पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना अन्तिम चरणमा

विदुर । विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्नको लागि इन्द्रायणी चौरमा स्थलगत निरिक्षण तथा छलफल भएको छ । एक टोलीले स्थलगत निरिक्षण गर्नुका साथै छलफल गरी निर्णय गरेको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा प्रदेश सांसद हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तमाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिताकुमारी दाहाल, प्रहरी उपरिक्षक अविनारायण काफ्ले, विदुर नगरपालिका वडा नंं. १ नं. अध्यक्ष लेनिन रञ्जित, संघीय सरकार शिक्षामन्त्रीका सचिवालयबाट विनोद न्यौपाने, सिटिईभिटिका इञ्जिनियरिङ कोअर्डिनेटर गुणानन्द झा, सिटिईभिटिका निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री लगायतको टोलीले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण तथा सञ्चालानार्थ इन्द्रायणीचौरमा स्थलगत निरिक्षण गरेका हुन् ।

चालू शैक्षिक सत्रबाट केही विषयको अध्ययन सुरु गर्नको लागि कक्षा कोठा कार्यशाला ल्याब लगायतको आर्थिक तथा अन्य व्यवस्थापन समन्वयको लागि पहल गर्ने निर्णय भएको विखुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिएका छन् । थप बजेटको लागि प्रदेश मन्त्रीहरु र संघीय मन्त्रीहरुलाई अनुरोध गर्ने र तत्काल डिपिआर तयार गरी बजेटका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवश्यक पहल गर्ने निर्णय भएको छ ।

६० जिल्लाभन्दा धेरै जिल्लामा सिटिईभिटिको आंगिक शिक्षालय खुल्दा पनि हालसम्म नुवाकोटमा स्थापना हुन सकेको थिएन । नगरप्रमुख पण्डितको तयारी, लगाब र राजनैतिक दलको साथ सरोकारवालाहरुको चासो चिन्ता देखेर सिटिईभिटिबाट अनुगमनमा गएको टोली सकारात्मक भएर फर्किएको बताए ।

लामो समयदेखि संघीय सांसदहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवड़ा, नेकपा केन्द्रीय सदस्य बिमला सुवेदी सामाजिक विकास मन्त्री यूवराज दुलाल, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हिरानाथ खतिवड़ा प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेश सांसदहरु केशवराज पाण्डे, बद्री मैनाली, आशा तामाङ लगायत पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालय खोल्नको लागि लामो समयदेखि लागि परिरहेका छन् । नेपाल सरकारले विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ ।

९ भाद्र २०७७, मंगलवार १२:५८



तपाईको प्रतिक्रिया