त्रिशुली । त्रिशुली अस्पतालमा सघन कक्ष (आईसीयू) को औपचारिक सुरुवात भएको छ । आईसीयू कक्षको वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले मंगलबार उद्घाटन गरे । केही हप्तादेखि अस्पातलले सुरु गरेको सेवाको मंगलवार औपचारिक रुपमा सुरुवात गरिएको हो ।
अब त्रिशुली अस्पतालमै अप्रेसन हुन थालेको छ । सामान्य अप्रेसका लागि समेत काठमाडौं जानु पर्ने नुवाकोट, रसुवा र धादिङ्गका नागरिकले अब त्रिशुली अस्पतालमै जटिल अप्रेसनको सेवा समेत पाउने छन् ।
मंगलबार नै उपसभामुख तामाङले त्रिशुली अस्पताल कर्मचारी आवास गृह समेत शिलान्यास गरेका छन् । २ करोड ४१ लाख रुपैयाँको लागतमा आउने जेठ महिना भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल कर्मचारी आबास गृहको शिलान्यास भएको हो । त्रिशुली अस्पातलको परिषरमै आवास गृह निर्माण थालिएको छ । अस्तालका कर्मचारीहरूले आवास गृहको अभावका कारण सेवा प्रभावकारी नभएको गुनासो गर्दै आएका थिए ।
कार्यक्रममा उपसभामुख तामाङले अस्पताललाई यो स्तरसम्म ल्याउन नेपाल सरकारका सबै निकायकै उत्तिकै भूमिका रहेको उल्लेख गरे । प्रदेश सरकारले त्रिशुली अस्पताललाई १ सय बेडको बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको उनले त्यस अवसरमा जानकारी दिए । अस्पतालमा दक्ष जनशक्तिलाई टिकाइराख्ने र नयाँ ल्याउने विषयमा पनि सोच्नु पर्ने भन्दै जनप्रतिनिधिको तर्फबाट गम्भीर हुनुपर्नेमा आफू सचेत रहेको उनको भनाई छ ।
वाग्मती प्रदेश सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले वाग्मती प्रदेश सभाले पारित गरेको नीति र कार्यक्रममा त्रिशुली अस्पताल परेको बताएका छन् । आउँदो आर्थिक बर्षदेखि त्रिशुली अस्पतालमा दक्ष र आवश्यक स्वास्थकर्मीको अभाव नहुने खतिवडाको भनाई रहेको छ ।
वाग्मती प्रदेश सांसद आशामाया तामाङले शुभकामना दिदै ईतिहास बोकेको अस्पताललाई बाहिरबाट जसरी चिटिक्क देखिन्छ त्यत्तिनै भित्र चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङले त्रिशुली अस्पताले अहिले पाएको गुण्स्तरलाई बृद्धि गर्दै लानुपर्ने बेला आएको र नुवाकोटका १२ बटै स्थानीयलाई समन्वय गर्ने तयार रहेको बताए ।
विदुर र नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशुली अस्पतालमा सहुलियत दरमा उपलब्ध सेवा निजी अस्पतालमा नभएको बताए । तर त्रिशुली अस्पतालमै काम गर्ने डाक्टरहरू निजी अस्पाताल र क्लिनिकमा काम गर्न जाने चलन भने नहटेकोमा उनले गुनासो गरे ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिगतमा बिरामीलाई ‘रेफर’ मात्र गर्छ भन्ने अस्पताल अब अन्य अस्पतालबाट त्रिशुली अस्पताल रेफर गर्ने अवस्था आउने बताएका छन् । त्रिशुली अस्पताल व्यवस्थापन समिति अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बर्तमान अवस्थामा पुरानै स्वास्थ्य नीतिले सरकारी अस्पताल चलाउन नसकिने अवस्था रहेकोले त्यस तर्फ ध्यान आवश्यक रहेको बताएका छन् ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन प्रमुख पुरुषोत्तम सेढाईं, मन्त्रालय अन्तर्गतका आपूर्ती विभाग प्रमुख बशन्त अधिकारीको उपस्थिति थियो ।
१३ पुष २०७७, सोमबार ०७:३७