विदुर । कोभिड–१९ (नोबेल कोरोना भइरस) बाट संक्रमित भएका पहिचान खुलेका नुवाकोटका सबै व्यक्तिहरु संक्रमण मुक्त भएका छन् । आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा जानकारी गराएका जनप्रतिनिधि तथ राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु कोरोना संक्रमण मुक्त भएका हुन् ।
बागमती प्रदेशका उप सभामुख राधिका तामाङ र उनको नौं वर्षिया छोरा, नेकपा किस्पाङका अध्यक्ष बिरबल तामाङ, दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का अध्यक्ष किशोर आचार्य कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमण भएको १४ दिनपछि बागमती प्रदेशका उप सभामुख राधिका तामाङ र उनको नौं वर्षिया छोरा एकसाथ पूर्ण रुपमा निको भएका हुन् । भदौ १ गतेदेखि उनीहरु हेटौडा स्थित उप सभामुख निवासको ‘होम आइसोलेसन’मा बसिरहेका थिए । अब कोभिड–१९ को नतिजा ‘नगेटिभ’ आएसंगै दैनिक कामकाज अन्य व्यक्तिहरुसंगको सम्पर्कमा रहेर गर्ने कामहरुलाई निरन्तरता दिएका छन् ।
कोरोना संक्रमित हुनु अघिदेखि अहिलेसम्म उनमा र उनको छोरामा कोरोनाको कुनै लक्षण र स्वास्थ्यमा अप्ठ्यारो देखिएको छैन ।
यस्तै नुवाकोटको किस्पाङ गाउँपालिकाका नेकपा अध्यक्ष बिरबल तामाङ पनि कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । काठमाडौंको टोखा नगरपालिकामा बसोवास गरिहरेको बेलामा उनी संक्रमित भएका थिए । त्यसपछि उतै ‘होम आइसोलेसन’मा बसेका तामाङ १७ औं दिनका कोरोना मुक्त भएका हुन् ।
यस्तै, दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का अध्यक्ष किशोर आचार्य पनि कोरोना मुक्त भएर घर फर्किएका छन् । खरानीटार अस्पतालको आइसोलेसनमा रहेर उपचार गरेका आचार्यको तेश्रो पटकको पिसिआर परिक्षणमा कोरोना मुक्त भएको हो । कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा बसेका उनको दोहो-याएर पिसिआर परिक्षण गर्दा पनि संक्रमण देखिएको थियो । तेश्रो पटकको परिक्षणमा उनी कोरोना मुक्त भएपछि घर गएका हुन् । उनले आफु घरमा पुगेरपनि क्वारेन्टाइनमा बसिरहेको सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् ।
१५ भाद्र २०७७, सोमबार ११:५२