युवा नेतृत्वले सबल बनेको ग्लोबल सहकारी

बट्टार । २०६४ सालमा नुवाकोटको बट्टार आसपासका २५ जना युवाहरुले मासिक रुपमा १ हजार रुपैयाँ बचत गर्ने गरी सञ्चालनमा ल्याएको ग्लोबल ग्रुप सहकारीको रुपमा बिकास भइसकेको छ । नुवाकोटमै उत्कृष्ट ब्यबस्थापन रहेको ग्लोबल उपभोक्ता सहकारीमा युवाहरुले नेतृत्व गरेसँगै नमुनाको रुपमा स्थापित भैरहेको छ ।

२०६८ सालमा सहकारी ऐन अनुसार ग्लोबल ग्रुपलाई उपभोक्ता सहकारी संस्थाको रुपमा स्थापना गरी कारोबार भैरहेको छ । बर्तमान बचत दिर्घकालिन सोच, आर्थिक समृद्धि ग्लोवलको उद्घोष भन्ने नारा सहित सञ्चालित ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडले स्थापनाको १० औँ वर्ष पार गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कार्यालय रहेको यस सहकारीले गएको शनिवार १० औँ वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । हाल सहकारीको शेयर सदस्य १ हजार ७४३ जना रहेको र शेयर पुँजी १ करोड ४७ लाख २ हजार २ सय रुपैयाँ रहेको अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष श्रेष्ठको अनुसार सहकारीको बचत रकम ११ करोड २१ लाख ६३ हजार रुपैयाँ र ऋण लगनी ११ करोड १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा सहकारीको मौज्दात रकम १ करोड ९९ लाख २५ हजार रुपैयाँ रहेको कोषाध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । सहकारीको जोखिम बहन कोषमा १५ लाख ५४ हजार रुपैयाँ रहेको कोषाध्यक्ष चित्रकारको भनाई छ । उनको अनुसार सहकारीको मुनाफा १४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको छ ।

संस्थाको कार्य क्षेत्र थप गर्ने र सोही अनुसार कारोवार बृद्धी गर्दै लैजाने, शेयर सदस्य र शेयर पुँजीमा वृद्धि गर्ने, कर्मचारीहरुको मनोबललाई उच्च बनाउन आवश्यकता हेरी सेवा सुविधा बृद्धि गर्दै लैजाने, सिप विकास हुने, रोजगार मुलक व्यवसायिक र विशेष गरी कृषि र व्यवसाय उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको भावी कार्यक्रम रहेको छ । उपभोक्तामुखी सहकारी भएको हुनाले बचत र ऋणलाई मात्र प्राथमिकता नदिई आगामी दिनमा दैनिक उपभोग्य बस्तुहरुको समेत कारोवार गर्ने लक्ष्य सहकारीले राखेको सहकारीका उपाध्यक्ष पवन नेपालले जानकारी दिए ।

सहकारीमा आवद्ध सदस्यको दुर्घटनामा परी असामयिक मृत्यु भएमा मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने, ऋण लगानी गर्दा सुरक्षित क्षेत्र हेरी लगानी गर्ने र खराव ऋण र भाका नाघेका ऋण असुली प्रकृयामा विषेश जोड दिने भावी योजना रहेको सहकारीका व्यवस्थापक प्रमिला तामाङले जानकारी दिएका छन् ।

२९ मंसिर २०७८, बुधबार १०:१०



तपाईको प्रतिक्रिया