स्कुलमा परम्परागत पोशाक

म्यागङ । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ ।

बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए । ‘जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलार्ई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोशाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोशाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो’, अध्यक्ष तामाङले भने, ‘मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय/सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।’

गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् । शिक्षा ऐनअनुसार आंशिकरूपमा भए पनि हरेक हप्ताको बुधबार सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन हुने गरेको शिक्षा अधिकृत शेरसिंह रावतले बताए । ‘चालु शैक्षिक सत्रको सुरुआतदेखि नै हरेक हप्ताको बुधबार मौलिक पहिरनमा विद्यालय सञ्चालन गर्ने भन्ने शिक्षा ऐन लागू भएको हो । हालसम्म शतप्रतिशतमा लागू भइसकेको अवस्था भने होइन । यस अभियानलाई शतप्रतिशत पु-याउन निरन्तर विद्यालयहरूलाई झक्झकाइरहेका छौँ’, रावतले भने, ‘प्रायः निजी विद्यालयहरूले हप्तामा एक दिन बाहिरी पोशाकमा विद्यालय सञ्चालन गरिरहेको हुन्छन् । त्यसलाई अनुसरण गर्दै बाहिरी पोशाकमा पनि मौलिकता झल्कने पोशाकमा जोड दिन सकियो भने परम्परागत संस्कृतिको जगेर्ना हुन्छ भनेर यो शिक्षा ऐन ल्याएका हौँ । विद्यार्थीहरू पनि फरक पहिरनमा खुसी हुन्छन् ।’

पाठ्यपुस्तकमा परम्परागत जातीय पहिरन, संस्कार, संस्कृतिका बारेमा प्रशस्त उल्लेख गरिएको हुन्छ । विद्यार्थीहरूले सैद्धान्तिकरूपमा त्यस विषयको ज्ञान लिइरहेको हुन्छ । हप्तामा एक दिन मौलिक पहिरनमा विद्यालय सञ्चालन हँुदा व्यावहारिक ज्ञान विद्यार्थीहरूले प्राप्त गरिरहेको म्यागङ गाउँपालिका–२ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिखर अधिकारीको बुझाइ छ ।

‘भदौ महिनादेखि विद्यार्थीहरूलाई मौलिक पहिरनमा नै पढाउन थाल्यौँ । त्यस समयमा सबै विद्यार्थीसँग आफ्नो जातअनुसारको पहिरन उपलब्ध थिएन । दसँैपछि भने सबै विद्यार्थीले उत्साहका साथ मौलिक पहिरन लगाएर आउने गरेका छन्’ प्रधानाध्यापक अधिकारीले भने, ‘हाम्रो विद्यालयमा विशेषगरी तामाङ, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पढ्न आउँछन् । उनीहरूमा पहिरनको विविधता हुँदा एकअर्काबीच नै सिकाइ भइरहेको हुन्छ । व्यावहारिक शिक्षाका रूपमा पनि यसलाई लिने गरेको छु । अभिभावकबाट पनि सकरात्मक प्रतिक्रियाहरू आइरहेको हुन्छ ।’

२५ माघ २०७९, बुधबार १३:५६



तपाईको प्रतिक्रिया