विद्यालय चलाउन बेकरी उद्योग स्थापना

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका स्थित घलेभञ्ज्याङमा सामुदायिक स्तरबाट बेकरी उत्पादन सुरु भएको छ । सप्तकन्या सामुदायिक बेकरी उद्योगले आफ्नो उत्पादन थालेको हो ।

सप्तकन्या नमुना आधारभुत बिद्यालयको शैक्षिक सुधार तथा विकासको लागि स्थानीय अभिभाबकहरूद्धारा यो उद्योग सुरु भएको बताइएको छ । गएको हप्ता पञ्चकन्या सामुदायिक बेकरी उद्योगको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन गरेका छन् । त्यस अवसरमा अध्यक्ष तामाङले कोरोनाको असरलाई अबसरका रुपमा उपयोग गर्न स्थानीय नागरिकहरूको प्रत्यक्ष संलग्नता गराई उत्पादनमुलक कार्यलाई गाउँपालिकाले प्राथमिकता दिइरहेको बताए । स्थानीय स्तरमा नमुना कार्यक्रमको रुपमा स्थानीय युवाहरूलाई संलग्नता गराई आय आर्जन तर्फ आकर्षण गराउन खोजिएको गाउँपालिकाका अध्यक्ष तामाङको भनाई छ ।

गाउँपालिका र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा युनडिपी नेपालद्धारा स्थानीय साझेदार संस्था रुडेक नेपालको करिव ६ लाख ५० हजार रुपैयाँ र बेकरी उद्योग उपभोक्ता समितिको १ लाख रुपैयाँ लगानीमा उक्त उद्योग स्थापना गरिएको हो ।

उक्त उद्योगमा ३ जना युवाले काम पाएका छन् । सामुदायिक कोष प्रर्बद्धनका लागि सञ्चालन हुने यस उद्योगले लागत पछि मुनाफालाई सप्तकन्या बिद्यालयको शैक्षिक कोषमा जम्मा गर्ने र उक्त कोष मार्फत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्ने लक्ष्य रहेको छ ।

सप्तकन्या बेकरी उत्पादन परियोजना उपभोक्ता समिति मार्फत कार्यान्वयनमा आएको यस उद्योग सञ्चालक समितिका अध्यक्ष छिरिङ तामाङले बताए । पञ्चकन्याका २८ वटा सामुदायिक बिद्यालयको बिद्यार्थीलाई दिवा खाजाको रुपमा बेकरीका परिकारहरू उपलव्ध गराउने उनले बताए ।

२९ मंसिर २०७७, सोमबार ११:०७



तपाईको प्रतिक्रिया