यति बेला फिल्म इन्डस्ट्रीमा रहेको ताजा विवाद र चर्चामा आएको विषय भनेको ग्रुपिजम र नेपोटिजम नै हो । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा सुरु भएको यो बहसले कलिउडलाई पनि राम्रै तताएको छ । हुन त नेपालमा नेपोटिजमको बिगबिगी त खासै देखिँदैन । तर ग्रुपिजम चाहिँ राम्रै मौलाएको छ । यस विषयमा प्राय सबै कला कर्मीले आफ्नो अनुभव साटिसकेका छन् । अब बिस्तारै यस विषय सेलाउँदै पनि गएको छ । तर यस विषयले विषयान्तर गर्नै लागेका बेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो अनुभव साटेकी छिन् जसले फेरी माहौल तताएको छ । ५ वर्ष नेपाली फिल्म इन्डस्ट्रीमा बिताइसकेकी शाहले ८ चलचित्रमा मुख्य भूमिकामा अभिनय गरिन् । अधिकांश चलचित्रलाई दर्शकले साथ पनि दिए । उनले डेब्यु चलचित्रमा नै भुवन केसी पुत्र अनमोल केसीको अपोजिटमा रहेर काम गरिन् । जुन उनको लागी शुभ बन्यो । यसै चलचित्रले उनलाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको नायिकाको रूपमा स्थापित गर्यो । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरिन् जसमा उनले आफूले चलचित्रमा काम गर्ने दौरानमा शोषणमा परेको कुरा सार्वजनिक गरेकी छिन् ।
उनले चलचित्र क्षेत्रमा स्थापित र आफूले निकै सम्मान गर्ने व्यक्तिले पनि सेटमा दुर्व्यवहार गरेको बताएकी थिइन् । उनले आफूलाई दुर्वचन र दुर्व्यवहार हुँदा असह्य हुने गरेको र यसकै कारण दोहोर्याएर उक्त व्यक्तिसँग काम नगरेको समेत बताएकी थिइन् । उनले यो कसलाई लक्षित गरेर भनेको यकिन गर्न नसके पनि उनले डेब्यु गरेको चलचित्रका निर्देशक भुवन केसीलाई नै लक्षित गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसैको आधारमा साम्राज्ञीले बोलेको भोलि पल्ट अभिनेता तथा निर्माता भुवन केसीले आक्रोशपूर्ण ढङ्गले स्ट्याटस पोस्ट गरेका छन् । उनले साम्राज्ञीको नाम उल्लेख नगरे पनि उनले बोलेका कुरालाई नै प्रतिकार गर्दै सामाजिक सञ्जालमा खरो उत्रिएका हुन् । उनी लेख्छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !!’
साम्राज्ञीले सार्वजनिक गरेको भिडियोमा सेटमा राम्रो खाना त परै जाओस् खाने पानीको पनि राम्रो सुविधा नभएको भनेकी थिइन् । यसैको प्रतिकारमा अभिनेता केसीले व्यङ्ग्यात्मक र आक्रोश पूर्ण जवाफ दिएका हुन् । भुवनका छोरा अनमोल बाबुकै कारण फिल्म इन्डस्ट्रीमा स्थापित भएका भनी टिप्पणी पनि हुने गरेको छ ।
१७ असार २०७७, बुधबार १३:४४