गोरू जुधाई हेर्न जाँदा गाउँले हाँसे

२०६१, माघ १ गते । खाना भाइसकेपछि राजु दाईसित (पत्रकार राजुमित्र खनाल) मेरो भेट भयो, नयाँ रुपरेखा साप्ताहिकको कार्यालय विदुर चोकमा । यसरी भेट्टिनु हाम्रो दैनिकी जस्तै थियो । पत्रिकाकाको कार्यालय उनकै घरमा थियो । बा प्रकाशक (माधबप्रसाद खनाल) र दाई सम्पादक (बिश्वामित्र खनाल) रहेको नयाँ रुपरेखामा राजु दाईले नै त्यसबेला सबै काम गर्थे । बिश्वामित्र दाई त्यसबेला नेपाल टेलिभिजनको नुवाकोटको संवाददाता थिए, तर काठमाडौं बस्न थालिसकेका थिए । राजु दाईले नै बिश्वामित्र दाईका लागि नेपाल टेलिभिजनमा रिपोटिङ्ग गर्थे । म त्रिशुली प्रबाह साप्ताहिकमा काम गर्थें । त्यस बाहेक तत्कालिन हिमाल पाक्षिकमा मेरा समाचार छापिन्थे ।

केही समय अघिदेखि तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउने चलन छ रे भन्ने सुनेको थिए । अघिल्लो वर्षको स्थानीय अखबारहरूमा पनि तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउछन् रे भन्ने खाले सामाग्री आएको थियो कि जस्तो लाग्छ । तर माघे संक्रान्तिका दिन तारुकामा के हुन्छ, कसरी जुध्छन् गोरु, इतिहास के हो भन्ने वास्तबिताको जानकारी हामीलाई थिएन । र, राजुदाईलाई तारुका जाने प्रस्ताव गरेँ । अहिले सम्झेसम्म विदुरमा बढिमा १०/१२ जनासंगमात्रै मोटरसाइकल थियो, जसमा राजुदाई पनि पर्थे । बिहानको खाना भाइसकेपछिको समयमा कतै जाउ भन्ने बत्तिकै तयार हुने राजुदाईलाई केले छेक्थ्यो र ! भिडिओ खिच्नका लागि घाटीमा ह्याण्डी क्यामेरा भिरेर तयार भए । शरणदाई (त्रिशुली प्रबाहका साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटा) ले फोटो खिच्नका लागि दिएको रिल हाल्ने क्यामेरा थियो मसित । त्यसबेला एकदम कम फोटो खिचिन्थ्यो । खिच्नै पर्ने फोटो भयो भने वा विषयवस्तु छ भने मात्र क्यामेरा बोक्ने गरिन्थ्यो, किनभने एउटा रिल सबै सक्दा बढीमा ३५/३६ वटा फोटो अट्थ्यो, त्यसलाई ल्याबमा लगेर प्रिन्ट गरेपछि मात्रै पत्रिकामा छाप्नका लागि फोटो पठाउन मिल्थ्यो । मेरो कोठामा गएर क्यामेरा ल्याएँ, र हामी माघे संक्रान्तिको दिन तारुकाको गोरु जुधाई हेर्ने विदुरबाट मोटरसाइकलमा निस्कियौं ।

देविघाट–गल्छीबाट तारुकाघाट पुगेर झोलुङ्गे पुलबाट मोटरसाइकल तार्यौ । सडकदेखि पुलसम्मको आधा ठाउँमा मोटरसाइकल बोक्यौं । सडक राम्रो थिएन, राजुदाईलाई मोटरसाइकल हाक्न बाटोको नक्सा मात्रै भएपनि हुने भएर हामी ‘सजिलैसंग’ गाउँ उकालो लाग्यौं ।

गाउँको छेउछाउ पुगिएको थियो सायद, ध्वस्त बनेको प्रहरी चौकी वा गाविस भवन देखिएको थियो । केही वर्ष अघि भएको प्रहरी–माओवादीको भिडन्तको भग्नाबशेष थियो । त्यहाँबाट अल्लि तेर्सो लागेपछि कोदो काटेको ठोसा देखिने बारी परैसम्म थिए । फाट्टफुट्ट मानिसहरू बारीको डिलमा बसेका देखिन्थ्ये, कहिकतै बारीको गह्रामा गोरु चरिरहेको थियो ।

त्यहाँसम्म पुग्दा तलतिर तीन/चार ठाउँमा भने हल गोरुहरू सिङ्ग जोडेर घामको पार तापिरहेको चाँही देखिएकै थियो । डिलमा दुई चार जना बसेर त्यही रमिता हेरिरहेका हुन्थ्ये । बीच बाटोमा भेटिएको स्थानीय कोहीलाई हामीले सोधेका थियौं : यहाँ गोरु जुधाउने ठाउँ कहाँ होला भनेर । तर ति अधवैशें पुरुषले ‘गोरु चर्दै जाँदा जुरो जोड्ने हो, बरु बुधसिंगतिर चाँही मान्छेले छेकी छेकी गोरु जुधाउछन् रे भन्ने सुनेको छु’ भनेका थिए ।

यस्तै हेर्दाहेर्दै हामी चन्दनीको ठूलो कटहरको रुखनेर (अहिलेको गोरु जुधाउने मैदान) पुगेका थियौं । त्यहाँ १०/१५ जनाजत्ति मानिसहरू थिए । कोही घरबाट गुन्द्री ल्याएर सुतिरहेका थिए । कोही तमाखु/चुरोट तानिरहेका थिए । कटहरको रुखै मुनी देखिएको सबै भन्दा ठूलो बारीको गह्रामा गोरु थिएन । परैतिर चाही गोरु चरेको देखिएको थियो । माघे संक्रान्तिमा तारुकामा गोरु जुधेको हेर्न पुगेको हामी अलमलिसकेका थियौ कि, कहाँसम्म गयो भने गोरु जुधेको हेर्न पाइन्छ भनेर ।

हामीले घाटीमा भिरेको क्यामेरा देखेर त्यहाँ भएका केहीले पत्रकार आएको पत्ता पाइसकेका थिए । खासमा कहिलेकाँही गोरु जुधाउँदा चाँही त्यही बारीको गह्रा प्रयोग हुने रहेछ । त्यस दिनपनि एकै हल भएपनि गोरु जुधाउने ध्याउन्नमा गाउँहरूले रहेछन् । तर कसको गोरु जुधाउने भन्ने निश्चित थिएन ।

दिउँसोको झण्डै २ बजिसकेको थियो कि जस्तो लाग्छ । त्यहाँ गोरु जुधाउने सुरसार नदेखेपछि दुःख गरेर आएपछि एउटा फोटो खिचेर भएपनि जाउ भनेर हामीले गाउँलेलाई त्यही गह्रामा गोरु जम्मा पारेर जुधाउन आग्रह गर्यौ । गोरु जुधेको हेर्न भनेर विदुरबाट मोटरसाइकलमा हामी तारुका आइपुगेको भनेर त्यसदिन त्यहाँका धेरै जना हाँसेका मलाई अझै याद छ । पहिलो कुरा मोटरसाइकल गाउँ पुग्नु रोचक थियो, अनि जहाँसुकै जुध्ने गोरु हेर्न दुई युवा तारुकासम्म पुगेको झन् रोचक थियो ।

गाउँलेहरूले वरपर भएका सबै गोरु जम्मा गरे । केही बेर अघिसम्म तलतिर बेग्लाबेग्लै सिगौंरी खेलिरहेको हल गोरु एकै ठाउँमा जम्मा भयो । त्यस बेला ठ्याक्कै कत्तिवटा गोरु जम्मा पारेका थिए गाउँलेहरूले चाँही बिर्सिएँ । तर हामीलाई फोटो खिच्न र भिडिओ खिच्न पुगेपछि गोरु जुधाई बन्द गरिएको थियो । त्यस बेला स्थानीयहरूसंग कुरागर्दा माघे संक्रान्तिका दिन घाम तापेर बस्ने र गोरुलाई पनि पारिलो ठाउँमा चराउने अनि अर्को गाउँको वा अर्को हलको गोरु भेट्दा जुध्ने गरेको मात्रै इतिहास हामीले सुनेका हौं । माघे संक्रान्तिको दिन गोरु जुधाउने गरेको चाँही भन्थ्यें त्यसबेला सबैले । केही वर्ष पहिला गोरु जुध्दा हार्ने गोरु जित्ने गोरु धनीले लगेको घटना पनि रहेछ, तारुकामा । तर माघे संक्रान्तिमा अन्तपनि जुधाउने गोरुको खोजी गर्दै तारुका पुगेको विषयमा भने उनीहरू अचम्मित भइरहेका थिए ।

हामीलाई चाँही माघे संक्रान्तिकै दिन गोरु जुधाउने गरेको अन्तको इतिहासको बारेमा खास जानकारी थिएन । अहिले भनेजस्तो जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा मनोरञ्जनाका लागि गोरु जुधाउने गरेको परम्पराका बारेमा चाँही त्यो बेला हामीलाई कोही कसैले भनेका थिएनन् ।

हामी फर्कियौं । केही फरक समाचार त बनेकै थियो । तर अचम्म माघ २ गते नेपाल टेलिभिजनको मुख्य समाचार बुलेटिन राती आठ बजेको मुख्य समाचार बनेर तारुकाको गोरु जुधाई आयो । त्यसपछि भएको तारुकाको गोरु जुधाईको प्रचार र व्यापकताको चर्चा अब गरिसाध्य छैन । हामी तारुका पुगेको दोश्रो, तेश्रो वर्षपछि गोरु जुधाईको इतिहास र पृष्ठभुमीको सन्र्दभमा नयाँ/नयाँ किस्साहरू सार्वजनिक हुन थाले ।

२०६२ सालमै माघे संक्रान्तिमा परपरका मानिसहरू तारुका ओइरिएपछि मेला व्यवस्थापनका लागि गाबिसले समेत रकम व्यवस्था गर्न थाल्यो । २०६३ सालमा त तारुकाघाटबाट गाउँ उकालो लाग्ने सडक समेत गाबिसले बनाएको थियो । बिस्तारै मेला व्यवस्थित बन्दै गयो । गोरु जुधाईलाई स्थानीयहरूले मेलाको रुपमा बिकास गरे । गोरु जुधाउनकै लागि जग्गा खरिद गरेर स्थायी मैदान बनाए । गोरु जुधाउन ब्यवस्थापन समिति गठन हुन थाले । गोरुधनीले हात्ताहात्ति नगदै पुरस्कार पाउन थाले । मैदानमा गोरु उतार्नका लागि प्रायोजकहरू भेटिन थाले । अन्तराष्ट्रिय सञ्चार माध्यमको कलम र क्यामेरा समेत तारुका पुग्न थाल्यो । गोरु जुधाईकै विषयमा थुप्रै अडिओ भिजुअल ‘डकुमेन्ट्री’हरू तयार भए । राष्ट्रिय सञ्चार माध्यमहरुले माघे संक्रान्तिका दिन एक जना पत्रकार तारुका पठाउने अनिवार्य तालिका नै बनाउन थाले ।

(नुवाकोटबाट प्रकाशन हुने इमेज साप्ताहिकको २०७७ साल माघ ५ गते सोमवारको अंकबाट साभार)

२७ पुष २०७९, बुधबार ०९:१५



तपाईको प्रतिक्रिया