विदुरकै आठ जनाको मृत्यु

विदुर । विदुर नगरपालिकाका मात्रै आठ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । बुधबार सम्मको तथ्याङ्क अनुसार विदुर नगरपालिकाले हाल सम्म कोभिडका कारण ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३२ देखि ८८ वर्षको महिला र ५० वर्षदेखि ८८ वर्षसम्मका पुरुषको मृत्यु छन् । कोभिडका कारण महिलाहरुमा संक्रमण कम हुने र मृत्यु दर पनि महिलामा कम हुने प्रारम्भिक तथ्याङ्कहरु आउने गरेपनि विदुर नगरपालिकामा महिला मृत्यु संख्या महिलाको बढी छ । मृत्यु हुनेमा पाँच जना महिला र तीन जना पुरुष छन् ।

विदुर नगरपालिकामा हालसम्म १७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस १५ सय ८ जना निको भइसकेका छन् भने कतिपयको अस्पताल, नगरपालिकाको आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । नगरपालिका क्षेत्रभित्र रोकथाम तथा उपचारमा खटिएका ८ जना स्वास्थ्यकर्मी तथा एक जना सहयोगीमा समेत कोरोना संक्रमण भएको छ । सो मध्ये दुई जना अझै आइसोलेसनमा छन् ।

विदुर नगरपालिमा हालसम्म (दोश्रो भेरियण्ट) एक हजार ६४७ जनाको पिसिआर परीक्षण गरिएको छ भने ९७ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १५ जनामा पोजेटिभ देखिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वस्थ्य निरिक्षक एवं कोभिड १९ फोकल पर्सन रामराजा भण्डारी जानकारी दिए ।

विदुर नगरपालिकामा सबै भन्दा धेरै वडा नं. ९ मा कोरोना पोजेटिभ भएको रिपोर्टमा उल्लेख गरिएको छ । वडा नं. ९ मा हालसम्म १३० जनामा पोजेटिभ देखिएको छ भने वडा नं. १ मा सबै भन्दा कम ३० जनामात्रै पोजेटिभ देखिएको छ । नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा ७ जनाको उपचार भइरहेको छ ।

नगरपालिकाले वडास्तरमै पुगेर शंकास्पद व्यक्तिहरुको स्वाव संकलन, नगर क्षेत्र भित्र रहेका नुवाकोट, चारघरे, खड्गभन्ज्याङ, गेर्खु र कल्याणपुर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण, संक्रमितहरुको नियमित अनुगमन, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गर्दै आइरहेको फोकलपर्सन भण्डारीले बताए ।

होम आइसोलेसनमा रहेका संक्रमितमा खतराको लक्षण देखिएमा निःशुल्क एम्वुलेन्स सेवासमेत सञ्चालन गरिरहेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र तीन ठाउँमा आइसोलेसन सेन्टर सञ्चालन गरिरहेको छ । नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ वेड, नुवाकोट तेक्वान्दो कभर्ड हलमा ३२ वेड र वीरेन्द्र मावि चारघरेमा २० वेडका आइसोलेसन सञ्चालन भइरहेको छ । यी आइसोलेसनमा स्वास्थ्यकर्मी, अक्सिजनको सुविधा छ ।

५ असार २०७८, शनिबार १७:४४



तपाईको प्रतिक्रिया