विदुर । नेपालमै सफल मानिएको जलविद्युत् कम्पनी चिमिलेको सहायक कम्पनी निर्माणको हविगत भने झन् झन् खराब भएको छ । निर्माण आरम्भ भएको १२ वर्षसम्ममा पनि उत्पादन गर्न नसकेको चिलिमे जलबिद्युत् कम्पनीको शाखा आयोजनाले फेरि उत्पादनको मिति सारेको छ ।
उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमेको सहायक कम्पनी हो । उक्त कम्पनीले पुनः आफ्नो व्यावसायिक उत्पादन मिति सारेको छ । यसै आर्थिक वर्षमा उत्पादन सुरु गर्ने भनेको रसुवागढीले पुनः उत्पादन मिति ३ महिनापछि सारेको हो । १११ मेगावाट क्षमताको नदी प्रवाही आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि सकिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनामातहत निर्माण भइरहेको यस आयोजनाको तीन महिना म्याद थपिएपछि उत्पादन मिति असोज अन्त्यमा पुगेको छ । २०६८ कात्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति २०७६ पुस १५ मा थियो । तर २०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सारेर २०७८ असारमा पु-याइएको थियो । त्यसपछि २०७७ मा आएको भोटेकोशीको बढीले बाँधलगायत संरचनामा क्षति पु-याएपछि समयमै आयोजना सक्न कठिनाइ भएको भन्दै कम्पनीले फेरि २०७९ सालको फागुनसम्म उत्पादन मिति सारेको थियो । जलविद्युत् कम्पनी चिमिलेको सहायक कम्पनीले त्यस मितिमा पनि उत्पादन गर्न नसकेपछि समय लम्ब्याएर २०८० असारमा पु-याइयो । तर यस अवधिमा पनि नसकिएपछि अहिले पुनः ३ महिना समय थपिएको छ ।
रसुवागढी आयोजनाबाट २०७८ असारभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहे पनि २०७७ मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पुगेका कारण उत्पादन समय लम्बिएको आयोजना प्रवक्ता नरनाथ न्यौपानेले जानकारी दिए । बाढीले पहुँचमार्गमा क्षति पु-याएपछि पनि समयमा उत्पादन गर्न नसकिएको उनको भनाइ रहेको छ ।
१ जेष्ठ २०८०, सोमबार २०:५०