‘तारुकासंग जयपृथ्वीबहादुरको गोरु बेचेको साइनो पनि छैन’

रतन भण्डारी

वि.सं. १८४७ अगाडीसम्म बझाङ स्वतन्त्र राज्य थियो । त्यसबेला पश्चिम एकीकरण अभियानमा बझाङ नेपाल (काठमाडौं)संग समाहित भयो । त्यसबेला बझाङका राजा रधुनाथ सिंह थिए । उनका छोरा इन्द्र सिंह राजा हुनुपुर्व १४ वर्षसम्म काठमाडौं बसेका थिए । पश्चिमको कुमाउ, गढवाल, अलमोडा युद्धमा नेपाललाई सहयोग गरेर उनले उपत्यकालाई सहयोग गरे । इन्द्र सिंहको जेठा छोरा भोजराज सिंहको बिवाह गृबाणयुद्धविक्रम शाहको छोरी सरस्वतीकुमारीसंग भयो । काठमाडौं र बझाङको पहिलो बैवाहिक सम्वन्ध यही हो । गिर्बाणयुद्धविक्रम शाहले छोरी सरस्वतीकुमारीलाई बिवाहमा बट्टार, बनेपा र तारुका दाईजो दिएका थिए ।

भोजराज सिंह र सरस्वती कुमारीबाट भुपेन्द्र सिंहको जन्मभयो । भुपेन्द्र सिंहबाट बिक्रमबहादुर सिंहको जन्म भयो । बिक्रमबहादुर सिंहले चार वटा बिवाह गरे । उनको जेठी र माइली श्रीमती जङ्गबहादुर राणाको छोरी, साइली श्रीमती भारतको अस्कोट राज्यको पाल राजाका छोरी र कान्छी श्रीमती स्थानीय बम राजाको छोरी थिए । जङ्गबहादुरको जेठी छोरी रुद्रकुमारी र कान्छी छोरी मेघकुमारीको बिक्रमबहादुर सिंहसंग बिवाह भयो । जेठी रानी रुद्रकुमारीबाट तीन छोराको जन्म भयो । जसका जेठा छोरा जयपृथ्वीबहादुर सिंह थिए ।

माइली रानी मेघकुमारीबाट दुई छोराको जन्म भयो । जसका जेठा छोरा ललितबहादुर सिंह र कान्छा छोरा देबिजङ्गबहादुर सिंह थिए ।

जयपृथ्वीबहादुर सिंह आठ वर्षको उमेरमा काठमाडौंको थापाथली दरवारमा आएर बसे । पछि राजा बन्नेबेलामा मात्रै बझाङ फर्किए । उनको पठनपाठन काठमाडौंमै भयो । उनले राजकाज सम्हालेपछि सौतेनी भाइ (माइली रानी मेघकुमारीका छोरा) ललितबहादुर सिंह भोजराज सिंहले सरस्वतीकुमारीसंग बिवाह गर्दा दाइजोमा गिर्बाणयुद्धविक्रम शाहले दिएको नुवाकोटको तारुकामा आएर बस्न थाले । जयपृथ्वीबहादुर सिंहले बझाङको राजकाज त्यागेर भाइलाई राजा बनाउने बेलामा ललितबहादुर सिंहको मृत्यु भइसकेको थियो । उनी जयपृथ्वीबहादुर सिंहपछिका थिए । उनको मृत्युका कारण ललितबहादुरका साख्खै भाइ (मेघकुमारीका कान्छो छोरा) देबिजङ्गबहादुर सिंहलाई जयपृथ्वीबहादुर सिंहले राज्य सुम्पेका थिए । जयपृथ्वीबहादुर सिंह काठमाडौं आइ देब शमशेरको पालामा ‘गोरखापत्र’को प्रकाशक र सम्पादक भएर काम गरेका थिए ।

बझाङ्गी राजाको इतिहास,जीबन घटनाक्रम हेर्दा जयपृथ्वीबहादुर सिंहका कारण तारुकामा गोरु जुधाई सुरुभएको इतिहास मेल खादैन । तारुका स्थित मावली आउदा उनलाई मनोरञ्जन दिन गोरु जुधाउन थालिएको कथन र इतिहासमा फरक देखिएको छ । जयपृथ्वीबहादुर सिंह जङ्गबहादुर राणाको आफ्नै नाती रहेको इतिहासले पृष्टि गरेको छ । बरु जयपृथ्वीबहादुर सिंहका सौतेनी भाइ जङ्गबहादुर राणाको अर्का नाती ललितबहादुर सिंह नुवाकोटको तारुकामा आइ बसेको इतिहासले देखाएको छ ।

अहिले पनि तारुकामा ललितबहादुर सिंहको सन्तान छन् । त्यसबेलामा तारुकाको खेतीपातीको राजश्व सिधै बझाङ जाने गरेको थियो । पुरुषोत्तम शमशेर राणाको पुस्तकमा समेत यो कुरा उल्लेख छ । जयपृथ्वीबहादुर सिंहले राज्य त्यागेर भाइलाई राजा बनाउदा पनि ललितबहादुर राजा हुन पाएका थिएनन् । जयपृथ्वीबहादुर सिंहले राज्य त्याग्नु पुर्वनै उनको निधन भइसकेको थियो ।

ललितबहादुर सिंह तारुकामा बस्दा चाँही बझाङको परम्परा विस्तार भएको अनुमान गर्न सकिन्छ । बझाङमा माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउने गरिएको थियो । तर माघे संक्रान्तिकै लागि चाँही गोरु जुधाउने चलन थिएन । उबेलामा असोज महिनामा धान काटेपछि बझाङमा गोरु र राँगा जुधाउने चलन थियो । तारुका बस्दा ललितबहादुर सिंहले त्यही गोरु जुधाउने परम्परालाई तारुकामा चलाएका थिएकी चाँही भन्न सकिन्छ ।

त्यसैले नुवाकोटको तारुकामा गोरु जुधाएर माघे संक्रान्ति मनाउने प्रचलनसंग जयपृथ्वीबहादुर सिंहको गोरु बेचेको साइनो पनि छैन । अझ जयपृथ्वीबहादुर सिंह मानवताबादी राजा भएकै कारण उनले हत्याहिंसामा विश्वास गर्थे भन्न सकिदैन । जयपृथ्वीबहादुर सिंह जस्ता हिंसामा विश्वास नगर्ने व्यक्तिले गोरु जुधाएर मनोरञ्जन लिएका थिए भन्न मिल्दैन ।

(नुवाकोटबाट प्रकाशन हुने इमेज साप्ताहिकको २०७७ साल माघ ५ गते सोमवारको अंकबाट साभार)

२७ पुष २०७९, बुधबार ०८:५९



तपाईको प्रतिक्रिया