माओवादीको महाधिवेशन लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ । ‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न माग गर्नुभएकाे छ । १६ गतेसम्म सक्न काेशिस गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ’ मंगलबार स्थायी कमिटीको बैठकपछि नेता श्रेष्ठले भने ।

माओवादीको महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । माओवादी केन्द्रको आठौं महाधिवेश अन्तर्गत सोमबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनितिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

अध्यक्ष दाहालको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमाथि माथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ। ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन् । यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।

विभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणी खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, माया प्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णु पुकार श्रेष्ठ, अमृता थापामगरलाई विभिन्न समूहका संयोजकको रुपमा तोकिएको छ । यी छलफलहरुमा सुरुमा दाहालको प्रतिवेदन वाचन गरिनेछ । त्यसपछि प्रतिनिधिले आफ्ना धारणा राख्नेछन् । त्यसपछि निष्कर्ष निकालेर बुधबारको बन्दसत्रमा पेस गर्नेछन् ।

समूहअनुसार प्रतिनिधिलाई आफ्ना धारणा राख्न ३-५ मिनेट समय निर्धारण गरिएको छ । छलफलमा उठेका विषय एकीकृत गर्न प्रत्येक समूहले बुँदा टिपोट कमिटी बनाएको छ । यसका साथै पार्टीको स्थायी कमिटी पनि बसिरहेको छ । स्थायी कमिटीमा दाहालको प्रतिवेदन, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ ।

१३ पुष २०७८, मंगलवार १५:४३



तपाईको प्रतिक्रिया