कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला

विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार बिदुर नगरपालिका वडा नम्बर १३ को कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै गेर्खु स्वास्थ्य चौकी, चारघरे स्वास्थ्य चौकी, र वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीबाट पनि उक्त प्रयोगशाला सञ्चालनमा ल्याउने बिदुर नगरापालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए । यस अघि खड्गभञ्याङमा प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।

कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला उद्घाटन समारोहलाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गाउँमा नै सर्बसूलभ रुपमा स्वास्थ्य सेवा पुराउने उद्देश्यले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।

नागरिकको बास्तविक समस्या समाधानको लागि राज्यले खर्च गर्नपर्छ भन्ने मान्यताको साथ नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा प्रयासरत रहेको पण्डितले बताए । नागरिकलाई विस्वासको वातावरण बनाउनको लागि स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै आइरहेको उनको भनाई छ ।

घरदैलोमा रहेको स्वास्थ्य चौकीमा उपलव्ध सेवा लिन छाडेर नागरिकहरु सदरमुकाम तथा राजधानीको ठूला अस्पतालहरुमा धाउने परम्पराको अन्त्यको लागि वडावडामा सञ्चालित स्वास्थ्य प्रयोगशालाले सहयोग पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ ।

स्वास्थ्य प्रयोगशाला सञ्चालनको लागि आवश्यक कर्मचारी र सामाग्री सम्वन्धित स्वास्थ्य चौकीमा पु¥याइसकिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताए । उनका अनुसार एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि कर्मचारी बाहेक ९ लाख रुपैयाँ खर्च भएको छ ।

त्रिशुली अस्पतालबाट उपलव्ध हुने अधिकांश सेवाहरु उक्त प्रयोगशालाबाट पाइने र नेपाल सरकारले निःशुल्क गरेको सेवा बाहेकका औषधोपचार गर्न परेमा २५ प्रतिशत सम्मको छुट रहने भण्डारीले बताए ।

३० मंसिर २०७७, मंगलवार १०:०७



तपाईको प्रतिक्रिया