विदुर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ ।
सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागेको हो । अस्पताल नभएका ६४९ मध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण सुरु भएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास भएको हो ।
शिलान्यास भएका अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । शिलान्यास भएका अस्पतालहरू ५, १० र १५ बेडको छ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच वेडको ५२, १० शैयाको एक सय नौ र १५ वेडको ३५ अस्पतालको शिलान्यास भएको हो ।
अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ । अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरेको छ । अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको श्रोतसमेत सुनिश्चित गरिसकेको छ ।
पहिलो चरणमा वाग्मती प्रदेशमा ५१ वटा अस्पताल निर्माणको लागी एकै पटक शिलान्यास भएको हो । सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गरेका छन् । यसै कार्यक्रम अन्तर्गत नुवाकोटको ककनी, तारकेश्वर, पञ्चकन्या, शिबपुरी र म्यागङ गाँउपालिकामा अस्पतालको निर्माण तथा स्तरउन्नतीको लागी शिलान्यास भएको हो ।
पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा १० वेडको अस्पताल भवन शिलान्यास गरिएको छ । नेपाल सरकारले देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटन भएइसँगै नुवाकोट जिल्लामा पनि ६५ वेड सहित पाँच गाउँपालिकामा अस्पतालको शिलान्यास भएको हो ।
भद्रुटारमा निर्माण हुने स्वास्थ्य भवनको नुवाकोट निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद हितबहादुर तामाङले शिलान्यास गरे । उद्घाटन समारोहमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्य रहेको थियो । ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र, र स्थानिय तहले तोकेको स्वास्थ्य चौकी १० बेडमा स्तरउन्नती हुने भएको छ । तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्यचौकी १० वेडको, शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्य चौकी १० वेडमा निर्माण सुरु भएको ।
म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ वेडको अस्पताल स्थापना हुदैंछ । मन्त्रालयले तोकिएकै समयमा सबै स्थानियतहलाई अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ । १० वेडको अस्पतालमा दुई मेडिकल अधिकृतसहित १७ स्वास्थ्यकर्मी र १५ वेडको अस्पतालमा तीन जना मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरू एउटै ‘डिजाइन’का हुनेछन् । अस्पतालहरू दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । मन्त्रालयले ५ वेडको अस्पतालको लागी ७ करोड ११ लाख ९८ हजार, १० वेडको लागी १० करोड ८३ लाख ३६ हजार र १५ वेडको लागी १८ करोड ६८ लाख २ हजार रुपैयाँ समान बजेट बिनियोजन गरेको छ ।
यस्तै, रसुवाको ३ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । रसुवाको नौकुण्ड, आमाछोदिङ्मो र कालिका गाँउपालिकामा अस्पतालको शिलान्यास भएको हो । नौकुण्ड गाँउपालिकामा पाच्र्याङ स्वास्थ्यचौकी ५ वेड, आमाछोदिङमो गाँउपालिकामा गोल्जुङ स्वास्थ्यचौकी ५ वेड र कालिका गाँउपालिकामा जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्र १५ वेडमा निर्माण हुन लागेको हो । नीति अनुसार सबै अस्पतालहरू २ बर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
२२ मंसिर २०७७, सोमबार १२:१५