टोलटोलमा स्कुल

पञ्चकन्या । कोरोना महामारीका कारण विद्यालयमा हुने औपचारीक शिक्षण सिकाई बन्द भएपछी पञ्चकन्या गाउँपालिका वडा नम्वर २ कबिलासस्थित राष्ट्रिय माविले टोलटोलमै पुगी कक्षा सञ्चालन गरेको छ ।

लकडाउन जारी रहेको र कतिपय विद्यालयमा क्वारेन्टाइन बनाइएका कारण विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको प्रधानाध्यापक बिकाश महत बताउनुभयो । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी समस्यामा परेकाले स्वअध्ययनको वातावरण सिर्जना गर्न पनि शिक्षकलाई टोलमै पठाएको उहाँको भनाइ छ ।

यसका लागि विद्यालयले टोलटोलमा रहेको सार्वजनिक भवन, सामुदायिक भवन र खुला ठाउँ रोजेको छ । तोकिएको ठाउँमा हरेक दिन शिक्षक जाने गरेका छन् । त्यसवरिपरिका विद्यार्थी कक्षाका लागि आउने गरेका छन् । टोलटोलमा सञ्चान हुने कक्षामा माथिल्लो र तल्लो तहका विद्यार्थीलाई छुट्टाछुट्टै राख्ने गरिएको छ ।

राष्ट्रिय मावि कविलासको टोल शिक्षा कार्यक्रम अन्तरगत ठाँटिभञ्ज्याङ, छापथोक, पाठकथोक र पिपलडाँडामा कक्षा सञ्चालन भईसकेको छ । राष्ट्रिय माविले शिक्षकलाई टोलमै पठाएर पढाउन थालेको हो । गत चैतको पहिलो साता वार्षिक परीक्षा सम्पन्न भएसँगै विद्यालय बन्द छन् । सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरिए पनि ग्रामीण भेगमा इन्टरनेट सुविधा छैन ।

२५ असार २०७७, बिहीबार १२:४६



तपाईको प्रतिक्रिया