खरानीटार । बिहिवार तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट दुई जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार ५५ र १९ बर्षिया दुई जना महिला निको भएर घर गएका छन् । पछिल्लो पटकको पिसिआर परिक्षणमा उनीहरुको रिजल्ट नेगेटिभ आएपछि घर पठाइएको हो । उनीहरु अब १४ दिन होम क्वारान्टाइन बस्नेछन् ।
यसै बीच, बुधवार पनि नुवाकोटका १ पुरुष कोरोनामुक्त भइ घर फर्किएका थिए । कोरोना पोजेटिभ भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत पुरुष कोरोना निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसले मृत्यु भएकामध्ये २० प्रतिशतले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपरेको विज्ञहरूले बताएका छन् । कतिपयको त मृत्यु भएपछि मात्र नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार १४ गते कोरोना संक्रमणका कारण ज्यान गुमाएका अछाममा ४५ वर्षीय पुरुषको मृत्युको अर्को दिन मात्रै स्वाब संकलन गरिएको थियो ।
हालसम्म मृत्यु भएका ३० जनामध्ये २१ जनाको मृत्युपछि पीसीआर परीक्षण गर्दा नजिता पोजिटिभ आएको थियो । यो तथ्यांकले कोरोनाले मृत्यु भएका ७० प्रतिशत व्यक्तिले संक्रमणको अवस्था थाहा नपाई मृत्युवरण गरेका छन् ।
हाल देशभर २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने सरकारी तयारी छ । दिनहुँ कम्तीमा १० हजार पीसीआर परीक्षण गर्ने योजना रहेको छ । तर विज्ञहरूले मृत्युपछि स्वाब संकलन हुने र संक्रमित भएको थाहा लाग्ने अवस्था रहनुले नियन्त्रणको प्रयास प्रभावित हुने बताएका छन् ।
१९ असार २०७७, शुक्रबार १२:५२