विदुर । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । यो चाडका मुख्य आकर्षणको रुपमा रहेको देउसी भैलो भने यसपाली नुवाकोटमा खेल्न नपाइने भएको छ ।
जिल्ला संकट ब्यबस्थापन केन्द्रको गएको आइतवारको बैठकले आदेश जारी गर्दै जिल्लाका केही कडाई गरेको हो । कोरोना संक्रमणको भयाबह उच्च बिन्दुले फैलन थाले पछि संकट ब्यबस्थापन केन्द्रको आकस्मिक बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
जिल्ला संकट ब्यबस्थाप केन्द्रले अर्को आदेश जारी नभएसम्मका लागी भन्दै २५ गते राती १२ बजेबाट सार्वजनिक खेलकूद, नाच, मेला, देउसी, भैलो तथा भीडभाड हुने कार्यक्रमको आयोजना तथा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । जात्रा, महोत्सव, भोजभतेर र हाटबजार, मानिसहरु भेला हुन, सभा, जुलुश वा प्रर्दशन जस्ता कार्य गर्न नपाउने, मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रुपमा आश्रय लिइ बस्न तथा सामूहिक भेला हुने खालका कुनै किसिमका कार्यहरु गर्न नपाउने जनाएको छ ।
जिल्ला भित्रका खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन गर्न नपाउने भएको छ । कार्तिक २५ गते मंगलबारबाट जिल्ला भित्रका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रले आफ्नो आफ्नो निकायबाट प्रदान गरिने अति आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन गर्न निर्धारित प्रक्रिया, समय र मापदण्ड अनुरुप तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गराएर मात्रै सेवा प्रबाह गर्नुपर्ने, विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ विपरित गर्न नपाउने, नेपाल सरकारले तोकेको मापदण्ड विपरित बढी भीडभाड हुने गरी व्यापार, व्यवसाय, निर्माण कार्य गर्न र श्रमिकहरुको ओसारपसार तथा प्रयोग गर्न नपाउने भएको छ ।
तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सवारी साधन समेत प्रयाृग गर्न नपाउने आदेश जारी भएको छ । पछिल्लो समय नुवाकोटमा दैनिक ३० जना माथी संक्रमितहरु प्ुष्टि हुँदै आएका छन् । बिशेष गरि बिदुर नगरपालिकामा कोरोना संक्रमणको भयाबह उच्च भए पछी जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
२८ कार्तिक २०७७, शुक्रबार ११:२९