विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटका १९ वटा क्रस उद्योगहरुमा ताला लगाएको छ । सोमवार र मंगलवार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अनुगमन गरी सबै उद्योगहरु बन्द गराएका छन् ।
सोमवार जिल्लाका चार वटा र मंगलवार १५ वटा क्रसर उद्योगमा ताला लगाई आवश्यक कारबाही अगाडी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् । कानूनविपरीत सञ्चालनमा रहेका क्रसरहरुमा बेलकोटगढी नगरपालिकाको १५ वटा, लिखु गाउँपालिकाको दुई, पञ्चकन्या र तादी गाउँपालिकाका एक/एक वटा छ ।
स्थलगत रुपमा निरीक्षण गरी मापदण्ड विपरित सञ्चालन भएको नपाइएपछि प्रचलित कानून बमोजिम मुचुल्का गरी तत्काल बन्द गराएको अर्यालले बताए । मंगलवार बन्द गराइएको बेलकोटगढी नगरपालिकाका क्रसर तथा बालुवा प्रशोधन उद्योग र खानीहरुमा वडा नंं ५ को सिद्धिविनायक वालुवा प्रशोधन उद्योग, पञ्चकन्या वालुवा प्रशोधन उद्योग, क्वालिटी वालुवा प्रशोधन उद्योग, त्रिशुली स्याण्ड वासिङ वालुवा प्रशोधन उद्योग, रिव्सु वालुवा प्रशोधन उद्योग, हाम्रो वालुवा प्रशोधन उद्योग, ओम क्यौरेनी स्याण्ड वास उद्योग, चतुर्भुज वालुवा प्रशोधन उद्योग छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. ७ को विशाल रोडा ढुंगा उद्योग प्रालि, हिमाल एग्रिगेट प्रालि, श्री एग्रिगेट प्रालि र कल्चेडी स्याण्ड वासिङ उद्योग छन् । वडा नं. ८ को त्रिशुली एग्रिगेट एण्ड स्याण्ड प्रालि सिल भएको छ । वडा नं. १० को निरन्जना रोडा ढुंगा उद्योग पनि बन्द गराएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १२ मा राजेश फुँयालले दर्ता समेत नगरी सञ्चालन गर्दै आएको एउटा उद्योगमा पनि ताला लागेको छ ।
सहायक प्रजिअ अर्यालले सोमवार लिखु गाउँपालिका–१ स्थित सुर्यकुण्ड रोडा ढुंगा उद्योग प्रालि, लिखु–४ स्थित क्षेत्रपाल क्रसर प्रालि, तादी गाउँपालिका–३ स्थित दुप्चेश्वर क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका–२ नेसनल लाईन एण्ड स्टोन प्रालिमा ताला लगाएको थियो । लिखु–४ को मृत सञ्जिवनी क्रसर र पञ्चकन्या गाउँपालिका–२ मा रहेको नाट्यश्वरी रोडा ढुंगा उद्योग प्रालिलाई सचेत गराएको छ । अनुगमन टोलीले ताला लगाएका क्रसरहरुलाई सात दिनभित्र आधिकारिक पत्रसहित विवरण खुलाई पेश गर्न निर्देशनसमेत दिएको छ ।
२७ पुष २०७९, बुधबार ०८:४४