तामाङ भाषामा पठनपाठन हुने

विदुर । बागमती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् ।

कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् ।

घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । घेदुङले बागमती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता गरेको उहाँले जानकरी दिए । उनका अनुसार कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भइरहेको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको उनले बताए ।

तामाङ भाषाको चारवटा भाषिका अर्थात् क्लस्टर छुट्याएर त्यसै अनुसार पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर बनाइएको छ । त्यस्तै, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।

तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।

वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९.५ मा शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने उल्लेख छ । तथ्यांक अनुसार देशभरिमा तामाङ जातिको जनसंख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कूल जनसंख्याको ७४.८ प्रतिशत बागमती प्रदेशमा बसोबास रहेको छ । यो संख्या १० लाख १२ हजार ९ सय हो ।

१३ आश्विन २०७७, मंगलवार ११:०४



तपाईको प्रतिक्रिया