जनगणनाको प्रारम्भिक नतिजा चाँडै आउने

तस्बिर : बिरोचन खनाल

विदुर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो । प्रश्नावली किताबको आवरणमा घर, परिवार, अक्सर बसोबास गर्ने महिला र पुरुष, विदेशमा रहेका महिला र पुरुषको संख्या समेटिएका छन् ।

विभागका उपमहानिर्देशक रेग्मीले प्रारम्भिक नतिजामा देशभरिको कुल जनसंख्या, हिमाल, पहाड, तराई, प्रदेश, जिल्ला र वडा तहसम्मको जनसंख्या सार्वजनिक गरिने जनाएका छन् । प्रश्नावली किताबको आवरणमा उल्लेखित विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशन गरिने भएकाले अन्तिम नतिजामा केही फरक पर्नसक्ने समेत उनले बताए ।

यसैगरी विभागले जनगणना लगत प्रशोधन कार्यका लागि जनशक्तिको माग गरेको छ । उसले २०७९ असार मसान्तका लागि सय जना ‘कोडर/एडिटर’ र तीन सय जना ‘डेटा एन्ट्री अपरेटर’ गरी दुई किसिमको जनशक्तिको माग गरेको हो । यसअघि सुपरिवेक्षकजस्तै न्यूनतम स्नातक हासिल गरेकाले ‘कोडर÷एडिटर’का लागि दरखास्त दिन पाउनेछन् ।

उनीहरूले जनगणनामा लिएको लगत फारामलाई संकेत नम्बर दिई प्रशोधन कार्य हुनेछ । त्यस्तै कम्प्युटर विषयमा प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण तथा तालिम प्राप्तले ‘डेटा एन्ट्री अपरेटर’मा आवेदन दिन पाउने विभागले जनाएको छ ।

देशभरिबाट संकलित जनगणना फाराम कुपण्डोलस्थित गोदाममा राखिएका छन् । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीनतले भवनलाई ‘डेटा सेन्टर’का रूपमा व्यवस्थापन गरिएको उपमहानिर्देशक हेमराज रेग्मीले जनाएका छन् ।

२५ पुष २०७८, आईतवार १८:०४



तपाईको प्रतिक्रिया