बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को छायाङ्कन

काठमाडौं । बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन भएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाका रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए । “नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे”, निर्माता लामाले भने ।

बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य दाजुभाइले बिहे गर्नुपर्दैन । जुन भाइले पहिला बिहे गरे तिनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रचलन छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुःखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाका रुपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।

छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नाका साथै चलचित्र तयार हुँदासम्म करिब रु। एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आरपी कर्माचार्यले बताए ।

निर्माता कर्माचार्यका अनुसार अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको जनाउँदै अबका दुई महिनापछि नै चलचित्र निर्माणकार्य सम्पन्न हुनेछ । चलचित्र छायाङ्कन सुशील अधिकारीले गर्नुभएको छ भने निर्देशन देवजङ्ग थापाले गरेका छन् ।

चलचित्रमा प्रोडक्शन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन् । चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतको कलाकारको अभिनय छ ।

१९ असार २०७८, शनिबार १०:५३



तपाईको प्रतिक्रिया