त्रिशुली । त्रिशुली अस्पतालले कोरोना भाइरस संक्रमित एक महिलालाई प्रसूती सेवा प्रदान गरेको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ६ का २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएका छन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूती तथा स्त्रीरोग विशेषज्ञ सहितको टोलिले उनलाई प्रसुती सेवा उपलब्ध गराएको हो ।
ती संक्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि संक्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंमा पठाइने गरिएको थियो ।
कोरोना संक्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा संक्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो । अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उन संक्रमित महिलालाई सुत्केरी गराएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९ को संक्रमण सुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको संख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल २०० नाघ्न थालेको छ ।
काठमाडौंमा गर्भवती जाँच गराउँदै आएकाहरु जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको बताईएको छ । कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएको छ । कोरोनाा संक्रमणको भयाबह जिल्लामा पनि फैलिएसँगै त्रिशुली अस्पताल नुवाकोटले गर्भवती महिलाहरुको लागी छुट्टै कक्ष निर्माण गरि सेवा प्रबाह गर्दै आएको छ । चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको संख्या बढ्दो छ ।
३० मंसिर २०७७, मंगलवार १०:१६