अस्पतालले घर पठाएका व्यक्तिमा संक्रमण

विदुर । नुवाकोटमा आइतवार २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाँउपालिकाका २७ बर्षिय पुरुष र किस्पाङ गाँउपालिकाका २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नुवाकोटमा संक्रमितको संख्या २६ पुगेको छ । यस अघिसम्म संक्रमितहरु भारत र अन्य मुलुकबाट आएर क्वारेनटाईनमा बसिरहेकाहरुमा मात्रै देखिएकोमा आज देखिएको संक्रमित भने समुदायमा भेटिएका छन् । किस्पाङ गाउँपालिकाका युवक यही गाउँमै बसोवास गर्दै आएका व्यक्ति हुन् । उनलाई अन्य स्थानबाट आएका कोरोना संक्रमितहरुबाट सरेको अनुमान गरिएको छ ।

यो संक्रमणसंगै अब नुवाकोटमा समुदाय स्तरमा कोभिड १९ को संक्रमण फेला परेको छ । यस अघि देखि नुवाकोट असुरक्षित बन्दै आएको समीक्षा र चर्चा हुँदै आएको थियो । तेश्रो चरणमा नेपाल कोरोना भाइरसको संक्रमण फैलिसकेकोका कारण नुवाकोट बढि नै जोखिममा रहेको बताइदै आएको थियो । किस्पाङ गाउँपालिकाका उनी केही दिन अघि स्वास्थ्य परीक्षणका लागि काठमाडौंको एक अस्पतालमा गएका थिए । अन्य रोगको उपचारका क्रममा त्यहाँ पुगेका उनको पिसिआर परिक्षणका लागि नमूना संकलन गरिएको भएपनि नतिजा नआई अस्पतालले घर पठाएको थियो । गाउँमा केही व्यवसाय सञ्चालन गर्दै आएका उनीहरु फर्केपछि फेरि आफ्नो पसल व्यवसायमा लागिरहेका थिए आइतवार उनको कोरोना परिक्षणको नतिजामा पोजेटिभ देखिएपछि सनसनी मच्चिएको छ । उनलाई अहिले त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ । पसल व्यवसायमा रहेका उनका कारण अन्यलाई पनि कोरोना भइरसको संक्रमण फैलियोकी भनेर स्वास्थ्य कार्यालय नुवाकोटले क्न्ट्रयाक्स ट्रेसिङको तयारी थालिसकेको छ ।

अहिले त्रिशुली अस्पतालको आईसोलेसनमा ८ जना र खरानीटार अस्पतालको आईसोलेसनमा १ जना रहेका छन् । नयाँ संक्रमित देखिएका दुई जना सहित नुवाकोटमा अब ११ जना आइसोलेसनमा उपचाररत हुनेछन् । कोरोना भाईरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या नुवाकोटमा १५ जना रहेको छ । त्रिशुली अस्पताल र खरानीटार अस्पतालको आईसोलेसनमा उपचाररत रहेकाहरुको स्वास्थ्य अबस्था सामान्य रहेको त्रिशुली अस्पतालले जनाएको छ ।

२२ असार २०७७, सोमबार १२:०८



तपाईको प्रतिक्रिया