बट्टार क्याम्पसलाई बागमतीस्तरीय बनाउन माग

सांसद हिरानाथ खतिवडा

बट्टार । नुवाकोट आर्दश बहुमुखी क्याम्पसलाई बागमती प्रदेशस्तरीय विश्व विद्यालयका रुपमा विकास गर्नका लागि आवश्यक प्रक्रियाको सुरुवात गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

शनिवार क्याम्पस प्राङ्गणमा भएको सातौं क्याम्पस सभामा सहभागि सभा सदस्य तथा अतिथिहरूले जिल्लाको गहनाको रुपमा रहेको क्याम्पसलाई प्रदेशस्तरीय बनाएर गरिमा थप उचो पार्नुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले नुवाकोट आर्दश बहुुमुखी क्याम्पसलाई प्रदेशस्तरीय विश्व विद्यालयका रुपमा विकास गर्न सकिने बताएका छन् । त्यसका लागि गर्नुपर्ने आवश्यक काम र तयारीका लागि आफु र आफ्नो पार्टी तयार रहेको उनले बताए । सांसद खतिवडाले भने– ‘म आफैं पनि यो क्याम्पसको विद्यार्थी हुँ, म पहिलो ब्याजको हुँ, आफुले अध्ययन गरेको यो शिक्षालयलाई वृहत्तर हुने गरी फैलाउन र विश्व विद्यालयका रुपमा स्थापना गर्न म हरदर तयार रहने छु ।’

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको भौतिक तथा गुणस्तर विकासका साथमा जिल्लाबाहिर पनि ख्याती फैलाउनका लागि आफ्नो कार्यकालमा प्रशस्त काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘त्यसका लागि हामीले विश्व विद्यालयका रुपमा क्याम्पसलाई वृद्धि गर्ने परिकल्पना गरेका छौं’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका उप सभापति राजु थापाले कुनै समय तीन जिल्ला (नुवाकोट, रसुवा र धादिङ) को उच्च शिक्षा लिने एक मात्रै क्याम्पसको रुपमा रहेको उक्त क्याम्पसलाई समय अनुसारको ‘अपग्रेट’को आवश्यकता रहेको औल्याएका छन् । समय अनुसारको शिक्षा र शैलीलाई नअपनाउदा कत्तिपय क्याम्पसहरू धरासायी भएको अरुको उदाहरण हेरेर पनि बट्टार क्याम्पसले आफुलाई सोही रुपमा विकास गर्नुपर्ने सुझाव उनको रहेको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले उक्त क्याम्पसबाट उत्पादन भएका विद्यार्थीहरू अहिले उच्च ओहोदामा पुगिसकेकोले त्यसको इतिहास र मर्मलाई गम्भिरताका साथ लिन र हेर्न आग्रह गरे । २०४२ सालमा स्थापना भएको क्याम्पसबाट उत्पादन भएको वृद्धिजिवीले जिल्लाको र मुलुकको विभिन्न ओहोदा प्राप्त गरेकोले यसलाई भविष्यमा निरन्तता दिनका लागि समेत अझ नविनतम् योजना सहित क्याम्पसलाई चुस्त राख्न सञ्चालक समितिलानई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिब अधिकारीले बर्षेनी गाउँपालिकाको तर्फबाट क्याम्पसलाई एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस बाहेक आफ्नो ब्यक्तिगत खर्चबाट बार्षिक ५० हजार रुपैयाँ क्याम्पसको एक उत्कृष्ठ प्राध्यापकलाई पुरस्कृत गर्न उपलब्ध गराउने पनि उनले घोषणा गरेका छन् ।

१३ भाद्र २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया