आन्तरिक राजस्व लक्ष्यभन्दा बढी उठ्यो

विदुर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा आन्तरिक राजस्व लक्ष्यभन्दा बढी उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार मंसिर मसान्तसम्ममा १०२.३५ प्रतिशत राजस्व उठेको हो ।

पाँच महिना अवधिमा १ खर्ब ५१ अर्ब ७८ करोड रुपैयाँ राजस्व असुली लक्ष्य राखिएकोमा १ खर्ब ५५ अर्ब ३६ करोड रुपैयाँ उठेको विभागले जनाएको छ । आयकरतर्फ हालसम्मको लक्ष्यमा ११९ दशमलव ६१ प्रतिशत राजस्व असुली भएको छ । मंसिर मसान्तसम्ममा ४७ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ लक्ष्य राखेको विभागले ५६ अर्ब ९६ करोड १० लाख असुली गरेको हो । यो लक्ष्यभन्दा १९.६१ प्रतिशत बिन्दुले बढी हो ।

त्यस्तै, अन्त शुल्कतर्फ पनि लक्ष्यभन्दा बढी राजस्व उठेको छ । ५ महिनामा ३६ अर्ब २५ करोड रुपैयाँ बराबर लक्ष्य राखिएकोमा १०९.६५ प्रतिशत अर्थात् ३९ अर्ब ७४ करोड ९० लाख रुपैयाँ अन्तःशुल्क उठेको हो । मूल्य अभिवृद्धि कर (भ्याट) असुली भने घटेको छ । विभागको तथ्याङ्क अनुसार भ्याट लक्ष्यभन्दा १० प्रतिशत बिन्दुले कम उठेको छ । मंसिर मसान्तसम्ममा ४९ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ असुली लक्ष्य राखेको विभागले ८९.६४ प्रतिशत अर्थात् ४४ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ बराबर उठाएको हो । यहि अवधिमा स्वास्थ्यसेवा कर असुली लक्ष्य शतप्रतिशतले बढेको छ ।

५ महिना अवधिमा ९४ करोड ९५ लाख अनुमान गरिएकोमा २ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबर संकलन भएको हो । यो लक्ष्यभन्दा १३५.२४ प्रतिशत बढी हो । घरबहाल कर र शिक्षा सेवा कर भने घटेको छ । मंसिर मसान्तसम्ममा घरबहाल कर लक्ष्यको ७७ प्रतिशत र शिक्षा सेवा कर ५२.२५ प्रतिशत मात्रै उठेको छ ।

६ पुष २०७८, मंगलवार १५:१५



तपाईको प्रतिक्रिया