नुवाकोटसित भावनात्मक सम्वन्ध छ : शिक्षा मन्त्री

कल्याणीदेवीका अनिल दाहाल प्रथम

विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नुवाकोट जिल्लासित आफ्नो भावनात्मक सम्वन्ध रहेको बताएका छन् । २०७२ सालको भुकम्पपछि भत्किएका सरकारी विद्यालयका भवन बनाउँदै नुवाकोटको कुनाकाप्चा चाहारेको स्मरण गर्दै मन्त्री पोखरेलले विपतको बेलामा नुवाकोटमा आफुले गर्न पाएको योगदानको स्मरण गरे ।

आज नुवाकोटमा आयोजित अनलाईन संस्करणको वत्तृत्वकला प्रतियेगिताको प्रमुख अतिथि तथा प्रमुखवक्ता मन्त्री पोखरेलले नुवाकोटसित यसरी ‘आफ्नै सम्बन्ध’ रहनुमा स्वर्गिय पोष्टबहादुर बोगटीसंगको सम्वन्ध रहेको पनि बताए । ‘मेरो पार्टीले भुकम्पको पुननिर्माणको बेलामा स्कुलको भवन बनाउन मलाई नुवाकोट पठाएको थियो,’ मन्त्री पोखरेलले भने– मेरो नेतृत्वमा त्यस बेला थुप्रै विद्यालयमा अस्थायी कक्षाकोठा तयार भएका थिए ।’

मन्त्री पोखरेल

नुवाकोटले चाहदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग जुनसुकै समयमा अन्तरक्रिया गर्न र आफुसंग जोडिन सक्ने उनले बताएका छन् । शिक्षा मन्त्रालयबाटै ‘जुम’मा जोडिएका उनले जिल्लाबासीहरुलाई सम्वोधन गर्दै नोबेल कोरोना भाइरससंगै जिउने दैनिकी विकास गर्न आग्रह गरेका छन् । विश्वविद्यालय, शिक्षालयहरु बन्द भएपनि शिक्षा दिने र लिने क्रम भने बन्द नहुने पनि उनले बताए । परम्परागत शिक्षा भन्दा पनि बैकल्पिक र दुर शिक्षालाई अब मुख्य बनाएर जानु पर्ने उनको धारणा छ । त्यसका लागि तीन तहकै सरकारको भूमिकाहरुलाई प्रष्ट पार्दै जाने गरी तयारी थालिएको उनले सुनाएका छन् । नगरपालिका र गाउँपालिकाहरुलाई अनौपचारिक शिक्षा र दुरशिक्षामा आफ्नो कार्यक्रम तयार गर्न पनि उनले निर्देशन दिएका छन् । साथै एफएम रेडियो तथा टेलिभिजनलाई शिक्षामा प्रयोग गर्नु अहिलेको आवश्यकता रहेको उनले सुनाए ।

अझै दुई वर्षसम्म कोभिड–१९ को त्रास रहने भएकोले परम्परागत शिक्षा प्रणाली प्रभावित हुने उनको अनुमान छ । विद्यालयहरु अन्तिममा मात्रै खुल्ने भएकाले पनि दुई वर्षसम्म पढाईलाई दुर शिक्षामा रुपान्तरण गर्नु आवश्यक रहेको उनले बताएका छन् । बैकल्पिक शिक्षाका रुपमा उनी सहभागि कार्यक्रमलाई उदाहरण दिँदै यसै गरी इन्टरनेटको माध्मबाट पढाइई गर्नका लागि संरचना तयार गर्नु आवश्यक रहेको सुनाए । ‘यसमा २० प्रतिशत विद्यार्थीहरु नसमेटिने प्रतिवेदन आएको छ, उनीहरुलाई रेडियोबाट सञ्चालन हुने दुरशिक्षाबाट पढाईनु पर्छ’, मन्त्री पोखरेलले भने– ‘त्यसमा इन्टरनेटमा पहुँच भएका विद्यार्थीहरु पनि सहभागि हुनेछन् ।’

मन्त्री पोखरेल

सोही कार्यक्रममा बोल्ने क्रममा नुवाकोटबाट निर्वाचित संघीय सांसद् हितबहादुर तामाङले घरलाई नै शिक्षालयको रुपमा विकास गर्नु आवश्यक रहेको बताएका छन् । अभिभावक, शिक्षक र जनप्रतिनिधिहरुले सहयोग गर्ने र घर घरलाई नै शिक्षालयका रुपमा विकास गर्नु नै उत्तम रहेको उनको भनाई छ । सो कार्यक्रममा सम्वोधन गर्दै परम्परागत र शिक्षा मन्त्रालयले भनिआएको विषय र प्रणाली मात्रै लागू गर्नुपर्छ भन्ने नभएको उनले बताए । स्थानीय सरकारले आफु अनुकुल र प्रभावकारी हुने गरी घरघरलाई स्कुल बनाउका लागि आवश्यक भूमिका खेल्न सांसद तामाङले अनुरोध गरेका छन् । उनले दुर शिक्षा, बैकल्पिक शिक्षा र अनौपचारिक शिक्षाबाट विद्यार्थीहरुको बाँकी रहेको समय सदुपयोग गर्नु पर्ने बताए । झण्डै आधा शैक्षिक सत्र सकिन लाग्दा पनि देखिएको अलमलले विद्यार्थीहरुको समय खेर जाने तर्फ उनले चिन्ता व्यक्त गरेका छन् । ‘यो वा त्यो बहानामा नानीबाबुहरुको सयम खेर फाल्नु हुँदैन, कुनै पनि हालतमा समयको सदुपयोग हुनै पर्छ’, सांसद तामाङले भने– ‘यसका लागि स्थानीय सरकारहरु आफै लाग्नुस्, संघीय सरकार र शिक्षा मन्त्रालयले पनि यसमा सहजिकरण गर्नु पर्छ, हामी यसमा लाग्छौं ।’

सांसद तामाङ

सांसद हितबहादुर तामाङले राहत शिक्षकहरुको पक्षमा सहयोग गर्नका लागि स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् । संघीय शिक्षा मन्त्रालयले राहत शिक्षकहरुलाई समायोजनको क्रममा समस्या सम्वोधन गर्ने भनिएको बेलामा समायोजनका क्रममा स्थानीय सरकारले आफ्नै अनुकुलतामा सरुवा गरेर समस्या भएको तामाङले बताएका छन् । शिक्षकहरुबाट यसरी गुनासो आएकोले शिक्षकको पक्षमा काम गर्न र उनीहरुको गुनासोलाई गम्भिर रुपमा ग्रहण गर्न ध्यानाकर्षण गराएका छन् । ‘उहाँहरुको अनुकुल नहुने गरी र मर्का पर्ने गरी सरुवा नगरिदिनुहोला, गुनासोहरु धेरै आएका छन्’, सांसद तामाङले भने– ‘तपाईहरु गाउँपालिका, नगरपालिकाका प्रमुखहरु यो कार्यक्रममा सहभागि भएकोले यहीबाट आग्रह गरेको छु, उहाँहरुलाई शिक्षा मन्त्रालयले सम्वोधन गर्ने भनिरहेको बेलामा तपाईहरुले आफुु अनुकुल उहाँहरुको सरुवा गर्ने, मर्का पार्ने वा अन्य खाले निर्णय नगर्नुस् ।’

सांसद तामाङ

कल्याणीदेवीका अनिल दाहाल प्रथम

विदुर । नुवाकोट जिल्ला अन्तरपालिका मावि स्तरिय बत्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका जिलिङ्गका अनिल दाहाल प्रथम भएका छन् । उनी कल्याणीदेवी मावि जिलिङ्गबाट सहभागि भएका थिए ।अनलाईन विधिमार्फत् सञ्चालन भएको प्रतियोगितामा नुवाकोटमा यस अघि सञ्चालन भएको प्रतियोगिताबाट छानिएका १२ जना प्रतिस्पर्धी सहभागी थिए ।

१२ वटै स्थानीय तहमा यस अघि आयोजित वत्तृत्वकलामा उत्कृष्ठ भएका एक-एक जनालाई आज आयोजकले जिल्ला स्तरिय प्रतियोगितामा सहभागि गराएको हो । प्रतियोगिताको दोश्रोमा लिखु गाउँपालिकाको नारायणदेवी माविका दिवस ढकाल भएका छन् । त्यस्तै विदुर नगरपालिका शैलेन्द्र रिमाल तेश्रो भएका छन् । उनी रणभुवनेश्वरी माविबाट सहभागि भएका हुन् । सहभागिहरुलाई बेल्ने समय ५-५ मिनेट दिइएको थियो । उनीहरु ‘बैकल्पिक शिक्षा सिकाईमा स्थानीय सरकारको भूमिका’ विषयमा बोलेका थिए ।

प्रथम भएका अनिल दाहालको वत्तृत्वकला

यस वर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा पुस्तकालय दिवसको अवसर पारेर ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक)ले अनलाईन वत्तृत्वकला प्रतियोगिता गरेको हो । आज ५४ औं अन्तराष्ट्रिय साक्षरता दिवस हो ।

आयोजक संस्था रुडकेका संस्थाका अध्यक्ष मीनकुमार केसीका अनुसार प्रतियोगिताका पहिलोलाई ल्यापटप र प्रमाणपत्र, दोश्रोलाई ट्याब्लेट र प्रमाण पत्र र तेश्रोलाई एन्ड्रोइड मोवाइल र प्रमाणपत्र प्रदान गरिने छ । अब तत्कालै उनीहरुलाई पुरस्कार वितरण गरिने उनले बताएका छन् ।

विद्यार्थीहरुको क्षमता विकास र सृजनशिलतालाई निख्खार ल्याउन सघाउने आयोजकको अपेक्षा पुरा भएको बतायएको छ संस्थाका अध्यक्ष केसीका अनुसार बन्दाबन्दीका कराण बन्द रहेको विद्यालयका कारण स्कुल उमेरका केटाकेटीहरुमा निराशा बढि देखिएको छ । उनीहरुलाई यस्ता रचनात्मक कार्यमा सहभागि गराउदा मनोसामाजिक मद्दत हुने पुगेको छ ।

मन्त्रिदेखि विद्यार्थीसम्म


विदुर । ‘जुम’सफ्टवयर प्रयोग गरेर आयोजना गरिएको प्रतियोगिता झण्डै ६ घण्टा चलेको थियो । विहान १०ः३० बाट करिव ५ः३० बजेसम्म प्रतियेगिता आयोजना भयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, बेलकोगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, पञ्चकन्या, तादी, दुप्चेश्वर, तारकेश्वर लगायतका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु सहभागि थिए ।

त्यस्तै, शिक्षाविद् शशी पन्थी, चर्चित सञ्चारकर्मी सविना कार्की, प्रखरवक्ता रमेश प्रसाईं, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो । झण्डै एक सय जनाको कार्यक्रममा सहभागिता थियो । ‘यो विल्कुलै नयाँ प्रयास हो कार्यक्रमका लागि, प्रभावकारी हुँदो रहेछ’, आयोजक संस्थाका अध्यक्ष मीनकुमार केसीले भने ।

२३ भाद्र २०७७, मंगलवार १८:२५



तपाईको प्रतिक्रिया