माहामारीको समयमा वैकल्पिक सिकाइका समस्याहरु र समाधानका उपायहरु

लाग्थ्यो हामी उत्तर आधुनिक युगमा छौं, विज्ञानको चमत्कारले कुनै व्याधिले अवरोध गर्ने छैन वा मानव नै सृष्टिको एक्लो शक्ति हो, जुन कुनै विषाणु वा जीवाणूले थुन्ने छैन । तर प्रकृतीसंग मानिसको के लाग्थ्यो र ? विकासको प्रभावले उन्मत्त मानव जगत्मा यस्तो अवस्था पनि आयो की कुनै आधुनिक अस्त्रलाई असफल बनाउने जीवाशेष विषाणुले कुनै बन्द ठाँउमा मान्छे एक्लो रुपमा आफुले आफैंलालाई थुन्ने अवस्थामा पु¥यायो । इतिहासमा यस्तो थियो जहाँ माहामारीबाट करोडौं प्रभावित भएको र कैयौंको ज्यान लिएको थियो भने त्यसबाट पुरा विश्वनै आक्रान्त पारेको थियो । त्यस्तै माहामारीको स्वरुप आफूलाई प्रकृती माथि विजय प्राप्त भईसकेको भन्ने ठान्ने एक्काइसौं शताब्दीका मानव सभ्यतामा कोरोनाको रुपमा प्रकट भयो । चिनको वुहान शहरमा २०१९ डिसेम्बर अन्त्य तिर देखिएको पहिलो केस विस्तारै इटाली, अमेरिका हुँदै पुरै विश्व मंै फैलियो । स्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर गर्ने यो भाइरसका कारण करौडौ मानिस प्रत्यक्ष प्रभावित भए नैं लाखौंको संख्यामा मानिसको ज्यान पनि गएको छ । मानव स्वास्थ्य संकटको रुपमा देखिएको माहामारीले पटक–पटक आफ्नो स्वरुप परिवर्तन गर्दा अझै पनि संकट मोचन नभइसकेको देखिन्छ । स्वस्थ्य प्रभावका कारण ठप्प विश्वमा स्वास्थ्य मात्र नभई विश्वको आर्थिक गतिविधीलाई ठप्प नै पारिदियो । हरेक क्षेत्र स्वभाविक रुपमा चल्न सकेनन् ।

यस माहामारीबाट विश्वको अधिकांश देश प्रभावित भइरहँदा नेपाल पनि अछुतो रहेन । पहिलो संक्रमणमा बिस्तारै कोरोना बढ्दै जाँदा २०७६ चैत्र ११ देखि देशव्यापी बन्दाबन्दी र स्थानीय रुपमा निषेधाज्ञा लगायत कफ्र्युसम्म लगाउनु पर्ने स्थिति आयो । भदौ देखि केही सामान्य भएकोमा मंसिर देखि बन्दाबन्दी पूर्ण रुपमा हटी जनजीवन सामान्य बन्दै गएकोमा फेरि अर्को स्वरुपको संक्रमण पुनः बढी भयावह बन्दै जाँदा २०७८ बैशाख देखि पुनः निषेधाज्ञा र बन्दाबन्दी गर्नु पर्ने स्थिति आइप¥यो । कोरोनाको यो महाव्याधी सजिलै वा छिट्टै बिश्वबाट निर्मुल हुने सम्भावना नरहँदा यसले हरेक क्षेत्रमा साविकमा रहेको गतिविधीलाई विकल्प तर्फ धकेलेको छ । र यो अवस्था शिक्षा क्षेत्रमा पनि टड्कारो रुपमा देखियो । प्रत्यक्ष शिक्षक–विद्यार्थीको साक्षात्कारबाट सम्पन्न भईरहेको शिक्षा व्यवस्था यो माहामारीका कारण वैकल्पिक माध्यममा जानु पर्ने बाध्यता बन्दा अझै पनि नेपालका ग्रामीण भेगका विद्यालयले प्रभावकारी रुपमा अबलम्बन गर्न सकेका छैनन् । ग्रामिण क्षेत्रको विद्यालय, भौगोलिक विकटता र विषमता, शिक्षित अभिभावक, प्रविधिमा दक्षता नभएका शिक्षक र नेटवर्किङ सहज पहुँचको अभाव आदि कारणले हाम्रो विद्यालयले पनि प्रभावकारी वैकल्पिक सिकाइ व्यवस्था गर्न सकेको छैन । केही सुरु गरे पनि विद्यार्थी सहभागीता न्युन हुनु, अभिभावकमा ज्ञानको कमी र शिक्षकमा प्राविधिक ज्ञानको अभावले यो प्रणाली प्रभाकारी नभएको हो की भन्ने आँकलन गरी विद्यालयको समग्र वैकल्पिक शिक्षामा भएको समस्या पहिचान तथा उपयुक्त समाधानको उपाय पत्ता लगाउने हेतुले सिमित श्रोत साधन तथा शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा यो अनुसन्धान गरिएको छ ।

ऐसेलु भूमे मावि नेपाल सरकारको नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत २०७४/७५ सालमा छनौट भई विकास हुँदै गएको अवस्थामा शैक्षिक क्षेत्रमा आएको यो विषम् परिस्थितीले विद्यार्थी सिकाइमा मात्र नभई विद्यालयको हरेक पक्षमा प्रभाव परिरहेको छ । विद्यालयमा हुने हरेक शैक्षिक गतिविधी ठप्प हुँदा यसले निकट भविष्यमा प्राप्त गर्न सक्ने विभिन्न उपलब्धीमा पनि प्रभाव पार्ने नै छ । २०७६ सालमा कक्षा १० को परिक्षा स्थगित हुनु, शैक्षिकसत्र अस्तव्यस्त हुँदा बल्ल मंसिर १३ गतेबाट सुरु भएको प्रत्यक्ष सिकाइ झन् अर्को स्वरुपमा आएको कोरोना माहामारीले फेरि २०७८ बैशाखदेखि ठप्प पारेकोले वैकल्पिक सिकाइबाट विद्यार्थी सिकाइ निरन्तरता दिनुको अर्को विकल्प नभएको र पहिलो बन्दाबन्दीमा केही प्रयास भएको वैकल्पिक सिकाइ खासै प्रभावकारी नभएको र अब सुरु गर्ने सिकाइमा भौगोलिक विकटता र नेटवर्कमा पछौटे भएपनि त्यस्तो समस्या नपरोस् र सबैको तत्परतामा प्रभावकारी सिकाई सञ्चालन गर्नका लागि यो अध्ययन गरिएको छ ।

समस्याको पहिचान/कथन :

यस विद्यालय ऐसेलु भूमे माविमा कोरोना माहामारी अवधिमा सरकारले जारी गरेको बन्दाबन्दी र सोको प्रभावले भएको विद्यालय बन्दका कारण प्रत्यक्ष सिकाइ अवरुद्ध हुँदा वैकल्पिक सिकाइ सञ्चालान गर्नु र सञ्चालन भएको वैकल्पिक सिकाइ पनि प्रभावकारी तरिकाले चल्न नसक्नु नै मुख्य समस्या हो । विद्यालयको अवस्थिती भौगोलिक विकटता, छरिएर रहेका विद्यार्थी आाधार र अधिकांश शिक्षक विद्यालय क्षेत्र भन्दा टाढा भएको, सबैमा इन्टरनेट, मोबाइल लगायत प्रविधिका साधनको अभाव भएको तथा प्राविधिक सीपको अभाव पनि यस समस्यासंगै जोडिएर आएका समस्याहरु हुन् । बाल विकास देखि कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा करिब ८५० विद्यार्थी अध्ययनरत रहेका र ग्रामिण परिवेशमा भएको, न्युन आयस्तरका विद्यार्थीको बाहुल्यता पनि यस विद्यालयमा वैकल्पिक सिकाइ प्रभावकारी हुन नसक्नुको प्रमुख समस्या हो । तहगत शिक्षकको अभाव, शिक्षकमा प्राविधिक ज्ञानको कमी, नयाँ विषयवस्तु आदि पनि यसका कारण हुन् । आमसञ्चारको सर्वसुलभता नभएर पनि खास वैकल्पिक शिक्षा सञ्चालन नभएको हो । शिक्षकले अभिभावकलाई र अभिभावकले शिक्षकलाई दोष दिने तर आफ्नो कर्तव्यबाट विमुख हुने परिपाटीले पनि प्रभावकारी वैकल्पिक सिकाइ हुन नसकेको हो । यी आदि समस्या आउनुको कारण के–के हुन् ? यि समस्या समाधानका उपायहरु के–के हुन सक्छन् ? भनी विद्यालयसंग महत्वपूर्ण सम्बन्ध रहेका विद्यार्थी, शिक्षक र अभिभावकसंग प्रत्यक्ष कुराकानी र अवलोकनबाट अध्ययन गर्ने प्रयास गरिएको छ । त्यसैले हालको अवस्थामा प्रभावकारी वैकल्पिक सिकाइ गर्न सके मात्र माहामारीको अवस्थामा पनि विद्याार्थी सिकाइ निरन्तरता दिन सकिने भएकोले अहिले टड्कारो रहेको ‘माहामारीको समयमा वैकल्पिक सिकाइका समस्याहरु र समाधानका उपायहरु’ भन्ने शिर्षकमा विद्यालयको तर्फबाट कार्यमूलक अनुसन्धान गर्न समस्याको पहिचान गरिएको हो ।

३. अनुसन्धानको उद्देश्य :

यस विद्यालयले माहामारीको समयमा सञ्चालन गरिएको वैकल्पिक सिकाइका समस्या पहिचान, समाधानका उपाय र अब गर्न सकिने वैकल्पिक सिकाइको उपयुक्त विधिको छनौट र प्रभावकारी सञ्चालनका लागि ‘माहामारीको समयमा वैकल्पिक सिकाइका समस्याहरु र समाधानका उपायहरु’ भन्ने शिर्षक छनौट गरी गरिने अध्ययनका निम्न उद्देश्यहरु निर्धारण गरिएको छ ।
क. विद्यालयमा सुरु भएको वैकल्पिक सिकाईका समस्याहरु पहिचान गर्नु ।
ख. पहिचान भएका समस्याहरुको उपयुक्त समाधान खोज्नु ।
ग. विद्यालयको भूगोल, विद्यार्थीको अवस्था र शिक्षकमा अन्र्तनीहित सीप अनुसारको उपयुक्त वैकल्पिक सिकाइ विधि पहिचान र अवलम्बन गर्नु ।

४. अनुसन्धानको औचित्य :

विद्यालयका हरेक गतिविधिमा समस्याहरु आई पर्छन्, शिक्षणको क्रममा होस् वा अन्य गतिविधीहरुमा । तर गत वर्ष देखि देखिएको विश्वव्यापी स्वास्थ्य संकटका कारण शैक्षिक गतिविधि पूर्ण रुपमा ठप्प हुने समस्या आइप-यो । सबै तिर अन्यौल छायो के गर्ने भनेर । हरेक कुरामा समस्या भए पनि त्यसको वैकल्पिक समाधान पनि हुने र साविकको गतिविधी सम्भव नभए पछि वैकल्पिक माध्यमबाट कार्य सम्पन्न गर्नु पर्ने हुन्छ । सोही कारण शिक्षामा पनि वैकल्पिक गतिविधी सञ्चालन गर्नु पर्ने बाध्यता रह्यो । विद्यालयले पनि वैकल्पिक विधिका रुपमा अनलाइन शिक्षण सिकाइलाई निरन्तरता दिने प्रयास गरेको र त्यसमा पूर्ण असफल भयो । ४ महिना प्रत्यक्ष पढाइ भए पनि उक्त स्वास्थ्य संकट दोहो¥याई आएको र कहिलेसम्म रहने निश्चित नहुँदा र यस माहामारीबाट बच्न एक्लो बस्नु पर्ने बाध्यता रहँदा सिकाई निरन्तरताको लागि अनिवार्य वैकल्पिक विधि छनौट गरि विद्यार्थी सिकाइ निरन्तरता दिनु पर्ने छ । वैकल्पिक सिकाइ विल्कुल नयाँ विषयवस्तु भएको, सबैमा सर्वसुलभ विधि छनौट गरि कार्यान्वयन गर्नु पर्दा विभिन्न समस्या आईपर्छन् । त्यसको निराकरण गर्नका लागि तत्काल प्रयोग गर्न सकिने कार्यमूलक अनुसन्धान हो । र यस विद्यालयमा पनि वैकल्पिक सिकाइका लागि विभिन्न समस्या रहेको र त्यसको समाधान र विद्यालय सुहाँउदो विकल्प छनौट गरि प्रयोगमा ल्याउन विद्यालयको तर्फबाट कार्यमूलक अनुसन्धान गरिएको छ । यस अध्ययनमा विद्यालयमा रहेका विद्यार्थी, अभिभावक र शिक्षकको प्रत्यक्ष सहभागिता, अन्र्तवार्ता र अवलोकनबाट समाधान खोज्ने प्रयास गरिएको छ ।

५. अध्ययनको परिसीमा :

अध्ययनका लागि छनौट गरिएको शिर्षक जति सानो भए पनि त्यसले बृहत क्षेत्र ओगटेको हुन्छ । छोटो समयमा विद्यालयमा विद्यमान साना देखि ठूला समस्या समाधानका लागि शिक्षक, विद्यालयका सरोकारवालाहरुले समाधान प्राप्तीका लागि कार्यमूलक अध्ययन र अनुसन्धान गर्ने गर्दछन् । अध्ययन छोटो समयमैं पूरा गर्नु पर्ने र त्यसबाट उपयुक्त निकास निकाल्नु पर्ने भएकाले यस कार्यमूलक अध्ययनमा विद्यालयमा सम्बन्धित धेरै क्षेत्र मध्ये ३ क्षेत्र (विद्यार्थी, अभिभावक र शिक्षक)लाई समावेश गरिएको छ । विद्यालयमा करिब ८५० विद्यार्थी र सोही संख्यामा अभिभावक रहेको र २५ जना शिक्षक रहेकोमा विद्यालय सेवा क्षेत्रका आधारमा विभिन्न ४ स्थानलाई भौगोलिक इकाइ छुट्याई उक्त स्थानमा रहेका तहगत सबै कक्षामा अध्ययनरत कम्तीमा १/१ जना विद्यार्थी र तिनीहरुका अभिभावकसँग छुट्टाछुट्टै छलफल, अन्तर्वार्ता र स्थान अवलोकन तथा २५ जना शिक्षकहरुसंग भने अनलाइन माध्यमबाट राय लिइनेछ र सोको आधारमा वैकल्पिक सिकाइका समस्या, र त्यसको समाधान तथा उपयुक्त विधि छनौट गरिनेछ । यस अनुसन्धान छोटो समयमा गर्नु पर्ने भएकोले ४ भौगोलिक इकाइका लागि ४ दिन प्रत्यक इकाइमा विद्यार्थी र अभिभावकसंग छुट्टाछुट्टै समय लिई गरिनेछ, तथा एक दिन शिक्षकहरुसंग र यसमा सम्भव भएका विद्यालय व्यवस्थापन समिति (विव्यस)का सदस्यहरु पनि समावेश गरि जम्मा ५ दिन समय लिइनेछ । विद्यार्थी सेवा क्षेत्र अन्र्तगत छुट्याईएको ४ भौगोलिक इकाइमा पहिलो काहुले क्षेत्र, दोश्रो ताजी क्षेत्र, तेश्रो नुचेत क्षेत्र र चौथो भाल्चे क्षेत्र रहेका छन् । यि क्षेत्रमा बालविकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने कम्तीमा एक/एक जना पर्ने गरि उपलब्ध सबै विद्यार्थी र त्यसपछि सोही विद्यार्थीका अभिभावकसंग छलफल, अन्तर्वार्ता र परामर्श गरिनेछ । यस अध्ययनलाई ३ चरणमा छुट्याइनेछ । पहिलो : विद्यार्थीसंगको छलफल, दोश्रो : अभिभावकसंगको छलफल र तेश्रो : शिक्षक र विव्यससंगको छलफल । यस अध्ययनका लागि २०७८ जेठ २१ देखि २५ सम्मको ५ दिन छुट्याइएको छ । यस अनुसन्धान गर्दा नेपाल सरकारद्वारा जारी जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिनेछ ।

६. कार्यक्रम सञ्चालन :

यस अध्ययनको कार्यक्रम सञ्चालनका लागि भौगोलिक ४ इकाइ छनौट गरि कक्षागत कम्तीमा एक जना पर्ने गरि उपलब्ध सबै विद्यार्थी र अभिभावकको छुट्टाछुट्टै समुहमा प्रत्यक इकाइमा एक÷एक दिन समय दिई तथा शिक्षक र विव्यस बीच एक दिन अनलाइन माध्यमबाट प्रत्यक्ष छलफल गरिदाँ विद्यार्थीसँगको छलफललाई पहिलो चरण, अभिभावकसंगको छलफललाई दोश्रो चरण र शिक्षक र विव्यससंगको छलफललाई तेश्रो चरण तथा समस्या पहिचान र समाधानका उपायहरु भनी कार्यान्वयन गरिएको छ ।

क. पहिलो चरण :
यस अध्ययनको पहिलो चरण अन्र्तगत विद्यालयमा भएका विद्यार्थीको भौगोलिक इकाइ छुट्याइएको ४ इकाइमा बाल विकास देखि कक्षा १२ सम्मका कम्तीमा एक जना हुने गरी सम्भव भएका सबै विद्यार्थी सहभागी गराई अध्ययन प्रकृया अगाडी बढाइयो । पहिलो दिन जेठ २१ गते काहुले क्षेत्रका विद्यार्थीसंग, दोश्रो दिन ताजी क्षेत्रका विद्यार्थीसंग, तश्रो दिन नुचेत क्षेत्रका विद्यार्थीसंग र चौथो दिन भाल्चे क्षेत्रका विद्यार्थीसंग यस माहामारीको स्थितीमा वैकल्पिक सिकाइ सञ्चालनमा भएका समस्या र उपयुक्त उपाय के हुन सक्छन् ? भन्ने विषयमा छलफल, अन्तर्वार्ता र परामर्श गरियो । काहुले, ताजी क्षेत्र बाहेक अन्य क्षेत्रमा बाल कक्षा देखि कक्षा ५ सम्मका यस विद्यालयमा विद्यार्थी नभएकाले ती क्षेत्रमा कक्षा ६ देखि १२ का विद्यार्थी मात्र सहभागी भए । यो ४ दिनको पहिलो अवधिमा गरिएको विद्यार्थीसंगको अन्तर्वार्ता, छलफल र परामर्शबाट प्रत्यक्ष सिकाई सम्भव नहुँदासम्म कुन वैकल्पिक सिकाइ उपयुक्त हुन्छ भन्ने सम्बन्धमा व्यापक छलफल गरी त्यसको टिपोट गरियो ।
ख. दाश्रो चरण :
यस चरणमा विद्यालयमा भएका विद्यार्थीको भौगोलिक इकाइ छुट्याइएको ४ इकाइमा बाल विकास देखि कक्षा १२ सम्मका कम्तीमा एक जना हुने गरी सम्भव भएका सबै विद्यार्थीका अभिभावक सहभागी गराई अध्ययन प्रकृया अगाडी बढाइयो । यस चरणमा पहिले विद्यार्थीसंगको छलफल सकी त्यस पछि अभिभाभावकसंगको छुट्टै छलफल गरियो । पहिलो दिन जेठ २१ गते काहुले क्षेत्रका अभिभावकसंग, दोश्रो दिन ताजी क्षेत्रका अभिभावकसंग, तश्रो दिन नुचेत क्षेत्रका अभिभावकसंग र चौथो दिन भाल्चे क्षेत्रका अभिभावकसंग यस माहामारीको स्थितीमा वैकल्पिक सिकाइ सञ्चालनमा भएका समस्या र उपयुक्त उपाय के हुन सक्छन् ? तपाई अभिभावकको हैसियतले विद्यालयलाई के सुझाव दिनुहुन्छ ? र तपाईले के विधि अवलम्बन गर्दा सहयोग गर्न सक्नुहुन्छ ? आदि विषयमा छलफल, अन्तर्वार्ता र परामर्श गरियो । काहुले र ताजी क्षेत्र बाहेक अन्य क्षेत्रमा बाल कक्षा देखि कक्षा ५ सम्मका यस विद्यालयमा विद्यार्थी नभएकाले ती क्षेत्रमा कक्षा ६ देखि १२ का विद्यार्थीका अभिभावक मात्र सहभागी भए । यो ४ दिनको पहिलो अवधिमा गरिएको अभिभावकहरुसंगको अन्तर्वार्ता, छलफल र परामर्शबाट प्रत्यक्ष सिकाइ सम्भव नहुँदासम्म कुन वैकल्पिक सिकाइ उपयुक्त हुन्छ भन्ने सम्बन्धमा व्यापक छलफल गरी त्यसको टिपोट गरियो ।
ग. तेश्रो चरण :
यस चरणमा जेठ २५ गते विद्यालयका शिक्षक तथा विव्यसका उपलब्ध पदाधिकारीहरुलाई सम्लग्न गरि विद्यार्थी र अभिभावकबाट आएका टिपोट सहित अब के गर्ने, कस्ता समस्या छन् ? जसरी पनि वैकल्पिक सिकाइमा जानु पर्ने बाध्यता भएकाले अवस्था मूल्याङ्कन गर्दै आगामी रणनीति बारे अनलाइन (माइक्रोसफ्ट टिम्स) प्रणालीबाट छलफल गरियो । यस छलफलमा सबैको राय लिई समस्या र त्यसको उपयुक्त समाधान बारे गहन छलफल गरियो । विद्यार्थीका समस्या र सुझाव, अभिभावकका समस्या, सुझाव र शिक्षक तथा विव्यसको राय र प्रतिबद्धता सहित यस चरणको सञ्चालन र समापन गरियो ।

७. प्राप्ती तथा निष्कर्ष :

गत वर्ष देखि विश्वमैं देखिएको विषम परिस्थितीका कारण प्रभावित शैक्षिक गतिविधिलाई केही समयको प्रत्यक्ष सिकाइले राहत दिए पनि फेरि आएको माहामारीको अर्को स्वरुपका कारण पुनः ठप्प पा¥यो । पहिलेको परिस्थितीमा केही कक्षामा सञ्चालन गरिएको अनलाईन प्रणालीको प्रयोग पनि खासै सफल हुन नसक्नु तथा अब के गर्ने ? समस्या के के छन् ? समाधान के होला ? भन्ने हेतुले प्रभावकारी वैकल्पिक माध्यामबाट विद्यार्थी सिकाई निरन्तरता दिनका लागि यो अनुसन्धानलाई विद्यालयको तर्फबाट अगाडी बढाइएको हो । यस अध्ययनमा विभिन्न चरण र समयावधिमा वर्गीकरण गरी अनुसन्धानका प्राप्ती र निष्कर्ष निम्नानुसार रहेका छन् ।
क. प्राप्ती :
यस अध्ययनका प्राप्तीहरुलाई विद्यार्थीबाट भएको प्राप्ती, अभिभावकबाट भएको प्राप्ती र शिक्षक, विव्यसबाट भएको प्राप्ती गरी ३ भागमा विभाजन गरिएको छ ।
अ. पहिलो चरणको प्राप्ती :
विभिन्न ४ क्षेत्रगत भौगोलिक इकाइमा छुट्याई गरिएको छलफलबाट प्राप्त भएका समस्या र समाधान यस प्रकार छन् ।
समस्याहरु :
– सबै विद्यार्थीसंग स्मार्ट फोनको उपलब्धता नभएको र भएकाहरुसंग पनि सहज इन्टरनेट पहुँच नभएको ।
– सबैजसो स्थानमा ‘नेटर्वक स्टेबल’ नभएको ।
– साना कक्षामा पढ्ने विद्यार्थीलाई फोन वा नेटवर्कको बारेमा ज्ञान नभएको ।
– भौगोलिक विकटताले गर्दा सहजै रेडियो, टिभिको सुविधा लिन नसक्ने ।
– सबैजसो विद्यार्थी आर्थिक विपन्नताबाट ग्रसित रहँदा खर्चिलो सिकाईमा सहभागी हुन नसक्नु ।
समाधानहरु :
– सिकाई केन्द्रको व्यवस्था गरी अध्ययनमा जस्तै इकाइ बनाई इन्टरनेटको सुविधा हुनु पर्ने ।
– गाँउ सिकाई केन्द्र बनाई नियमित शिक्षकको उपलब्धता र निगरानीमा सिकाइ सञ्चालन गर्नु पर्ने ।
– आलोपालो प्राणाली अपनाई सिकाई निरन्तर गर्नु पर्ने ।
– प्राविधिक अभिमुखिकरण हुनु पर्ने ।
– अभिभावकलाई विद्यालयबाट विश्वास दिलाउनु पर्ने ।
– कक्षा ९ देखि १२ का विद्यार्थीबाट अनलाइन विधि पनि प्रयोगमा जोड दिनुपर्ने ।
आ. दोश्रो चरणबाट भएको प्राप्ती :
विभिन्न ४ क्षेत्रगत भौगोलिक इकाइमा छुट्याई गरिएको अभिभावक छलफलबाट प्राप्त भएका समस्या र समाधान यस प्रकार छन ।
समस्याहरु :
– धेरै अभिभावकको स्मार्ट फोन खरिद गर्न सक्ने हैसियत नभएको ।
– साना कक्षाका अभिभावकमा अनलाइन कक्षामा जोडिने प्राविधिक ज्ञान र आकांक्षा नभएको ।
– मोबाइल दिएमा बालबच्चा बिग्रने धारणा भएको ।
– शिक्षक तथा विद्यालयले बेवास्ता गरेको ।
– अनलाइन बाहेकका अन्य वैकल्पिक सिकाइमा विद्यालयको उदासिनता रहेको ।
– बालबच्चा आफ्नो काबु बाहिर रहेको ।
– अभिभावक विहिन विद्यार्थीले कसरी वैकल्पिक शिक्षामा समाहित हुने भन्ने अन्यौल रहेको ।
समाधान :
– जुन विधिबाट सिकाइ निरन्तर हुने अभिभावकलाई कम आर्थिक भार नपर्ने हुन्छ सोही विधि अनुसार सिकाइ सञ्चालन गर्ने ।
– केही विद्यालय तथा सम्बन्धित निकायबाट सहयोग हुनुपर्ने ।
– सिकाई निरन्तरताको लागि शिक्षक तथा विद्यालय जिम्मेवार र जवाफदेही हुनु पर्ने ।
– यहि अनुसन्धान जस्तै सिकाई केन्द्र बनाई सिकाइ सहजीकरण गर्नुपर्ने ।
इ. तेश्रो चरणबाट भएको प्राप्ती :
विद्यार्थी र अभिभावकबाट भएको समस्या र त्यसको वैकल्पिक समाधान सहित यस चरणमा विद्यालयमा भएका शिक्षक र विव्यस सहितको संयुक्त छलफलबाट शिक्षकमा भएका समस्या र समष्टिमा के–के वैकल्पिक समाधान हुन सक्छन् भनी छलफल गर्दा निम्नानुसार प्राप्ती भए ।
समस्याहरु :
– सबै शिक्षकको घर वा बासस्थानमा इन्टरनेटको सहज पहुँच नभएको ।
– सबैमा वैकल्पिक कक्षा सञ्चालनको उपयुक्त सीप नभएको ।
– बन्दको समयमा गाँउघर वा विद्यार्थीको घर–घर वा सिकाइ केन्द्रमा जाँदा कोरोना संक्रमणको जोखिम रहेको ।
– अनलाइन कक्षा सञ्चालन गर्दा पहुँच र ज्ञान भएपनि सबै उपस्थित नहुने ।
– यस्ता सिकाइलाई हल्का रुपमा लिने तथा खासै ध्यान नदिने ।
– सरोकारवालाहरुको बेवास्ता रहेको ।
समाधानहरु :
– सबैको पहुँच हुने गरी तहगत रुपमा उपयुक्त विधिको छनौट गरी सिकाई निरन्तर गर्ने ।
– प्राविधिक सीप नभएका शिक्षकलाई सीप भएकाबाट अभिमुखिकरण गर्ने ।
– सिकाइ निरन्तरताको लागि छनौट भएका विधिमा सबै विद्यार्थीलाई अनिवार्य गर्ने ।
– प्रत्यक्ष सिकाई अनुसार नै सहभागिता र अवलोकन मूल्याङ्कनलाई कडाइका साथ कार्यान्वन गर्ने ।
– आवश्यक पर्ने सहयोग विव्यसले गर्ने ।
– विद्यालयले थेग्न नसक्ने आर्थिक भारलाई सम्बन्धित स्थानीय निकायसंग माग गर्ने ।
– अनलाइनमा सहभागी हुने कक्षा तथा तहलाई अनलाइन विधि तथा त्यसमा जोडिन नसक्ने विद्यार्थीका लागि नेपाल टेलिकमबाट सियुजी सेवा लिई फोनबाट भने पनि सिकाई निरन्तरता दिने तथा सिकाई केन्द्र बनाई समय–समयमा प्रत्यक्ष रुपमा गृहकार्य दिने र अभिमुखिकरण र सहजिकरण गर्ने
ख. निष्कर्ष :
यस विश्वव्यापी कोरोना माहामारीबाट आक्रान्त विश्व जगत् नै आज आफ्नो साविकमा रहेको व्यवहारलाई परिवर्तन गरी वैकल्पिक विधिबाट सञ्चालन गर्न विवश रहेको अवस्थामा शिक्षा क्षेत्रमा पनि यस्ता विकल्पको पहिले देखि नै सुरुवात हुँदै आएकोमा हामीले पनि सुरु गरेकोमा खास प्रभावकारी नहुँदा वैकल्पिक सिकाइमा भएका समस्या र त्यसको समाधानको उपायका बारेमा विद्यालयका तर्फबाट यस अध्ययन अनुसन्धानलाई अगाडि बढाईएको हो । यस अनुसन्धानमा विद्यालयमा भएका विद्यार्थी, शिक्षक तथा अभिभावक र विव्यसको विभिन्न चरणमा सहभागि गराई उहाँहरुमा भएको वैकल्पिक सिकाइको समस्या र त्यसको उपयुक्त समाधान बारे छलफल, परामर्श र अन्तर्वार्ताबाट प्राप्त सुझावलाई समेटी भावी कार्यदिशा र उपयुक्त वैकल्पिक सिकाइ विधि छनौट गरी माहामारीको समयमा पनि विद्यार्थी सिकाइलाई निरन्तरता दिन निम्नानुसार निष्कर्ष निकालियो ।
– कक्षा ६ देखि १२ को विद्यार्थीलाई सम्भव भएजत्तिलाई अनलाइन कक्षामा अनिवार्य र कडाइका साथ सहभागी गराउने र त्यसमा जोडिन नसक्नेका लागि नेपाल टेलिकमद्वारा वितरित सियुजी सिममा आबद्ध गराई सिकाई निरन्तरता दिने । १५/१५ दिनमा विद्यार्थीलाई कक्षागत सानो समुहमा प्रत्यक्ष जागरुक हुन अभिमुखिकरण र सबैलाई सिकाइ निरन्तरताका लागि सम्भव भएका शिक्षक वा स्थानीय शिक्षकले गृहकार्य, समुहकार्य, परियोजना कार्य दिने र मूल्याङ्कन गर्ने ।
– बाल कक्षा देखि कक्षा ५ सम्मका लागि विद्यार्थी संख्या कम र विद्यालयबाट घर टाढा नभएका तथा प्रायः सबै तल्ला तहमा अध्यापनरत शिक्षकहरु स्थानीय भएकाले समुहगत रुपमा स्वास्थ्य मापदण्ड अपनाई स्थानीय सिकाइ केन्द्रहरु खडा गरी सिकाई निरन्तरता दिने ।
– नेपाल सरकारद्वारा जारी गरिएको वैकल्पिक सिकाइ निर्देशिका–२०७७ अनुसार नियमित विद्यार्थी सिकाइ कार्यलाई निरन्तरता दिने ।
– वैकल्पिक निरन्तर सिकाइमा आईपर्ने समस्यालाई सरोकारवाला सबैको समन्वयमा जति सक्दो चाँडै समाधान गर्ने ।
– विस्तारै वैकल्पिक सिकाईलाई नै मान्यता प्रदान गर्दै यो माहामारी समाप्ती पश्चात पनि आईपर्ने जुनकुनै विषम परिस्थितीमा प्रयोगयोग्य बनाउने ।
– विद्यालयमा आईपर्ने कुनै पनि समस्यालाई यस्तै कार्यमूलक अनुसन्धान गर्दै समाधान गर्ने र तात्कालिक समस्या समाधान गर्न सबै शिक्षकलाई कार्यमूलक अनुसन्धानमा अभ्यस्त बनाउने ।

८. प्रतिबिम्बन :

शैक्षिक कार्य गर्दा कुनै पनि समस्या आउदा तत्काल समाधान गर्न प्रभावकारी शिक्षणमा कार्यमूलक अनुसन्धान अपरिहार्य विषय हो । यस अनुसन्धान विद्यालयको समग्र समस्याको प्रतिबिम्बन गर्ने भएकोले विद्यालयको तर्फबाट दुई जना शिक्षकको प्रत्यक्ष काम तथा विव्यस, विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्बन्धित सरोकारवालाको परोक्ष सहयोगमा सम्भव भएको हो । शिक्षणमा होस् वा हरेक शैक्षिक गतिविधीमा कार्यमूलक अनुसन्धानले तत्काल समस्याको समाधान पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । समग्र शैक्षिक उन्नयनमा कार्यमूलक अनुसन्धान एक ब्रह्मास्त्रको रुपमा रहेको छ ।

९. आगामी अनुसन्धानका लागि सम्भावित विषयहरु :

क. प्रत्यक्ष सिकाइमा जस्तै वैकल्पिक सिकाइमा विद्यार्थीको उपस्थितीमा वृद्धि ।
ख. प्रविधिमैत्री शिक्षणको समस्या र समाधान ।
ग. कक्षागत डिजिटल गृहकार्य व्यवस्थापन ।

७ असार २०७८, सोमबार १८:४९



तपाईको प्रतिक्रिया