विदुर । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर उपकरण खरीदको लागि कुनै टेण्डर नगरेको बताएका छन् ।
मन्त्री दुवालले नुवाकोटको लागि भनेर पीसीआर परीक्षणको लागि आवश्यक उपकरण खरीको लागि हालसम्म कुनै टेण्डर नभएको स्पष्ट पारेका हुन् । उनले प्रदेशले उपकरण खरीद गरेपछि भक्तपुर, धुलिखेल, सिन्धुली, त्रिशुली अस्पतालमा पनि स्थापना गर्ने योजना रहेको जानकारी दिदै तत्काल नै त्रिशुली अस्पतालमा पीसीआर ल्याब स्थापना गर्ने भन्ने नभएको बताए । यो वर्ष केही पीसीआर परीक्षणको मेसिन खरीद गर्ने योजना रहेको र जनस्वास्थ्य प्रयोगशालाको लागि पनि उपकरण थप गर्ने योजना रहेको उनको भनाई छ ।
जनस्वस्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायणबहादुर कार्कीले प्रदेश प्रयोगशालाको लागि आवश्यक पीसीआर ल्याब मेसिन खरीद गर्नको लागि वैशाखमा टेण्डर गरिएको जानकारी दिए । प्रदेश प्रयोगशालाको लागि खरीद गर्नको लागि टेण्डर गरिएको र कुनै जिल्लामा पठाउनको लागि नभएको उनको भनाई छ ।
त्रिशूली अस्पतालको लागि पीसीआर ल्याब स्थापनाको लागि आवश्यक उपकरण खरीदको लागि संघीय सांसद नारायणप्रसाद खतिवडाले आवश्यक रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट विनियोजन गर्ने बताएपछि अर्का सांसदले प्रदेशबाटै मेसिन किन्न लागेको प्रचार गरेका छन् । साउन २२ गते जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रतिवद्धता जनाएपछि प्रदेश सभा सदस्य केशव पाण्डेले सामाजिक सञ्जालमार्फत ‘गफै त हो नि सम्धी’ भनेर कटाक्ष गरेका थिए । उनले प्रदेश सरकारले नै मेसिन खरिद गर्न लागेकोले त्यसैलाई सांसद खतिवडाले ल्याउन लागेको भनेर प्रचार गरिएको उल्लेख गरेका छन् ।

प्रदेश सरकराले मेसिन खरिदका लागि कुनै प्रक्रिया अगाडी नबढाएको सार्वजनिक भएपछि प्रदेश सांसद पाण्डेले भनेजस्तो देखिएको छैन । उनले प्रदेश सरकारले गर्न लागेको कामको जस संघीय सांसद खतिवडाले लिन लागेको भन्दै सामाजिक सञ्जालमा उडाएका हुन् ।
यता, संघीय सांसद नारायणप्रसाद खतिवडा मार्फत सिफारिस हुने कार्यक्रमबाट बजेट आउने प्रतिबद्धतापछि विदुर नगरपालिकाले पीसीआर मेसिन खरीदको लागि टेण्डर प्रक्रिया अघि बढाएको छ । केही दिनमा मेसिन खरीदको लागि टेण्डर आव्हान गर्ने तयारी भईरहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए ।
सामाजिक बिकास मन्त्रि दुलालसँग विदुर नगरपालिकाका प्रमुख पण्डितले समेत टेलिफोन संवाद गरेका छन् । त्यस क्रममा मेसिन खरिद भएमा सञ्चालन र कर्मचारी ब्यबस्थापनमा मात्रै बागमती प्रदेशले सहयोग गर्ने आश्वासन मन्त्रि दुलालले दिएको मेयर पण्डितले बताए ।
रसुवाबाट ४६ लाख आउने
त्रिशुली अस्पताललाई पीसीआर उपकरण खरिद भएको अवस्थामा ल्याब सञ्चालनको लागी रसुवाबाट समेत ४६ लाख रुपैयाँ रुपैयाँ आउने भएको छ । यस अघिनै रसुवाका निर्बाचित संघिय सांसद मोहन आचार्यले जिल्ला समन्वय समिति मार्फत स्थानिय पुर्बाधार बिकास कार्यक्रम अन्तर्गतको बचत भएको ४६ लाख रुपैयाँ नुवाकोटलाई उपलब्ध गराउने घोषणा गरेका थिए । रसुवाबाट रकम नुवाकोट पठाउनका लागि जिल्ला समन्वय समिति रसुवा मार्फत प्रकृया अगाडी बढेको बताईएको छ ।
२६ श्रावण २०७७, सोमबार १४:५६