ककनीको लोकल रक्सी ब्रान्डिङ गरिने

रानीपौवा । ककनी गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र क्षेत्रमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मलेलन गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । शुक्रबार गाउँसभाको अधिवेशनमा अध्यक्ष तामाङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्नेदेखि स्थानीय कोदोको रक्सी तीनपाने आईरकलाई ब्रान्डिङ गरी आन्तरिक उत्पादनलाई प्रवद्र्धधन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा दूध, मासु र तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने, डक्टर र इन्जिनीयर अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग करार सम्झौता गर्ने, किशोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम संचालन गर्ने, एक वडा एक एम्बुलेन्स सेवाका सुरुवात गरिने उल्लेख छ । गाउँपालिकाले सुशासनमा जोड दिँदै ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत नागरिकका समस्या बुझ्ने र समाधान गर्ने, यस आर्थिक वर्षमा कुनै पनि सवारी साधनलगायत विलासीताका सामग्री खरिद नगर्ने नीति अवलम्बन गरिएको छ ।

अध्यक्ष तामाङले गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संशोधनसहित शुक्रबार सर्वसम्मत पारित भएको छ ।

यसै बीच, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले ककनी गाउँपालिका का कर्मचारी तथा नवनिर्वाचित जनप्रतिनिधिलाई नागरिकको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । नागरिकको भावना र आवश्यकतालाई ख्याल गर्न‘पर्नेमा उनको जोड थियो । ककनी गाउँपालिकाको नवौं अधिवेशन, आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा शुक्रबार सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले संघीयता हजारौं सहिदको बलिदानले आएको र सहिदको चाहना पनि यही भएको हुँदा निष्पक्ष भएर नागरिकको सेवक गर्न निर्देशन दिए । ’सिंहदरबारको वरिपरि घुम्ने शासनलाई हटाएर निकै ठूलो संघर्ष र बलिदानीबाट अहिलेको अवस्था प्राप्त गरेका हौं, हाम्रो कल्पना र चाहना पनि यही थियो तर संघीयतालाई विफल बनाउन खोज्ने केही पक्षहरू पनि छन् । सचेत भएर काम गर्न आवश्यक छ,’ उनले भने ।

नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा गाउँपालिकाको सुशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार कस्तो हुने भन्ने विषय विशेष प्राथमिकता रहेको हुँदा त्यसैअनुरूप जनप्रतिनिधि लाग्नु पर्ने बताए । ‘नेपाल संघीयताको मोडलमा गएको पाँच वर्ष पूरा भएको भन्दै अहिले यो संरचनालाई कमजोर पार्नको निम्ति अहिले गाउँ गाउँमा सिंहदरबार होइन सिंहहरू आएछन् भन्ने कुराहरू चल्ने गरेको हुँदा जनप्रतिनिधिले यस्ता विषयमा ध्यान दिएर काम गर्न‘पर्छ ।’ उनले भने ।

आफ्नो गाउँपालिकाको विकासका कुन विषयवस्तुमा कति बजेट परेको छ भन्ने विषयमा जान्न पाउने अधिकार जनतालाई संविधानले नै प्रदान गरेको हुँदा नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने पनि तामाङले बताएका छन् । कृषिमा आधुनिकीकरण गर्न कृषकको व्यवहारमा परिवर्तन ल्याउने विषयमा केन्द्रित हुन सकेको खण्डमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने भन्दै उनले गाउँपालिकाले यस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा भएको विश्वास व्यक्त गरे । धेरै योजनाभन्दा पनि एउटा वार्ड एउटा मुख्य योजना बनाउनुपर्ने र पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी योजना तर्जुमा गर्नलाई उनले गाउँपालिका नेतृत्वलाई सुझाव दिए ।

साथै उनले सबै काम गर्न खोजेको जस्तो तर एउटा पनि योजना पूरा नहुने अवस्था आउनुभन्दा थोरै तर पूरा गर्ने गरी योजना ल्याउन पनि सुझाब दिएका छन् । पूर्वमन्त्री तामाङले काठमाडौं बालाजु–रानीपौवा र रानीपौवा पीपलटार सडकका लागि आगामी वर्षका लागि बजेट नपारिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । भनेले भने– ‘ककनी–काठमाडौं सडक नेपालकै पुराना सडकहरूमध्ये १४÷१५ नम्बरमा पर्छ । २०७० सालको बजेटमा १ अर्ब ३४ करोड ७९ लाख बजेट परेको थियो तर अहिले यस सडकलाई केन्द्र सरकारले बेवास्ता गरेको पाइयो र पनि बजेट पार्नको लागि मन्त्रालयलमा छलफल गरिरहेको छु । सकारात्मक कुरा आएको छ ।’ उनले थपे– ‘यस आर्थिक वर्षमा पनि आन्तरिक छलफलबाट बजेट पर्छ भन्ने आश छ । नभएर आवश्यक परेमा दबाब दिन पनि तयार हुनुपर्छ । सबैजना तयार रहन म आग्रह गर्न चाहन्छु ।’

अर्थ मन्त्रालयले कुनै न कुनै उपायबाट बजेट विनियोजन गर्ने आश्वासन दिएको उल्लेख गर्दै सांसद तामाङले ककनी–रानीपौवा सडक निर्माण गराउन निरन्तर लागीरहने बताएका छन् ।

सोही कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले सबै वर्ग, समुदाय र क्षेत्रलाई समेट्ने खालको बजेट ककनी गाउँपालिकाले निर्माण गर्नेमा आफू विस्वस्त रहेको बताए । ककनी गाउँपालिकाको नवौँ गाउँसभामा शुक्रबार विशेष अतिथिको रुपमा उपस्थित उपसभामुख तामाङले नीति तथा कार्यक्रम राम्रो रहेको भन्नुहुँदै सोही अनुसार बजेट आउने विश्वास व्यक्त गरेका छन् । ककनी नुवाकोटको मात्रै नभई देशकै पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको उल्लेख गर्दै उपसभामुख तामाङले यहाँको पर्यटन विकास र प्रवद्र्धनमा कस्तो बजेट आउँछ भन्ने चासो सर्वत्र रहेको पनि बताए । उपसभामुख तामाङले नीति तथा कार्यक्रम बजेट कस्तो आउँछ भन्ने बारेमा आँकलन गर्ने ऐना जस्तै भएको धारणा राखेका छन् । ‘कहिलेकाँही नीति एकातिर बजेट अर्कोतिर हुने गरेको पाइन्छ,’ नीति तथा कार्यक्रमअनुसार बजेट आउनुपर्छ ।’ उनले भनिन् । बहुभाषिक, बहुधार्मिक, सबै जात र समुदायको पहिचान गर्न‘का साथै सरकारको दायरामा नपरेका समुदायको लागि स्थानीय सरकारले काम गर्न जरुरी रहेको उनको धारणा रहेको छ ।

त्यस्तै स्थानीय भाषाको संरक्षण गर्ने जिम्मा गाउँपालिकाको पनि हुने भएकोले यस्ता विषयमा पनि नीति तथा कार्यक्रम र बजेटमा अट्न जरुरी रहेको उनको सुझाव थियो । बजेट विनियोजनमा राजनीतिक चस्माले नहेरी वास्तविक जनताको भावनालाई बुझ्ने गरी निर्माण गर्न‘पर्नेमा पनि जोड दिए ।

‘समृद्ध ककनीको आधार : कृषि, पर्यटन र दिगो, पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिका अध्यक्ष सुमन तामाङले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष तामाङले विभिन्न दल र विज्ञहरूसँगको छलफलबाट सुझाव संकलन पछि नीति तथा कार्यक्रम ल्याएको भन्दै नागरिकको हितमै हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटनलाई सूक्ष्म ढंगबाट लिएको र १८१ बुँदा नीति तथा कार्यक्रम समावेश गरिएको बताए । ककनी गाउँपालिका रानीपौवा नुवाकोटको अन्तर्राष्ट्रिय स्काउट सभाहलमा आयोजित नवौं गाउँसभामा स्वागत उपाध्यक्ष मिठुमाया तामाङले गरेका थिए ।

बेलकोटगढी नगरपालिकाको बजेट ९७ करोड ९६ लाख

बाघखोर । बेलकोटगढी नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को लागि ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार भएको आठौं नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षको बजेट ९७ करोड ९६ लाख ६० हजार प्रस्तुत गरे । चालुतर्फ २० करोड ७३ लाख रुपैयाँ र पूँजीगततर्फ ४३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शिवप्रसाद दाहालले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

त्यसअघि नगर प्रमुख जगतबहादुर गुरुङले बेलकोटगढी नगरपालिका नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा ‘समृद्ध वेलकोटगढीको आधार–स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटनसहितको पूर्वाधार’ भन्ने मूल नारा तय गरिएको छ । बजेटमा पूर्वाधार विकासमा १३ करोड, संस्थागत विकास तथा सृढृढीकरण कार्यक्रमलाई ३ करोड ५० लाख विनियोजन गरिएको उपप्रमुख दाहालले जानकारी दिएका छन् ।

बेलकोटगढी नगरपालिकाले महिला बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमको लागि ६० लाख, स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा ३ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

युवा तथा खेलकुदतर्फ ३ करोड, कृषि, पशु, सहकारी, घरेलुका लागि ३ करोड बजेट विनियोजन गरिएको छ भने प्रशासनिक खर्च नगरपालिकाका चालु खर्च १४ करोड विनियोजन गरिएको छ ।

नगरपालिका प्रमुख जगतबहादुर गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाले सर्बसम्मत पारित गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न‘हुँदै नगरप्रमुख गुरुङले नगरभित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्वन्द्व पीडित, सहिद परिवार र दीर्घ रोगीहरूलाई निःशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने बताए ।

पञ्चकन्या गाउँपालिकाको बजेट ४५ करोड ६६ लाख

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६६ लाखभन्दा बढीको बजेट शुक्रवार ल्याएको छ ।

शुक्रबार १२ औं गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा आर्थिक वर्ष २०७९/०८० का लागि गाउँपालिका उपाध्यक्ष विमला पाठक केसीले ४५ करोड ६६ लाख ६९ हजार ७३८ रुपैयाँको बजेट प्रस्तुत गरे । जसमध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात् ४२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको छ ।

पूर्वाधार विकास, कृषि, शिक्षा, सामाजिक सुरक्षाअन्तर्गत ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई उपचार खर्च, महिला स्वयंसेवकलाई प्रोत्साहन भत्ता लगायतका जनप्रिय कार्यक्रम पनि ल्याइएको उपाध्यक्ष केसीले बताए ।

गाउँपालिकाको नीति कार्यक्रम भने बिहीबार संघीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा अध्यक्ष तेजबहादुर तामाङले प्रस्तुत गरेका थिए । गाउँपालिकास्तरीय विभिन्न राजनीतिक दलका प्रमुखको समेत उपस्थितिमा पेस गरिएको नीति, कार्यक्रम सर्वसम्मत पारित भएको थियो ।

कार्यक्रमको उद्घाट संघीय सांसद हितबहादुर तामाङले गरेका थिए । उनले जनपक्षित बजेटका सन्र्दभमा पञ्चकन्या अब्बल रहेको र यस अघि पनि जनतालाई केन्द्रमा राखेर बजेट ल्याएको बताए ।

तादीको ४४ करोड १५ लाख

खरानीटार । जिल्लाको तादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड १४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौं गाउँसभामा उपाध्यक्ष सन्जु श्रेष्ठ प्याकुरेलले आर्थिक वर्ष २०७९/०८० का लागि ४४ करोड १४ लाख ९० हजारको बजेट प्रस्तुत गरे । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा बसेको गाउँसभाबाट आर्थिक ऐन २०७९, विनियोजन ऐन २०७९, आव २०७९।०८० बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको गाउँपालिकाले जनाएको छ ।

सूर्यगढीको बजेट ५१ करोड

चोकते । सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० लागि ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले बिहीबार गाउँसभामा ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । त्यसैगरी स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा बजेट विनियोजन गरिएको उपाध्यक्ष ढकालले जानकारी दिइन् । न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण, पठनपाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सीसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी जेष्ठ नागरिक लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिकरुपमा १ हजार ५ सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घ रोगीलाई निःशुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ । सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरू अनुदानलाई बजेटमा राखिएको छ ।

गाउँपालिकाले आय र राजस्वका स्रोत उल्लेख गर्दै आव ०७९/८० मा गाउँपालिकामा संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ८ करोड ६६ लाख, संघीय सशर्त अनुदानतर्फबाट १५ करोड १३ लाख, विशेष अनुदानबाट १ करोड ३० लाख, समपूरक अनुदान ५० लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६३ लाख २० हजार र सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड रुपैयाँ प्राप्त हुने विनियोजित बजेटमा उल्लेख गरेको । प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७३ लाख, ससर्त अनुदान २ करोड, राजस्व बाँडफाँटतर्फ १ करोड, विशेष अनुदान २ करोड, समपुरक अनुदान ३ करोड प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । आन्तरिक आयतर्फ ३५ लाख राजस्व संकलन हुने अनुमान बजेटमा छ ।

बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले समृद्ध सूर्यगढी र सुखी सूर्यगढीको आकांक्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष ०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

म्यागङको बजेट ३९ करोड ९१ लाख

देउराली । म्यागङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३९ करोड ९१ लाख ७९ हजार बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षता भएको गाउँपालिको गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो । संघ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताईन् ।

गाउँपालिकाले छोरीहरूलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्न २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाई स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । कक्षा ४–५ र कक्षा ६–८ को स्थानीय आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिने छ । विद्यालयको हाताभित्र हरियाली वातावरण कायम राख्न एक विद्यालय एक बगैँचा एक विद्यार्थी एक विरुवाको नीति अघि सारिएको छ ।

नुवाकोट जिल्लाभित्र प्रकाशन तथा प्रसारण हुने सञ्चार माध्यामलाई लोक कल्याणकारी विज्ञापनको रुपमा आवश्यक सहयोग उपलब्ध गराईने नीति लिईएको छ । गाउँपालिकाको विकास सम्बन्धी सकारात्मक समाचार सम्प्रेषण गर्न पत्रकार छनौट गरी विकास पत्रकारिता पुरस्कार प्रदान गरिने बताएको छ ।

टुंडीपार्कमा पानी, बिजुली, इन्टरनेट सेवासहितको आधारभूत सम्पन्न बाँसघर निर्माण गर्ने भएको छ ।

दुप्चेश्वरको नीति, कार्यक्रम सर्वसम्मत

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार गाउँसभाको ११ औं अधिवेशनले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । गाउँसभामा अध्यक्ष शंकरबहादुर थापाले कृषि र पर्यटन, धार्मिक/सांस्कृतिक पर्यटन, सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ उपस्थित भएका थिए । गाउँपालिकाले ‘कृषि संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार’ भन्ने नारा आत्मसाथ गरेको छ ।

मुख्यगरी दुप्चेश्वरमा २०७९/०८० को नीति तथा कार्यक्रममा कृषि र पर्यटकलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषि उपजको बजार व्यवस्थापनको लागि हाट बजारको व्यवस्था गरिने नीति तथा कार्यक्रममा रहेको छ । रैथाने बाली/बीउको संरक्षण, उत्पादन र बजारको लागि उचित व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकरी दिएका छन् ।
यस्तै असला माछा, लोकल खसी, बोका, लोकल कुखुरा, मौरीपालन तथा अन्य अर्गानिक कृषि उपजलाई प्रवद्र्धन गरी पर्यटन व्यवसायमार्फत आयआर्जनमा टेवा पु-याइने जनाएको छ । साथै बाँझो जमिनलाई उर्वरायुक्त बनाउन विशेष उपज अनुदान कार्यक्रम ल्याइने पनि जनाएको छ । धार्मिक/साँस्कृतिक पर्यटन अन्तर्गत दुप्चेश्वर महादेव मन्दिर बृहत् गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने, घ्याङफेदी–गोसाइँकुण्ड केवलकारको सम्भाव्यता अध्ययन गरी पहल गर्ने रहेको छ । त्यस्तै, दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि बर्थिङ सेन्टर स्थापना गर्न पहल गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

१३ असार २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया