विकास बजेट खर्च निराशाजनक

विदुर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पुँजीगत खर्च अर्थात् विकास बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ ।

सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्म जम्मा ६.४६ प्रतिशत विकास बजेट खर्च भएको छ । यो वर्ष चार खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ विकास बजेट विनियोजन भएकोमा मङ्सिरसम्म जम्मा २७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । यो जम्मा ६.४६ प्रतिशत हो । यस्तै गएको वर्षको तुलनामा झन्डै चार प्रतिशतले कमी हो । गएको वर्षको पहिलो पाँच महिनामा १०.१३ प्रतिशत विकास बजेट खर्च भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले योजना बनाएरै हरेक महिना झन्डै १० प्रतिशतका दरले विकास खर्च गर्ने घोषणा गरे पनि खर्चको अवस्था भने निकै कम देखिएको छ । यस्तै पाँच महिनामा तीन खर्ब १३ अर्ब रुपैयाँ अर्थात् ३१.६१ प्रतिशत चालु खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ४१ अर्ब ३० करोड रुपैयाँ अर्थात् २१ दशमलव ८ प्रतिशत रकम खर्च भएको छ । यस्तै कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेकोमा पाँच महिनामा चार खर्ब नौ अर्ब रुपैयाँ अर्थात् ३४.९३ प्रतिशत संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पाँच महिनामा विदेशी अनुदान शून्य रहेको छ । बजेटमार्फत सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदानको अपेक्षा गरेकोमा अहिलेसम्म वैदेशिक अनुदान प्राप्त नभएको देखिएको हो ।

६ पुष २०७८, मंगलवार १५:१९



तपाईको प्रतिक्रिया