जोखिममा २० लाख, विद्यालयको पैसा २४ प्रतिशत ब्याजमा

विद्यालयले तयार गरेको रकम तिर्न बाँकी ऋणीहरूको सूची सहितको विवरणमा मेयर राजेन्द्ररमण खनालले तिरेपछिको बाँकी रहेकाहरूको सूची


विदुर । बेलकोगढी नगरपालिका वडा नं. १२ मदापुर स्थित भृकुटी माविको ऋण लगानी सावा ब्याज सहित उठ्न थालेको छ । झण्डै १० वर्षदेखि साँवा ब्याज नै रोकिएको विद्यालयको रकम उठ्न थालेको हो । प्रधानाध्यापक जगतबहादुर थापाका अनुसार बेलकोगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले तीन लाख ५५ हजार पाँच सय रुपैयाँ विद्यालयलाई बुझाएका छन् । मेयर खनालले विद्यालयसंग लिएको ऋण र ब्याजको बाँकी रकम कात्तिक २३ मा बुझाएका हुन् ।

अब विद्यालयका ऋणी सोही वडाका अध्यक्ष डिल्लीराम सिलवालसमेत १० जनाले ऋण तिर्न बाँकी छ । अब उनीहरूबाट विद्यालयले झण्डै २० लाख रुपैयाँ उठाउनु पर्ने छ । उनीहरूलाई यही मंसिर मसान्तसम्ममा आफ्नो साँवा ब्याज भुक्तान गर्न विद्यालयले पत्राचार गरेको छ । मंसिर मसान्तसम्म तिर्न आउनेलाई गएको साउनदेखि यताको ब्याज नलाग्ने र नतिरेमा कानून अनुसार असुल उपर गर्ने विद्यालयले चेतावनी दिएको छ । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका वडाअध्यक्ष सिलवालले कात्तिक २० गतेको बैठकमा आफ्ले यो प्रस्ताव राखेको र बाँकी रहेकाहरूसंग यो मसान्तसम्म असुलउपर गर्ने बताए । ‘यो धेरै वर्ष पहिलादेखिको ऋण र ब्याजको बक्यौता हो, म सहितका १० जनाले स्कुललाई तिर्न बाँकी छौं, म पनि तिर्नु र बाँकी रहेकाहरूसंग पनि रकम उठान म आफै घरघरमा जाँदैछु’ वडा अध्यक्ष सिलवालले भने ।

विद्यालयसंग ऋण लिएका मध्ये गएको असार मसान्तसम्म ११ जनाले ४२ महिना यता व्याज समेत जम्मा गरेका थिएनन् । साढे तीन वर्षको बीचमा ब्याज नआउदा विद्यालय सञ्चालनमा समस्या हुन थालेपछि व्यवस्थापन समिति, शिक्षक र सचेत स्थानीयहरूले रकम उठाउने अभियान सुरु गरेका थिए । अभिभावक डिलबहादुर पुडासैनीले ३२ जेठ, २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विद्यालयको करम हिनामिना भएको र स्कुलले बैंकिङ्ग कारोवार गरेको विषयमा उजुरी समेत दिएका छन् ।

अभिभावक डिलबहादुर पुडासैनीले अख्तियारमा दायर गरेको निवेदन

उनैले ऋणी र उनीहरूले विद्यालयमा तिर्नुपर्ने रकमको अनुमानित हिसाव सहित अख्तियारमा उजुरी दिएपछि सरोकारवालाहरूमा तातो लागेको हो । उनले २० लाख १५ हजार रुपैयाँ भन्दा बढी रकम विद्यालयको हिनामिना भएको र रकम नतिर्नेहरूको सूची नै तयार गरेर सार्वजनिक गरेपछि यस विषयको खोजी र बहश सुरु भएको हो ।

गएको साउनदेखि यता विद्यालयले रकम तिर्नेहरूको सूची बनाएर वडा कार्यालयमा पत्राचार गर्ने देखि ऋणीहरूको घरघरमा पत्र पठाउदै आएको छ । रकम तिर्नुपर्नेमा नगरपालिकाका मेयर, वडा अध्यक्ष देखिका ऋणीहरू भएपछि नरम देखिएको विद्यालयलाई मेयरको रकम फिर्ता आएपछि रकम असुली गर्नका लागि आँट जुटेको छ ।

‘विद्यालयका लागि अभिभावकले जम्मा गरेको झण्डै २३ लाख रुपैयाँ उठ्न बाँकी देखिएको छ, त्यो हामी यो महिना जसरी पनि उठाउने छौं’ प्रधानाध्यापक जगतबहादुर थापामगरले भने । उनका अनुसार १० वर्ष अघि थुप्रै अभिभावकलाई विद्यालयले ऋण लगानी गरेको थियो । ११ जनाको मात्रै लामो समयदेखि अड्किदै आएको थियो । मेयर खनालले नै रकम फिर्ता गरेपछि रकम उठाउने बाटो सजिलो भएको बताइएको छ ।

‘म प्रअ बन्नु भन्दा पहिला स्कुलसंग १ लाख ऋण लिएको थिएँ, त्यसको साँवा ब्याज म प्रअ बन्नुभन्दा पहिल्यै चुक्ता गरेँ’, थापामगरले भने– ‘हामी तीन जना शिक्षकले लिएको ऋण समयमै तलवबाट काट्दै भुक्तान गर्यौ, अन्य ऋण अभिभावकमा पनि यो समस्या देखिएको थिएन ।’ विद्यालयले २०६५ सालदेखि अभिभावकलाई ऋण लगानी गर्न थालेको हो । थापामगर २०६७ सालदेखि हालसम्म विद्यालयको प्रधानाध्यापक छन् ।

यसरी साँवा ब्याज सहित विद्यालयमा रकम भुक्तान नगर्नेहरूको गएको असार मसान्तसम्मको सूची तयार गरि प्रधानाध्यपकले वडा कार्यालयमा पत्राचार गरेका थिए । त्यसमध्ये नौं वर्ष आठ महिनादेखि ब्याज समेत नतिर्नेको पनि नाम छ । २४ प्रतिशत ब्याजदरमा ऋण थापेका केहीको साँवा भन्दा ब्याज माथि पुगेको छ । बासुदेव अधिकारी, भरतप्रसाद सिलवाल र बिष्णुप्रसाद सिलवालको साँवा भन्दा ब्याज बढि देखिएको छ ।

विद्यालय व्यवस्थापन समितिले पुस १ गते नै अभिभावक भेलाको तयारी गरेको छ । विद्यालयको रकमको विषयमा भएको चासो र चर्चाको विषयमा अभिभावकहरूलाई वास्तविकता सुनाउन र भावी योजना तय गर्नका लागि भेला राखिएको बताइएको छ ।

अब उठ्ने रकम के हुन्छ ?

अभिभावक डिलबहादुर पुडासैनीले जेठ मसान्तमा तयार गरेको भृकुटी माविको उठन बाँकी साँवा ब्याजको अनुमानित विवरण

विदुर । अभिभावकलाई लगानी गर्दा फसेको भृकुटी माविको रकम अब फिर्ता भएपछि लगानी नगर्ने मनस्थितिमा प्रअ जगतबहादुर थापामगर छन् ।

रकम जम्मा भएपछि बैंकको मुद्दती खातामा राखेर ब्याज चलाउने सोच रहेको उनले बताए । ‘कुनै ‘क’ वर्गको बैंकमा लगेर अब रकम जम्मा गरिने छ’, प्रअ थापामगरले भने– ‘त्यही ब्याजबाट शिक्षकलाई तलव खुवाउने योजनामा छु ।’ वडा अध्यक्ष डिल्लीराम सिलवाल समेत विद्यालयको रकम हिजोको आवश्यकताको आधारमा यसरी समुदायमा गरिएको लगानी अब रोकिने बताएका छन् । शिक्षकलाई तलव खुवाउँदा २ वर्षमै रकम सकिने भएपछि ब्याजमा लगाएर त्यसबाट तलव खुवाउदै आएको र अब विद्यालयको अवस्था सुधार भएकोले त्यसो नगर्ने उनले प्रतिक्रृया दिए ।

भृकुटी माविमा अहिले १४ जना शिक्षक छन् । ३ वटा मावि दरवन्दी छ । मावि दरवन्दी नभएको समयमा कक्षा १० सम्म सञ्चालन गर्दा यो कार्यक्रम सुरुभएको र अब नियन्त्रण हुने प्रअ थापामगरले बताए । अब विद्यालयलाई २ जना शिक्षक निजी श्रोतबाट राख्नु पर्ने र विद्यालयले अब उठाउने रकमको बैंकको ब्याजले पुग्ने हिसाव विद्यालयले गरेको छ ।

१२ वर्ष अघि (२०६५ सालमा) तत्कालिन अवस्थामा विद्यालयको स्तरउन्नती गर्नका लागि अभिभावकहरूले चन्दा संकलन गरेका थिए । देउसी भैलोबाट जम्मा भएको धानचामल बेचेर जम्मा गरेको रकमले निजी श्रोतमा शिक्षक राख्ने र कक्षा १० सम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

बेलकोगढी नगरपालिकाका हालका मेयर राजेन्द्ररमण खनाल त्यस बेला विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थिए । उनैको परिकल्पनामा जम्मा भएको रकम अभिभावकलाई ब्याजमा लगाउने र त्यसबाट शिक्षक पाल्न थालिएको थियो ।

२४ प्रतिशत ब्याजदरमा त्यसबेला अभिभावकले हालालुछ गरेर विद्यालयको रकम ऋण थापे । केही वर्ष नियमित ब्याज जम्मा हुँदै आएकोमा २०७२ सालको भुकम्पपछि ब्याज जम्मा हुने र भाका नाघिसकको ऋणको नविकरण समेत रोकिएको हो ।

२२ मंसिर २०७७, सोमबार १२:२८



तपाईको प्रतिक्रिया