सडकलाई १ अर्ब ८५ करोड

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को लागि गल्छी त्रिशुली बेत्रावती स्याफ्रुबेसी सम्मको ६२ किलोमिटर र स्याफ्रुदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिको लागि बजेटको व्यवस्था गरिएको हो ।

गएको आइतबार संसदमा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको हो । रसुवागढी नाका जोड्ने यो सडकको अहिले स्तरोन्नतिको काम चलिरहेको छ। गल्छी मैलुङ, मैलुङ स्याफ्रु र स्याफ्रु रसुवागढी गरी तीन भागमा विभाजन गरेर काम भइरहेको छ । योजना प्रमुख निरज शाक्यका अनुसार गल्छी मैलुङ सडक खण्डमा कालोपत्रे गर्ने, मैलुङ स्याफ्रु सडक खण्डमा ग्राभेल गर्ने तथा स्याफ्रु रसुवागढी सडक खण्डमा पोल सार्ने काम भइरहेको छ ।

सडकसंग सात दिने स्पष्टीकरण माग
विदुर । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंसी– रसुवागढी सडक योजना (नुवाकोट) ले कामै बन्द गरेको भन्दै भारत कन्स्ट्रक्सन/सिद्धिसाइ जेभी काठमाडौंसँग सात दिने स्पष्टीकरण मागेको छ ।

आयोजनाले सूचना निकाल्दै के कति कारणले काम बन्द भएको हो । उचित कारण सहित स्वयम वा आधिकारी प्रतिनिधि कार्यालयमा सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उचित कारणसहित उपस्थित नभएमा प्रचलित कानुन तथा ठेक्का सम्झौताको ‘टर्मिनेसन क्लज’ अनुसार ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने उल्लेख छ ।

निर्माण कार्यको सन्तोषजनक प्रगति नभएकाले आयोजनाले माघ १० गते सूचना प्रकाशित गरी काम सुरु गर्न भनेको थियो । तर केही समय साइट सञ्चालन गरी निर्माण कार्य बन्द भएको आयोजनाले प्रकाशन गरेको सूचनामा उल्लेख छ । तीन खण्डमा गरी रसुवागढी पुग्ने सडक निर्माण अघि बढाइएको छ । त्यसमध्ये यो दोस्रो खण्ड हो । यो जेभीले मैलुङ–स्याफ्रुवेसी १९ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको थियो । दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुवेसीसम्मको अहिले ठेक्का लागेर काम चलिरहेको छ । यो सडकको ३० प्रतिशत काम भएको छ । दुई वर्षअघि ठेक्का लागेर काम सुरु भएको हो । ३० महिना सक्ने भनिएको भएपनि दुई वर्षमा ३० प्रतिशत मात्रै सकिएका कारण समयमा पुरा नहुने भएको छ ।

१ अर्ब ४५ करोड रुपैयाँमा भारत/सिद्धिसाई जेभीले यो ठेक्का पाएको हो। यो सडकको ट्रयाक नेपाली सेनाले खोलेको थियो । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म आर्थिक वर्ष २०७२/७३ मा ठेक्का लगाएर काम भइरहेको छ । जसको ७० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

तेस्रो खण्ड अर्थात रसुवागढीसम्म जोडिने अन्तिम खण्डको काम अघि बढ्न सकेको छैन । चिनियाँले नै बनाउने भनेर दुई वर्ष अघि ग्राउण्ड ब्रेकिङ सेरेमनी गरेका थिए । उनीहरू अहिलेसम्म नआएका कारण काम सुरु हुन सकेको छैन ।

२३ जेष्ठ २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया