मानसिक अस्पतालको सेवा त्रिशूलीबाटै

त्रिशूली । त्रिशूली अस्पतालमा मानसिक अस्पताल लगनखेलको बिशेषज्ञ सेवा उपलब्ध हुने थालेको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता भएको छ ।

संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा मानसिक अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक महिनाको दोश्रो सोमबार मानसिक अस्पताल लगनखेलको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. दिपेन्द्र पाण्डे र मानसिक अस्पताल लगनखेलका निर्देशक डा. मोहनराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । नियमित रुपमा प्रत्येक महिनाको दोश्रो सोमबार मानसिक अस्पताल लगनखेलको विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिशुली अस्पतालमै मानसिक अस्पतालको सेवा उपलब्ध हुने भए पछि नुवाकोट, रसुवा र धादिङका नागरिकहरूमा सहज भएको छ । मानसिक सेवा लिनको लागी काठमाडौं पुग्नु पर्ने बाध्यता अब हटेको छ ।

यस्तै, लगनखेलमा चेकअपमा रहेका मानसिक बिरामीहरूको फलोअप र चेकजाँच नुवाकोटमै गर्न सकिने त्रिशूली अस्पताल नुवाकोटले जनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै नीति तथा कार्यक्रम र बजेट सुनिश्चित गरिएको त्रिशूली अस्पताल मार्फत स्याटेलाईट क्लिनिक सेवा थप गर्दै लगेको त्रिशूली अस्पताल नुवाकोटका अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए ।

अहिले प्रत्येक मंगलबार कान्ति बाल अस्पतालको बिशेषज्ञ सेवा त्रिशुली अस्पतालबाट प्रबाह भैरहेको छ । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग पनि सम्झौता गरेको थियो ।

गामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न संघीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो ।

त्रिशूली अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा मानसिक रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।

‘स्वास्थ्य क्षेत्रमा प्रगती भएको छ’


रानीपौवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको बताए ।

गएको सोमबार नुवाकोटको ककनी गाउँपालिकामा ककनी अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै सांसद तामाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले अब सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने गरी अस्पतालको निर्माण गरेको बताए ।

उनले कांग्रेसले वर्षौदेखि राज गर्दा १५ बेडमा रेहको त्रिशूली अस्पताल अहिले १०० बेडको बनाउने निर्णय गरेर उल्ल्ेख गरे । वर्तमान सरकार जनताको अधिकार प्राप्तिमा क्रियाशिल रहेको भन्दै विगतको भन्दा जनतामा सुख र खुशी बढेको उनको भनाई छ ।

वाग्मती प्रदेशका सांसद बद्री मैनालीले कम्युनिष्टहरूले गाउँगाउँमा विकासको लहर सिर्जना गरेको बताए । सोही कार्यक्रममा उनले अब कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहनु नपर्ने भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले कसैलाई भोकै बस्न नदिने कसैलाई पनि उपचारबिहीन हुन नदिने बताए ।

मैनालीले विगतमा कांग्रेसले अहेवलाई समेत काजमा तानेर नेताको चाकरीमा लगाउने गरेको भन्दै अहिले नेकपाले गाउँगाउँमा स्वास्थ्यकर्मी पठाएको बताए । सांसद मैनालीले मन्त्री ढकाललाई धन्यवाद दिँदै छात्रवृतिमा चिकित्सक पढेकाहरू समेत सबैलाई उपत्यकाबाहिर काममा पठाएकोमा खुशी प्रकट गरे ।

२२ मंसिर २०७७, सोमबार १२:०७



तपाईको प्रतिक्रिया