काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान १९९४ सालमा सिन्धुपालचोकको चौतारमा जन्मिएका प्रधानको शिक्षा २००२ सालबाट विश्वनिकेतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात भएको थियो । प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान र हजुरबुबा उत्तरध्वज प्रधान शास्त्रीय संगीतका श्रष्टा थिए । घरमै संगीतको माहौल भएका कारण युवा अबस्थामा उनको गायनप्रति आकर्षण बढेको थियो । बुबा रत्नध्वज प्रधान पनि संगीतका पारखी भएकाले उनले प्रेमध्वजलाई किशोर अबस्थामा गायनमा प्रेरणा दिए ।
स्कुलका गुरु र बुबाको प्रेरणाले उनले २००९ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिए । पहिलो पटक नै प्रेमध्वज प्रधान रेडियो नेपालको स्वर परीक्षामा ‘क’ श्रेणीमा पास भए । अनी उनले तत्कालै रेडियो नेपालमा तीन वटा गीत प्रत्यक्ष गाए । जती बेला उनी स्कुलमै अध्ययनरत थिए ।
रेडियो नेपालको क श्रेणीको गायक भए पनि प्रेमध्वज प्रधानलाई शास्त्रीय गायन सम्बन्धि धेरै ज्ञान थिएन । त्यसैले उनले २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग करिब डेढ वर्ष शास्त्रीय सङ्गीतको ज्ञान हाँसिल गरेका थिए ।
नेपाली सुगम सँगीतमा त्यतिबेला शिबशंकर मानन्धर, नातिकाजी, नारायण गोपाल, पुष्प नेपाली जस्ता श्रष्टाहरु उदाईसकेका थिए । उनीहरुको संगतले प्रेमध्वजलाई पनि गायनमा लाग्न अझ प्रेरणा मिल्यो । मखमली स्वरको धनी भनेर सहकर्मीहरुले त्यतिबेला उनको प्रसंसा गर्न थालेपछि प्रधानले आफ्नो स्वरलाई अझ राम्रो पार्न विभिन्न उपाय गरेको चर्चा चलेको थियो ।
उनी गायनसँगै सँगीतमा पनि त्यत्तिकै प्रखर थिए । गायन र संगीतलाई समानान्तर रुपमा लैजानु प्रेमध्वजनको विशेषता थियो । सोही क्रममा उनी २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम पनि भए । त्यसपछि उनले गायनसँगै संगीत सृजनालाई पनि अघि बढाएका थिए ।
अग्रज श्रष्टा प्रधानले आधुनिक, चलचित्र, लोक, पप, शास्त्रीय, भजन, राष्टिय भाव जस्ता विविध शैलीका गीत गाएका थिए । गायक प्रधानले पहिलो पटक चलचित्र माइतीघरमा गीत गाएका थिए । २०२३ सालउनले यो चलचित्रमा नमान लाज गीत गाएका हुन् । बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग प्रधानले चलचित्र माईतिघरका लागि यो गीत गाएका थिए । यसरी बिदेशी गायिकासँग नेपाली गीत आफ्नो स्वरमा रेकर्ड गराउने पहिलो गायकको रुपमा त्यतिबेला प्रेमध्वज प्रधान चिनिएका थिए ।
गायक प्रधानले माइतीघर, जीवनरेखा, बदलिँदो आकास, फेरि फेटौँला, अन्याय, मायालु विभिन्न १२ वटा चलचित्रहरुमा गीत गाईसकेका थिए । जीवनको उत्तराद्धमा उनले गाउन छाडेका थिए । २०७२ पछि गाउन छाडेका उनले फेरी ८९ वर्षको उमेरमा २०७२ सालमा जुगल डँगोलको संगीतमा ती आँखामा तिमी…गाए । त्यसपछि उनले लगातार एक दर्जन भन्दा बढी गीत रेकर्ड गराए । पछिल्लो समय कोरोना संक्रमण सुरु हुनु भन्दा अघिसम्म गायक प्रधान गीत रेकर्डिङमा सक्रिय थिए ।
गायक प्रधानका तिमीलाई अचेल कहाँ देखुँ… गोरेँटो यो गाउँको…, पर लैजाउ फुलहरू…, घुम्तीमा नआउ है…,अकाशको तारा…, नमाज लाज यसरी…, अँधेरीको जुन…, ऐना नभए…, टाढा नभईदेउ फेरी…, गुलाफी घुम्टो…, गुलाफी घुम्टो.. जस्ता थुप्रै हिट गीतहरु छन् ।
सम्मान पुरस्कार
गायक प्रधानले २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
१९ असार २०७८, शनिबार ११:३३