कान्तिबाल अस्पतालको बिशेषज्ञ सेवा त्रिशूली अस्पतालबाट

नुवाकोट । त्रिशूली अस्पतालले कान्तिबाल अस्पतालको बिशेषज्ञ सेवा दिने थालेको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो ।

त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा. कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रत्येक मंगलबार अब कान्ति बाल अस्पतालको बिशेषज्ञ बाल सेवा त्रिशुली अस्पतालबाट उपलब्ध हुने छ । सार्बजानिक बिदा बाहेकका सबै मंगलबार आगामी असार मसान्तसम्म सेवा सञ्चालनको लागी सम्झौता भएको त्रिशुली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग सम्झौता गरेको हो ।

गामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न सङ्घीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै निति तथा कार्यक्रम र बजेट सुनिश्चित गरिएको कान्ति बाल अस्पतालले पहिलो पटक त्रिशुली अस्पताल मार्फत स्याटेलाईट क्लिनिक सेवा सुरु गरेको कान्ति बाल अस्पतालका निर्देशक डक्टर कृष्णप्रसाद पौड्यालले बताए ।

स्याटेलाइट क्लिनिक सेवा मार्फत बालरोग सम्बन्धि सर्जरी चिकित्सक सहितको चिकित्सक रहने त्यसमा मेडिकल र सर्जिकल विशेषज्ञ सेवा समेत उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्रिशुली अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा बाल रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागेको उनको भनाई छ ।

त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालमा हुने सबै सेवा क्रमस प्रभाब गर्दै आउने बताईएको छ । नुवाकोट, रसुवा र धादिङका केहि नागरिकहरुलाई बाल रोग बिशेषज्ञ सेवा लिन अब काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।

२८ कार्तिक २०७७, शुक्रबार ११:१२



तपाईको प्रतिक्रिया