पोके तथा घुमुवा व्यापारीलाई कस्दै उद्योग बाणिज्य संघ

फाइल तस्बिर

विदुर । पोके तथा घुमुवा व्यापारीहरू गैरकानूनी रुपमा व्यापार गरी हिडेको भन्दै नुवाकोट उद्योग बाणिज्य संघले उनीहरुलाई नियन्त्रणमा लिने निर्णय गरेको छ ।

बिहीबार नुवाकोट उद्योग वाणिज्य संघको बैठकले पोके व्यापारी नियन्त्रणको लागि संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन भएको छ ।

उपसमितिमा जिल्लाका मोबाईल, मदिरा, फेन्सी, प्लास्टिक, मेडिकल, भाडाकुडा, खाद्यान्न, कपडा र होटल गरी नौं वस्तुगतका व्यापारी संगठनका प्रतिनिधिहरू छन् । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, बिल नै जारी नगरी कपडालगायत विभिन्न सामग्री बिक्रीका लागि नुवाकोटका बजार तथा गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रण लिन उपसमिति तयार गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

अनाधिकृत पोके व्यवसायीलाई सम्बन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्नसमेत आग्रह, स्थानीय निकायसँग समन्वय, सिमा नाकामा जानकारीमूलक होर्डिङबोर्ड, डिजीटल तथा भौतिकरुपमा उपभोक्तामा जनचेतना कार्यक्रम गरिने बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।

जिल्लाभर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि प्रभावकारी कदम भने यस अघिनै चालिए तापनि पूर्णरुपमा कार्यन्वयन आउन सकेको थिएन । पोकेव्यापारीहरू मौसम अनुसारका कपडा, भाडाकुडा, तथा अन्य वस्तुहरू घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा सदरमुकाममा चहलपहल समेत कम हुन थालेपछि स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै संघकै अगुवाईमा पोके व्यापारी नियन्त्रण अभियान सञ्चालन गरिने बरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

१ जेष्ठ २०८०, सोमबार २०:२६



तपाईको प्रतिक्रिया