यो वर्ष ४१ किमि कालोपत्रे हुने

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकको यो वर्ष ४१ किलोमिटर कालोपत्रे हुने भएको छ । गल्छी मैलुङ सडक खण्डमा ४६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्रे गर्न लागिएको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार पहिलो लेयर २१ किलोमिटर र दोस्रो लेयर १३ किलोमिटर भइसकेको छ । कालोपत्रे गर्नुपर्ने कुल सडकमध्ये १३ किलोमिटर दोस्रो लेयर अर्थात पूर्ण कालोपत्रे भइसकेको छ । यो खण्डमा अहिले दोस्रो लेयरको पिच गर्ने र ६ किलोमिटर सडकमा पिचको तयारी भइरहेको योजनाले जनाएको छ । यस सडकको बाँकी रहेको ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षमा कालोपत्रे गरिने छ ।

पहिलो खण्डको स्तरोन्नतिको काम हालसम्म करिब ६३ प्रतिशत भएको छ । नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ । तीनवटै खण्डको हिसाबले हालसम्म करिब ३४ प्रतिशत काम सकिएको छ। गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ ।

गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम आगामी पुससम्मका लागि थप गरिएको छ । दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम गर्ने तयारी छ ।

त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन । नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्यलाई अघि बढाएको छ । नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेका योजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।

सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये १० वटाको अहिले निर्माण कार्य भइरहेको र ५ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको उनले बताएका छन् ।

पिपलटारदेखि ढुंगेसम्म अदालतको स्टे अडरका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्न‘पर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन ।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुञ्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुञ्चे सडक सञ्चालन हुँदै आएको छ ।

२९ मंसिर २०७७, सोमबार ११:००



तपाईको प्रतिक्रिया