वाटर टावरले नुवाकोटको कृषि उत्पादनको बजारिकरण गर्ने

पत्रकार भेटघाटमा होटलका सञ्चालकहरू होटलले तय गरेको नयाँ योजना सुनाउँदै । तस्बिर : सुनिता गुरुङ

बट्टार । नुवाकोटको सञ्चालित प्रशिद्ध होटल ‘होटल वाटर टावर’ले जिल्लाको अब्बल कृषि उत्पादनहरूको बजारिककरण गर्ने नीति तय गरेको छ । जिल्लाका प्रख्यात कृषि उत्पादन चामल, माछा, कफी, कोदो, घैया लगायतलाई बाहिर जिल्लासम्म पु-याउने र होटलमा आउने पाहुनाहरूलाई खुवाउने सेडुलमा अनिवार्य गर्ने भएको छ ।

होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो । नयाँ ब्यवस्थापकीय जिम्मेवारीका साथ बैशाख १ गतेबाट होटल वाटर टावर सञ्चालनमा आउन लागेको छ । यही विषयमा जानकारी दिनका लागि आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा होटल सञ्चालकहरूले नुवाकोटको पर्यटन विकास र कृषि क्षेत्रलाई पर्यटनसंग जोड्ने योजना सुनाएका हुन् । ‘नुवाकोटकै उत्पादनलाई हाम्रा पाहुनाको ब्रेक फाष्टका रुपमा खुवाउने योजना छ’ नयाँ ब्यवस्थापकीय जिम्मेवारी लिन लागेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले भने ।

अब होटल वाटर टावर सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय जिम्मेवारी लिएर सञ्चालन गर्ने छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपालको प्रमुख सहरहरूमा २९ वटा होटल सञ्चालन गरिरहेको सफल समुह हो । सिइओ न्यौपानेले अन्तराष्ट्रिय नाका केरुङ, रसुवाको लाङटाङ र धादिङको रुभीभ्याली आउजाउ गर्ने पर्यटकहरूलाई एक रात मात्रै भएपनि नुवाकोटमा बसाउन सक्ने गरी योजना बनाएका सुनाएका छन् ।

‘हामी चिनियाँ पर्यटकहरूलाई नुवाकोटमा एक रात मात्रै भए पनि राख्ने छौं’, न्यौपानेले भने– ‘यहाँका स्थानीय तथा आन्तरिक पर्यटकहरू पनि हाम्रो प्रमुख आकर्षमा छन् ।’ उनले नुवाकोटको पर्यटन विकास प्रवद्र्धनसहित होटलमा अत्याधुनिक सेवा विस्तार गर्दै होटलसँग व्यवस्थापकीय सम्झौता गरिएको जानकारी दिएका छन् । हाल होटल सञ्चालन गरिरहेको हिमनदी पर्यटन सहकारी संस्था लिमिटेडबाटै सञ्चालन भइरहेता पनि ब्यवस्थापनको जिम्मा भने सिद्धार्थ ग्रुपले लिएको हो । अब होटलको नाम सिद्धार्थ होटल वाटर टावर रहने छ ।

करिब १५ करोड लगानीमा १४४ जनाको लगानीमा २०७३ साल जेठमा बट्टारमा होटल वाटर टावर सञ्चालनमा आएको थियो ।

बिहीवार कम्पनीका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘यस होटल वाटर टावरले थप सेवा सुविधा सहित नेपालकै हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरी २०७९ बैशाख १ गतेदेखि यस सिद्धार्थ होटल वाटर टावरको नामबाट सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने जानकारी गराउँदछौ । हाम्रो यस होटल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, कार्यक्रमका लागि हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरू छन् । यस होटलले निकट भबिष्यमा ५०० जना भन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थक्लव, पारिवारिक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरी थप स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।’

सिद्धार्थ ग्रुपले होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरूको नेटवर्क बनाएको छ । सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमाण्डौको बानेश्वर, धोबिघाट, तीनकुने, सुन्धारा, बौद्घ लगायतका स्थानहरूमा २९ वटा शाखामार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ ।

नुवाकोटको होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको उक्त ग्रुपले बागमती प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ देशका अन्य प्रमुख शहरहरूमा सेवाविस्तार गर्ने तयारी गरि रहेको सञ्चालक ध्रुबप्रसाद रिमालले कार्यक्रममा बताएका छन् ।

उनका अनुसार सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ ।

२९ चैत्र २०७८, मंगलवार ०९:४६



तपाईको प्रतिक्रिया