विज्ञापनले प्रवेश गरायो नुवाकोटका दुर्गालाई शेयर बजारमा

नुवाकोटका चल्तापुर्जा व्यापारीक परिवारमा जन्मेकी दुर्गा तिवारीले सानै उमेरदेखि व्यापार देखिन् र बुझिन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्षसमेत भएका उनका बुबा बलराम रिजाल त्यस क्षेत्रमा कहलिएका व्यक्ति थिए । बुबालाई कतै न कतै आफ्नो सन्ततीले आफ्नो बिडो थामोस् भन्ने थियो । तर दुर्गाको लगाव सरकारी सेवामा थियो । लोक सेवा पास गरेर अधिकृत बन्न उनले प्रयास पनि गरिन् । यसैबीचमा उनी घरजममा बाधिईन् । श्रीमान जागिरे थिए,घरको आर्थिक बोझ श्रीमानमा मात्रै निर्भर थियो । सरकारी जागिरमा छिरेर त्यसलाई सहयोग गर्न र आर्थिक रुपमा आफू पनि बलियो बन्ने उनको धोको थियो तर पटक पटकको प्रयास असफल हुँदा उनलाई निराश बनाउँथ्यो ।

लोकसेवा उत्तिर्ण नभए पछि बिरक्तिएकी तिवारीले एक दिन कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा शेयर तालिम सम्बिन्धी विज्ञापन देखिन् । उनलाई शेयरबारे किताबी बाहेकको अन्य ज्ञान थिएन, तालिम गर्न पाए केही हुन्थ्यो की भन्ने उनको मनमा आयो । विज्ञापन पछ्याउँदै उनले एक इन्स्ट्च्यिुटबाट शेयरबारे तालिम लिइन् । शेयर तालिमले बजारबारे थप उत्सुक भएकी तिवारीले पहिलो पटक ग्लोबल आइएमई बैंकको आइपीओ भरिन् । १६ वर्ष अघिको साँघुरो नेपाली शेयर बजारमा प्रवेश गरेकी तिवारी अहिले नेपाली शेयर बजारकी ठूलो लगानीकर्ता हुन् । शेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर फोरमकी महासचिव समेत रहेकी तिवारीलाई बजारबारेका जानकारहरु नेपाली शेयर बजारका महिला हस्ती समेत भन्छन् । उनै तिवारीको जीवन भोगाई, शेयर बजारको यात्रा, बजार चरित्र र अनुभव, अनि शेयर बजारको भविष्यबारे आजको यो लेख केन्द्रित छ ।

तीन वर्षसम्म डुब्यो लगानी/पहिलो पटक दुर्गा तिवारी दोश्रो बजारमा पाँच लाख रुपैयाँ लिएर भित्रिएकी हुन् । सनराइज बैंक लगायतका केहि शेयर उनले ५०/५० कित्ता खरिद गरेकी थिइन् । पहिलो पटक परिवारका चार सदस्यका नाममा भरेकै ग्लोबल आईएमई बैंकको आईपीओ छोरीको नाममा ६० कित्ता पर्यो । प्राइम बैंकको पनि तीन जनाको नाममा १२०० कित्ता आईपीओ परेपछि दुर्गा थप हौसिइन् । साना बच्चाहरुलाई घरमा छोडेर पनि आईपीओ भर्न घण्टौं लाइन बस्नुपर्ने उनको बाध्यता थियो ।सुरुवातमा ब्रोकर कम्पनी जाँदा त्यहाँको माहोल उनलाई मनपर्दैनथ्यो । भिडभाड देख्दा र लगानी गर्न नजान्दा उनलाई दिक्क लाग्थ्यो । जहिले शेयर किनेर घट्ने भएपछि दैनिकजसो उनले सिटामोल खाएर बस्नुपर्दथ्यो । तर गरेको लगानी गुमाउनु पर्दा पनि दुर्गाले हिम्मत हारिनन् । ब्रोकर कार्यालयमा भेटिने अन्य लगानीकर्ताहरुको सफलताको कथाले र बजारको ज्ञानले उनमा हौसला जाग्यो । ‘म शेयर बजारमा पसेको समय पो गलत रहेछ ,पैसा कमाउन पनि सकिँदो रहेछ भनेर डटिरहेँ । जसरी भएपनि यसैमा सफल हुनुपर्छ लाग्यो,’ दुर्गा सुनाउँछिन् ।

तीन वर्षसम्म दुर्गाले शेयर कारोबारबाट नाफा कमाउन सकिनन्,गुमाइन् मात्र । ‘तीन वर्षसम्म एक रुपैयाँ कमाइन । मेरो पोर्टफोलियो ३० प्रतिशत मात्र बाँकी थियो । त्यो समय बजार अहिले जसरी नै घटेको थियो । घरमा प्रश्न सोध्दा मसँग दिन जवाफ हुन्थेन,’ उनी भावुक हुन्छिन् । चौथो वर्षमा भने कारोबार गर्दागर्दै डुबेको लगानी उकासेर दुर्गाले पहिलो पटक ५७ हजार रुपैयाँ नाफा निकालिन् । उनले थोरै पैसामा धेरै कम्पनीका थोरै कित्ता किन्ने गर्थिन् र थोरै नाफामा पनि बिक्री गर्थिन् । उनको दैनिकी ब्रोकर नं १७ एबीसी कम्पनीमा नै बित्ने गर्दथ्यो । दुर्गालाई कारोबार गर्न अब रमाइलो लाग्न थाल्यो । यसरी उनले आफू इन्भेष्टर नभएर ट्रेडर हुने निधो गरिन् । अन्ततः आफूलाई एक सफल ट्रेडरका रुपमा स्थापित गरिन् ।

‘निरन्तर शेयर बजारमा पैसा कमाउन थालेपछि मात्र त आकर्षण बढ्छ । सफलताका कथा सुनाउन खुशी लाग्छ, गर्व महसुस हुन्छ तर असफलताको कथा भन्न कति पिडा हुन्छ,’ उनी थप्छिन् । दुर्गा भन्छिन्, ‘अहिले कति भाइबहिनीहरुले हतोत्साहित भएर मलाई मेसेज गर्नुहुन्छ । लगानी चुर्लुम्म डुब्यो, मर्न मन लाग्छ भन्दै दुख पोख्नुहुन्छ । तर मैले आफ्नो अनुभव भनेर हिम्मत दिने कोशिष गर्छु ।’ ट्रेडर दुर्गाले कमाएको र गुमाएका ती शेयर÷‘यस्तो पुरानो भएर पनि ट्रेडर ?’ भन्ने प्रश्न आउने गर्छ दुर्गालाई । तर उनी आफूलाई ट्रेडर नै भन्न रुचाउँछिन् । ‘मलाई ट्रेडर भन्दा कुनै नराम्रो लाग्दैन । शेयर लगानी गर्नुमा र कारोबार गर्नुमा के फरक छ र ? सर्ट टर्म र लंग टर्मकै त हो भिन्नता । तर ट्रेड गर्न तनावपूर्ण भने हुने गर्छ । जोखिम पनि बढि हुन्छ । किनकी कारोबार गर्ने कम्पनीहरु फण्डामेन्टली कमजोर पनि हुन सक्छन् वा बलियो पनि हुन सक्छन् ।ती कम्पनीहरुमा जोखिम बढि हुन्छ र रिवार्ड पनि बढि हुन्छ । त्यस्ता कम्पनीहरुमा समयमा नै स्टप लस र प्रोफिट बुक गर्न सक्नुपर्छ नत्र फसिन्छ ।’

शेयर बजार बुल भएको समयमा दुर्गाले मनग्गे आम्दानी गरिन् । आफूलो कारोबार गरेका सबै कम्पनीबाट नै राम्रो नाफा भएको उनको भनाई छ । यद्यपी हालसालै भने उनलाई हाइड्रोपावर कम्पनीले मालमाल बनाइदियो । अन्य सबै क्षेत्रबाट पनि रिटर्न भने आएको थियो । ‘म कुनै कु्नै कम्पनी त छुँदै छुँदिन के !,’ दुर्गा बेस्सरी हाँस्छिन् । केहि कम्पनी खरिद गर्न उनी अहिले पनि तर्सिन्छिन् । सानिमा हाइड्रोपावरको शेयर खरिद गर्दा १० लाख रुपैयाँ भन्दा धेरै घाटा खाएको क्षण भने उनको मानस्पटलमा अझै पनि ताजा छ । तर आफू बिक्रेता भएकाले स्टप लस गर्ने भएकाले एउटै कम्पनीमा ठुलो घाटा खाने गरेको अनुभव उनीसँग छैन । दुर्गा आफैले भने खासै आईपीओ भर्दिनिन् । ‘कुनै कुनै बेला मुड चलेमा भर्छु, नत्र १० कित्ता पनि पर्दैन,’ उनी हाँस्छिन् । उनलाई अन्तिम पटक सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ परेको थियो । दुर्गाले आफू मात्र नभएर आफ्ना सन्तानलाई पनि शेयर ज्ञान बाँडेकी छिन् । ‘अमेरिका बस्ने छोरी नेपाल आएको समयमा सँगै राखेर दोश्रो बजारमा लगानी गर्न सिकाउँछु । उसकोलागि वैकल्पिक आय श्रोतका रुपमा हुन सक्छ,’ उनी खुलाउँछिन् ।

प्रविधि मैत्री र फराकिलो भयो बजार÷पहिलेको शेयर बजारमा व्यापारिक घरानाका प्रौढ व्यक्तिहरुले लामो समयकालागि लगानी गर्न आउने गरेको दुर्गा सम्झिन्छिन् । तर, कोभिड १९ महामारी पछि भने शेयर बजारमा युवाहरुको आगमन भएकोमा दुर्गा खुशी हुन्छिन् । पूँजी थोरै भएपनि संख्यात्मक हिसाबले युवा लगानीकर्ताको समवेशिता धेरै हुँदा बजार केही भिन्न भएको उनको भनाई छ । आईपीओ भर्न र किनेको शेयर नामसारी हुनदेखि सूचीकृत हुन समय लाग्ने सो समयमा कारोबार गरेकी दुर्गालाई हालको समय धेरै सहज भएको छ ।

टिप्न जाने पैसा फल्ने ठाउँ हो शेयर बजार/सुरुवातको समयमा सरकारी सेवामा आवद्ध हुन नपाउँदा दुःख लाग्ने गरेको भएपनि हाल भने दुर्गालाई आफूमाथि गर्व लाग्छ । शेयर बजारले नै आफूलाई पहिचान र पैसा दुबै दिएको उनले बताइन् । ‘शेयर बजार पैसाको खानी हो,साधारण भाषामा भन्दा, टिप्न जाने शेयर बजार पैसा फल्ने ठाउँ हो, सहज रुपमा पैसा कमाउन सकिन्छ तर नजानेमा सजिलै डुब्न सकिन्छ,’ एनी थप्छन्, ‘मेरोलागि शेयर बजार सबथोक हो । आजको यो स्थानसम्म पुग्न र महिलाहरुलाई शेयर जनचेतना दिन योग्य पनि यही बजारले गर्दा भएकी छु ।’ १६ वर्षअघि दुर्गाले देखेको नेपालको शेयर बजारमा महिला लगानीकर्ता एकाध मात्र थिए रे । तर हाल नयाँ लगानीकर्ताहरुमा महिलाको संख्या भने राम्रो रहेको दुर्गा बताउँछिन् । महिलाहरु शेयर बजारमा पिछडिएको कुरामा भने दुर्गा विश्वास गर्दिनन् । ‘संख्यात्मक रुपमा महिला पिछडिएका छैनन् । करिब ४५ प्रतिशत महिलाहरुको डिम्याट संख्या भएको देशमा गुणात्मक रुपमा अलि कम छौं । समाज नै पितृसतात्मक भएकाले स्वतः आर्थिक क्षेत्रमा आकर्षण कम भएको हो । तर सधैँ यस्तो हुँदैन । आफ्ना गहना बेचेर पनि शेयर किनेका महिलाहरु पनि त हुनुहुन्छ,’ उनी अथ्र्याउँछिन् ।

महिलाहरुले व्यवस्थापन गर्न जानेमा शेयर लगानी गर्न सकिने दुर्गाले आफ्नो अनुभवका आधारमा बताइन् । ‘बच्चाहरुलाई विद्यालय पठाएर रहेको समयमा शेयर कारोबार गर्न सकिने भएको हुँदा घर र आम्दानी दुबै व्यवस्थापन गर्न सकिन्छ ।’ दुर्गाका लागि शेयर बजारको कमाई नै मूख्य आय श्रोत हो । तर, थोरै लगानी गरेर केहि समय दिने लगानीकर्ताहरुलाई भने वैकल्पिक लगानीको थलो बन्न सक्नेमा उनी जोड दिन्छिन् । ‘आफै उपस्थित नभए पनि भएको थोरै बचत लगानी गरेर पनि दीर्घकालिन रुपमा धेरै प्रतिफल आउन सक्छ ।अन्य व्यवसाय वा पेसामा आवद्ध रहेकालाई ठुलो वैकल्पिक श्रोत हो ।’ अन्य क्षेत्रमा हुने भन्दा धेरै गुणा शेयर बजारमा लगानी गरेर दुर्गाले कमाएकी छिन् । ‘शेयरमा लगानी गरेर अन्य कुनै क्षेत्रमा कमाउने भन्दा धेरै गुणा कमाएर सफलता पाएकी छु । शेयर बजारमा गरेको लगानी र प्रतिफलप्रति म धेरै सन्तुष्ट छु ।’ दुर्गाको शेयरमा लगानी गर्ने रकम ट्रेण्डमा निर्भर हुन्छ । ‘पुराना दिनमा बैंक तथा वित्तिय संस्थाहरुले घरमा नै बोलाएर ऋण लिदिनुस् भन्दा धेरै लगानी थियो भने पछिल्लो समयमा बजार झर्दै गर्दा एक अनुभवी लगानीकर्ताका हिसाबले नियामक निकायले नितिगत रुपमा शेयर ऋणदेखि अन्य कडाई गर्दा लगानीमा उतारचढाव भएको छ,’ उनी भन्छिन् । ‘म दीर्घकालिन लगानीकर्ता होइन । म निश्चित समयसम्म मात्र लगानी गर्छु र सिमित मात्रामा गर्छु । यति नै लगानी गरे भन्दा पनि समय सापेक्ष हुन्छ । सबै आंकलन गरेर मात्र लगानी गर्छु ।’

बजारको चक्र पहिले जस्तो छैन÷शेयर बजारमा ‘आए आँप गए झटारो’ भन्ने किसिमका लगानीकर्ताहरु भएकाले लगानी कसरी गर्ने भन्ने लगानीकर्तामा निर्भर हुने दुर्गा बताउँछिन् । यद्धपि शेयर बजार जुवा नभएको उनको तर्क छ । ‘जुवामा गुमाउँदा सर्वश्व जान सक्छ तर शेयर बजारमा राम्रै कम्पनीमा लगानी गरेमा त्यो खातामा शेयर भइरहन्छ । हाम्रो राजनैतिक नेतृत्वमा भएका मानिसहरुले यहाँ भइरहेका कति विकृती विसंगीतलाई रोक्न र नियमन गर्न सक्नुहुन्न तर जुवा भन्नुहुन्छ । उहाँहरुले त्यति बोल्दा बजारमा कति असर पर्छ भन्ने ज्ञान हुँदैन ।’ ‘विश्व परिपेक्ष्यलाई हेर्दा नेपालमा शेयर ज्ञान नै नभएको त होइन तर शेयर बजार जोखिमको क्षेत्र हो नि । शेयर बजारको सर्कल हेर्दा नेपालको शेयर बजार ८ वर्षको साइकलमा चल्थ्यो अहिले त्यो हुँदैन । यसअघिको २० महिनादेखि २४ महिनासम्मको अवधिलाई हामीले बुल मार्केट भन्न सक्थ्यौं भने अहिलेको १३ महिना बियर मार्केट भन्न सक्छौं ।’ उनी थप्छिन्, ‘हामीले पुरानो ८ वर्षको चक्र छोडेर नयाँ चक्र रचना गर्दैर्छौ । यसको कारण हाम्रो आईटिको विकाश हो । जुन टिएसएस छ, त्यसले गर्दा धेरै लगानीकर्ताहरुको हातमा जाँदा त्यसको रियाक्सन देखिएको हो । हिजो ५० वटा ब्रोकरले गरेको कामको तुलनामा अहिले लाखौँ मानिसहरुको हातमा टिएमएस आएपछि बजार एकदम द्रुत गतिमा बढेको देखिन्छ र घट्दा पनि त्यहि रियाक्सन देखियो । लगानीको भोल्युम पनि बढेको अवस्था थियो ।’

अहिले कस्तो छ शेयर बजार ?/बुल र बियर कहाँबाट सुरु हुन्छ थाहा हुँदैन । धेरैलाई एउटा निश्चित विन्दुमा पुगेपछि मात्र थाहा हुन्छ तर अनुभवी लगानीकर्ताहरुले अनुमानसम्म गर्न सकिने दुर्गा सुनाउँछिन् । ‘विगतमा हाम्रो देशमा बियर र बुल नितीगत परिवर्तनसँग जोडिएर आएको छ । पुराना लगानीकर्ताहरुले अनुभवका आधारमा निर्णय लिन सक्छन् तर नयाँ लगानीकर्ताहरुलाई यस बारेमा थाहा हुँदैन ।’ ‘बजारको सुन्दरता भनेकै उतारचढाव अर्थात् झर्ने र बढ्ने नै हो । तर त्यसलाई कैयौं नयाँ लगानीकर्ताहरुले आंकलन गर्न सक्नुहुन्न । शेयर बजार बियर हुँदा पनि झर्दै बढ्दै गर्छ, त्यो उहाँहरुले आंकलन गर्न सक्नुहुन्न । धेरै घट्दा र थोरै बढ्दा पनि बियर मार्केट । धेरै बढ्दा र थोरै घट्दा त्यो बुल मार्केट हो । दुबैमा घटबढ हुन्छ तर थोरै भिन्नता हुन्छ,’ उनी भन्छिन् ।

दुर्गाले थपिन्, ‘अहिले बजार ४० प्रतिशतको करेक्सनमा रहेको छ । यो समयमा स्टप्लस गर्ने होइन, फण्डामेन्टली विक कम्पनीहरुमा रुटप्लस गर्ने हो । तर यो विन्दु स्टप लस गर्ने विन्दु होइन । अहिलेको यो विन्दुु होल्ड नै गर्ने विन्दु हो । सकिन्छ भने अझै झर्दै गर्दा किन्ने हो । शेयरमा सबैभन्दा ठुलो कुरा धैर्यता हो । लाखौंलाई पछाडि पारेर अगाडि जानुछ, अध्ययनशील हुनैपर्छ ।’ बजार धेरै झर्दा धेरै कारोबार गर्न नहुने दुर्गा सुझाउँछिन् । ‘त्यसो गर्दा हामीले कमाएको पैसा गुमाउँछौं । बजार बढिरहेको समयमा जसरी होल्ड गर्दा जितिन्छ, त्यसरी नै बजार झरिरहेको अवस्थामा त्यतिकै वाच गरिरहनुपर्छ । शेयर बजारमा सधैं पैसा कमाईंदैन । कुनै समय नकमाएर पैसा बचाएमा मात्र पनि ठूलो जित हुन्छ ।’

लगानीकर्ताले के कुरामा ध्यान दिने/अहिलेको अवस्थामा लगानीकर्ताहरुले होल्ड गर्नुपर्ने दुर्गाको सल्लाह छ । ‘यो क्षेत्रमा आइसकेपछि टिक्नु नै सबैभन्दा ठुलो कुरा हो । घाटा ५० प्रतिशतभन्दा धेरै छ । जो टिक्दैन,उ सिध्यो । टिक्नकालागि के गनुपर्छ भन्ने मात्र हो ।’ उनी थप्छिन्, ‘हिजो के गर्नुपथ्र्यो भन्ने कुराले अब अर्थ राख्दैन, अब के गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ । अब आफूसँग भएका कम्पनीहरुलाई होल्ड गर्ने र समयलाई कुर्ने । समय भन्दा बलवान केहि पनि हुँदैन । राम्रो समय आउँछ, फेरि बजार बढ्छ ।’ शेयर बजारकै बारेमा थाह नभएका नयाँँ लगानीकर्ताहरुले सुरुवातमा नै ऋण लिन नहुने दुर्गाको भनाइ छ । ‘शेयर बजार अत्यन्त जोखिमको क्षेत्र हो । सुरुमा थोरै लगानी बढाउँदै लगरे, सिकेर, होल्ड गर्ने क्षमता विकास गर्नुपर्छ ।’ ‘कतिपयलाई लगानी एडिक्सन बनिसकेको हुन्छ । सुरुवातमा रमाइलो मान्दा मान्दै बानी परिसक्छ तर लगानीलाई एडिक्सनको रुपमा विकाश गर्न भने हुँदैन । लगानीलाई अध्ययन गरेर लगानीकै रुपमा विकाश गर्न सकेमा दीर्घकालिन रुपमा तनावमा बस्न पर्दैन’ उनले बताइन् ।

नयाँ लगानीकर्ताहरुलाई सुझाव/नयाँ लगानीकर्ताहरु शेयर बजारमा प्रवेश गर्नुअघि जोखिम बुझेर प्रवेश गर्नुपर्ने दुर्गाको सुझाव छ । ‘नयाँ लगानीकर्ताहरु धेरै आत्तिनुपर्दैन । सुरुमा सानो लगानीबाट सिक्नुस् । टेक्निकल र फण्डामेण्टल एनालाईसिस सिकेर आएमा राम्रो हुन्छ । पुराना लगानीकर्ताहरुसँग ज्ञानहरु लिनुहोस् । कतिपटक किताबी ज्ञानभन्दा शेयर बजारको यर्थाथ फरक हुन्छ । कतिपय सैद्धान्तिक कुराहरु भन्दा शेयर बजराको भोगाइ फरक हुन्छ । ती सबै अध्ययन गरे भने राम्रो हुन्छ,’ उनी सुझाव दिन्छिन् । ‘मैले आफूले कुनै कम्पनीबाट कमाएको शेयरको नाफा अर्को क्षेत्रमा लगानी गर्ने गरेकी छु ।’ बजारको जोखिमलाई मध्यनजर गर्दै अन्त कतै लगानी गर्दा उचित हुने उनको भनाई छ । ‘सबै अण्डा एउटै टोकरीमा राख्न हुन्न भनिन्छ, त्यसरी नै सबै लगानी गर्नहुन्न, ठाउँठाउँमा लगानी गर्नुपर्छ । ऋण गरेर सुरुमा शेयर नकिन्नुस् ।’

नेपालमा शेयर बजारको भविष्यका सन्दर्भमा दुर्गा मुस्काउँदै भन्छिन्,’ नेपालमा शेयर बजारको वर्तमान नै राम्रो छ । बजारमा उतारचढाव हुनु सामान्य हो । यसलाई स्वीकार्नु पर्छ र त्यहिँ अनुरुप काम गर्नुसक्नुपर्यो । भविष्य राम्रो छ । सरकारको नीति अनुसार रणनीति बनाउनुपर्छ । अर्काको टिप्समा कारोबार गर्नु हुँदैन ।’ दुर्गा भन्छिन्, ‘शेयर बजार बढ्दा सबलाई आकर्षण गर्छ भने घट्दा विकर्षण गर्छ । प्राय आउनुपर्ने समयमा लगानीकर्ताहरु निस्कदा र निक्लनुपर्ने समयमा प्रवेश गर्दा डुबिन्छ । एक दुई महिनामा कमाउँछु भन्ने नआउँदा राम्रो । दीर्घकालिन रुपमा बजारमा रहिरहन्छु भन्नेकालागि राम्रो हो ।’ ‘पैसा र समय भएर मात्र पुग्दैन । शेयर बजारमा सफल हुनकालागि ज्ञान, ट्रेण्ड, उतारचढाव,नीतिगत कुराहरु, विश्व अर्थतन्त्रदेखि हरेक फण्डामेण्टल तथा टेक्निकल एनालाईसिस जान्न आवश्यक छ । सबैभन्दा धेरै टिकिराख्न जरुरी छ’, उनी जोड दिन्छिन् । – मेरोलगानी डटकमबाट

२७ कार्तिक २०७९, आईतवार १२:४४



तपाईको प्रतिक्रिया