९४५ जना निको भए

विदुर । नुवाकोटका ९४५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार ३९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९४५ पुगेको हो ।

नुवाकोटमा झण्डै साढे ८ हजार जनाको पीसीआरपरिक्षण गरिएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २३ जनाको पीसीआरपरिक्षण गरिएसँगै जिल्लाका ८ हजार ६५२ जनाको पीसीआर परिक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार परिक्षण गरिएकामध्ये ६ हजार २८४ जना पुरुष र २ हजार ३४५ महिला छन् । परिक्षण गरिएकामध्ये एकहजार ३४ जनाको पीसीआर पोजेटिभ देखिएको छ भने ७ हजार ५९५ जनाको पीसीआर रिर्पाट नेगेटिभ देखिएको छ । नुवाकोटका भेटिएका संक्रमित मध्ये ७०३ पुरुष र ३३१ जना महिला छन् ।

यसै बीच, कोभिडका कारण बन्द भएका सबै क्षेत्रहरू खुल्ने भएको छ । कोरोना रोकथाम तथा न्युनिकरण उच्चस्तरिय समितिको बैठकले सबै क्षेत्रहरू खुल्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमा अधिकार प्रत्यायोजन गर्दै हाललाई सबै क्षेत्र खोल्ने निर्णय गरेको हो ।

कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)को बैठकले आवश्यक परे विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो ।

यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भए बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय समेत भएको छ ।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायत विभिन्न २०-२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यो निर्णय भएसँगै कोरोनाका कारण बन्द भएका सबै क्षेत्रहरू खुलेका छन् ।

१ माघ २०७७, बिहीबार १२:५४



तपाईको प्रतिक्रिया