगेपछि दुई फरक दृश्य देखिन्छन् । चिनियाँ भूभागमा आधुनिक भवन, दुई लेनको चिल्लो कालोपत्र सडक, अध्यागमन र भन्सारका आधुनिक उपकरण जडित भवन छन् । नेपाली भूभागको संरचना भने त्यसको विपरीत छ । नेपालपट्टि सडकमा पानी पर्दा पहिरो र घाम लाग्दा धूलोले सताउँछ ।

ठूलो हावा चल्दा माथिबाट ढुंगा खस्छ । सवारी जाँच्ने एक्सरे, मेटल डिटेक्टरलगायत आधुनिक मेसिन नहुँदा जाँचमा समस्या छ । अस्थायी टहरामा बसेर सुरक्षाकर्मीले हातैले सामान जाँचिरहेका छन् । चीनसँग व्यापार हुने पुरानो नाका भएकाले गढीमा २०१३ सालमै भन्सार कार्यालय स्थापना भएको थियो । त्यति बेला नाकासम्म यातायात पुगेको थिएन । नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स र मखमलको रोल कपडालगायतका सामान आयात हुन्थे । व्यवसायीले केरुङदेखि नै भरियालाई सामान बोकाएर ल्याउँथे । सडकले नजोडिदासम्म नाकामा खासै चहलपहल थिएन । चीनले स्याफ्रुबेंसी–रसुवागढी सडक बनाएपछि भने यो नाका यातायात सञ्जालले जोडिएको हो ।

यातायात पुगेपछि नाकामा चहलपहल बढ्दै गयो । २०७१ मंसिर १५ देखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भए । २०७२ मंसिरदेखि रसुवागढी पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात त्यसपछि यही नाकाबाट हुँदै आएको थियो । नाकालाई २०७४ भदौ १४ मा चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारीसाधनको चाप बढ्दै गएको थियो । तर २०७६ माघ १५ देखि रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखिएपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप ठप्प भएको हो । – कान्तिपुर दैनिकबाट

२८ मंसिर २०७८, मंगलवार ०९:०६



तपाईको प्रतिक्रिया