शुल्क उठाउन रोक

विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क नउठाउन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी सो स्पष्ट गरेको हो ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले अनलाइन, भर्चुअल लगायतका विधिबाट अध्यापन गरिरहेको र त्यसमा संलग्न शिक्षकलाई पारिश्रमिक दिनुपर्ने हुँदा शुल्क उठाउनुपर्ने हुनसक्दछ भन्दै यो विषय छलफल गरेर टुङ्ग्याउनु जरुरी रहेको बताउनुभयो । छलफल नटुङ्गिदासम्म शुल्क नउठाउन आग्रह गरिएको छ ।

असार १ गतेदेखि कार्यान्वयन गरिएको सिकाइ सहजीकरण कार्यक्रम कार्यन्वयनमा कुनै व्यवहारिक समस्या भए शिक्षण संस्थाहरुले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी प्राप्त निर्देशानुसार गर्न निर्देशन दिइएको छ । त्यस्तै २०७६ सालमा प्रारम्भिक बालविकासमा भर्ना भएका बालबालिकाको मातृ विद्यालय पहिले नै पहिचान भइसकेको हुने हुँदा त्यस्ता बालबालिकाको कक्षा १ मा अभिलेखीकरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन कुनै समस्या नरहेको स्पष्ट गरिएको छ ।

प्रारम्भिक बालविकासको अनुभव नभएका तर पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सिकाइ सम्बन्धमा ती बालबालिका बसेको स्थानबाट सबैभन्दा पायक पर्ने सामुदायिक विद्यालयले अभिलेखीकरण गरी निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था रहेको जनाइएको छ ।

गत २०७६ को शैक्षिक सत्रमा कुनै कक्षा उत्तीर्ण गरी माथिल्लो कक्षामा अभिलेखीकरणका लागि अर्को विद्यालयमा स्थानान्तरण हुनुपर्ने वाध्यत्मक परिस्थितिमा रहेका बालबालिकाको हकमा त्यस्ता बालबालिकालाई पायक पर्ने विद्यालयले अभिलेखीकरण गरी पाठ्यपुस्तक उपलब्ध गराइ वैकल्पिक सिकाइ प्रणालीमा जोड्न सकिने पनि सोही विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई आग्रह गरेको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेपछि अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो ।

प्याब्सन र एन प्याब्सनले आइतबार अभिभावकलाई विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न, २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अपिल गरेको थियो ।

कोरोना कहरको त्रासदी, अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको अपिललाई अवज्ञा गर्न अनेरास्ववियूले अभिभावकहरुलाई आग्रह गरेको छ ।

१७ असार २०७७, बुधबार २२:२५



तपाईको प्रतिक्रिया