विदुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
प्राधिकरणले मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरू अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने र आउँदा दिनमा नेपाललाई विपदबाट बचाउन नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
२ मंसिर २०७८, बिहीबार २०:५०