घर बनाउदा नागरिकले आफैलाई ठगे

२३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा नुवाकोटमा आयोजित कार्यक्रममा खोज तथा उद्धारको प्रयोगात्मक तालिम दिँदै रेडक्रसकर्मीहरू ।

विदुर । शुक्रवार नुवाकोटमा पनि २३ औँ भुकम्प सुरक्षा दिवस मनाईएको छ । यसपटकको २३ औँ भुकम्प सुरक्षा दिवसको नारा बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा रहेको छ । दिवसको अवसरमा विदुरमा आयोजित एक कार्यक्रममा सहभागिहरूले विपद्को महत्वपूर्ण हिस्सा भुकम्पबाट जनधन सुरक्षित राख्ने विषयमा आफ्नो बिचार राख्नुका साथै भुकम्पबाट हुने क्षती न्युनिकरणका लागि भए गरेका प्रयासहरूका बारेमा चर्चा गरेका छन् ।

नेपाल भुकम्पका दृष्टिबाट असाध्यै संवेदनशिल मानिदै आएको छ । विशेषगरी १९९० साल र २०७२ सालको विनाशकारी भुकम्पपछि नेपालमा यसको सचेतनाको विषयमा खुलेर छलफल, वहषर तयारीहरू हुन थालेका छन् । २०७२ सालको भुकम्पको घाउ अझै निको हुन सकेको छैन । २०७२ सालको विनाशकारी भुकम्प र त्यसपछिका पराकम्पनले नेपालका ३१ जिल्ला प्रभावित भएका थिए । त्यसमध्ये नुवाकोट सहितका १४ जिल्ला त नराम्ररी नै प्रभावित भएको थियो । भुकम्पले थला परेका धेरै जिल्लाहरू पुनर्निर्माण सम्पन्न गर्ने चरणमा पुगेका छन् । कतिपय गाउँ त पुनर्निर्माण सम्पन्न गरेर सामान्य जीवनमा फर्किसकेका छन् । तर पनि पुनर्निर्माणको सबालमा सन्तुष्ट रहने अवस्थाको भने सृजना भइसकेको छैन ।

शुक्रवार विदुरमा आयोजित २३ औँ भुकम्प सुरक्षा दिवसको कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले विनाशसंगै आएको जीवन रक्षा गर्ने अवसरलाई आम मानिसहरूले सदुपयोग गरिरहेको बताए । सरकारले समेत अनुदान उपलब्ध गराएको निजी घर बनाउने कार्यमा नागरिकहरू उत्साहित भएर सहकार्य गरिरहेको र भुकम्पपछि नुवाकोटमा बलिया घर निर्माण भइरहेको प्रमुख पण्डितको भनाई रहेको छ । भुकम्पपछि परम्परागत र आफ्नोपन प्रस्तुत हुने शैलीका घरहरूको संरक्षण चिन्ताको विषयमा रहेको र त्यसका लागि स्थानीय सरकारले समेत नागरिकलाई परम्परागत शैलीका घर बनाउका लागि उत्प्रेरित गरिरहेको उनले बताए । विदुर नगरपालिकाले सम्पदा गाउँ निर्माणमा नागरिकहरूलाई सरिक गराउन र मौलिक शैलीका घर निर्माण गर्नका लागि संघीय सरकारले दिने थप अनुदान बाहेकनै प्रति घर ४० हजार रुपैयाँ उपलब्ध गराइरहेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । ‘तर घर निर्माण गर्ने कार्यमा नागरिकहरूले आफैलाई ढाटिरहेका छन्, सरकारी अनुदानको रकम लिनका लागि मात्रै घर बनाएको पाइन्छ’जुन आफ्नैलागि हानिकारक छ’ प्रमुख पण्डितले भने ।

जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले भुकम्प गएको यत्तिका लामो समय बित्दापनि नागरिकहरूको निवास निर्माण सम्पन्न गर्न नसक्नु भने दुखद रहेको बताए । २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा आफ्नो मन्तब्य राख्दै उनले भुकम्प आफैले मानिसको ज्यान लिने नभई मानिसले बनाउने संरचनाकै कारण क्षती हुने उल्लेख गर्दै संरचना निर्माण गर्दा मापदण्ड पालना गर्दा मात्रै पनि सुरक्षित रहन सकिने बताए । त्यसका लागि नागरिकहरूमा सचेतनाको खाँचो रहेको उल्लेख गर्दै उनले गाउँगाउँ र विद्यालयहरूमा भुकम्पको बारेमा प्रशस्त बहश चलाउनु आवश्यक रहेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा गठन भएको जिल्लास्तरिय दिवस मनाउने मुल समारोह समितिले यो कोरोनाको कहरको बीचमा पनि दिवस मनाउने कार्यलाई निरन्तरता दिएको हो । स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मनाइएको भुकम्प सुरक्षा दिवसले यसबाट सुरक्षित रहनका लागि नागरिकहरूलाई उप्रेरित गरिरहने विश्वास सरोकारवाहरूले लिएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले धेरै प्रकोपबाट नागरिकहरू उच्च जोखिममा रहँदारहँदै पनि भुकम्पबाट पनि बढि क्षति ब्यहोर्दै आएको बताए । उनले भुकम्पको जोखिमलाई न्युनिकरण गर्ने र यसबाट बच्ने उपायाहरूको साथमा अन्य प्रकोपबाट पनि सुरक्षित रहनका लागि हामीले गर्नै पर्ने कार्यलाई साथसाथमा राख्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताएका छन् ।

२३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा भौतिक संरचना निर्माणको सवालमा नुवाकोटमा भएको प्रगती विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई नुवाकोटले प्रस्तुत गरेको थियो । नुवाकोटमा झण्डै ८५ प्रतिशत निजी निवास निर्माणको काम सम्पन्न भइसकेको सरकारी तथ्याङ्क छ । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले भुकम्पका बेला मानिसको सुरक्षाका लागि गरिरहेको र गर्नुपर्ने कार्यहरू, खोज तथा उद्धारको विषयमा प्रस्तुती राखेको थियो ।

२३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा नुवाकोटमा आयोजित कार्यक्रममा खोज तथा उद्धारको प्रयोगात्मक तालिम दिँदै रेडक्रसकर्मीहरू ।

५ माघ २०७७, सोमबार ०६:३८



तपाईको प्रतिक्रिया